आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कानुन कार्यान्वयन नै महिला हिंसा रोक्ने बलियो हतियार

सोमबार, २६ मङ्सिर २०७९, १७ : २५
सोमबार, २६ मङ्सिर २०७९

महिला  हिंसा  १६ दिने अभियानले महिला हिंसामा खासै कमी ल्याएको देखिएन । वर्षौदेखि जरो गाडेर बसेको पुरुषप्रधान समाजमा महिलाहरु दबिएर रहँदा ‘शोभायमान’ नै मानिएको छ । शारीरिक मानसिक पीडाले  छट्पटाएर  मृत्युवरण गर्दा पनि सहजै पचाउने हाम्रो समाजमा महिला हिंसा १६ दिने अभियानकै क्रममा पनि ठाउँ ठाउँमा महिला हिंसा भइरहे  ।

यसै क्रममा सुर्खेतमा भूपेन्द्र आले मगरले शंकाकै भरमा आफ्नी श्रीमती मीना आलेको टाउको छिनाएर झोलामा राखेर बहादुरी देखाउँदै प्रहरी चौकीमा पुगे । यता काठमाडौं बुद्धनगरकी पुष्पा न्यौपानेले इंगेजमेन्टसमेत भई विवाह हुने संघारमा विनाकारण सम्बन्ध तोडिएपछि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्न वाध्य भइन् ।

२०७९ भदौ १८ मा पुष्पा र काठमाडौं धुमवाराहीका सुधन संग्रौलाबिच इंगेजमेन्ट भएको थियो । यही मंसिरमा विवाह गर्ने कुरा चलिरहँदा सुधनका परिवारले यो विवाह हुन नसक्ने भन्दै जनै सुपारी गरगहना सबै फिर्ता दिए । अन्ततः पुष्पाले पीडा सहन नसकी सुदनकै घर अगाडि आत्मदाह गरेर मृत्युवरण गरिन् । 

त्यस्तै श्रीमान् वितेपछि संघर्ष गरेर आफ्नो ज्यान छोराछोरी पालेकी महिला उषा राईलाई धरानको आमा समूहले कुटी कुटी हत्या गरे । दाइजो नल्याएको भन्दै नेहा चौधरीलाई आफ्नै श्रीमान् घर परिवार मिलेर मानसिक र शारीरिक यातना दिइरहेका छन् । उनी मिडियामार्फत् हारगुहार मागिरहेकी छन् ।

महिला हिंसा विरोधी कार्यक्रम हुन थालेको वर्षौ भयो । अहिले महिला हिंसा विरुद्ध १६ दिने अभियान देशैभरी चलिरहेको छ । के अब  यी प्रतिनिधिमूलक हिंसापीडित महिलाहरुले न्याय पाउलान् त ? के महिला हिंसा विरुद्धको अभियानले महिला हिंसामा कमी आउला त ?

कमजोर कानुनकै कारण महिला हिंसामा कमी नआएको लुम्बिनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीको भनाई छ । हाम्रो देशमा सर्वसाधारण जनता अन्यायमा परे भने न्याय पाउने कुरा अत्यन्त जटिल छ । टाठाबाठाहरुले कमजोर पहुँच नभएका गरिब महिलालाई हरेक क्षेत्रमा अन्याय अत्याचार गरिरहेका हुन्छन् । अझ  एकल महिलालाई  त  हाम्रो समाजमा बाँच्नै गाह्रो छ  । त्यसको लागि सानैदेखि किशोरहरुमा नैतिक शिक्षा आवश्यक छ । सभ्यहरु महिलामाथि अत्याचार गर्दैनन् भन्ने स्थापित गर्नुपर्छ ।

समाज बदलियो, देश बदलियो, राजनीति परिवर्तन भयो, देशमा गणतन्त्र पनि आयो तर महिला हिंसामा कमी हुन सकेन । यसको समाधान खोज्नैपर्छ । महिला हिंसा विरोधी कार्यक्रम सहर केन्द्रित भएका छन् । महिला हिंसा कम गर्न तारे होटलमा गोष्ठी गर्दैमा हुँदैन । गाउँ गाउँमा पनि सचेतना जरुरी छ ।

हिंसा भइरहेको देख्दा देख्दै चुप लागेर नदेखेको जस्तै गरी बस्ने प्रवृत्ति अहिले हावी हुँदै आएको छ । उनीहरुको घरायसी कुरा हो, हामीलाई के मतलव ? जस्तो सोच राखेर चुप लागेर बस्दा त्यहाँ कसैको ज्यान जान जान सक्छ । त्यसैले प्रत्येक व्यक्तिमा परोपकारी भावना जागरूक हुन जरुरी छ ।

अरुको उद्धार गर्नु, सहयोग गर्नु परोपकारभित्र पर्ने कुरा हुन् । माथि चर्चा गरिएकी पुष्पा न्यौपाने जलिरहँदा छरछिमेकीहरु चुप लागेर बस्दा उनको ज्यान गयो । यदि कसैले उनको समयमै उद्धार गरेको भए उनको ज्यान जोगिन सक्थ्यो । यस्तो लाग्छ, हामी धेरै स्वार्थी भइरहेका छौ । हामीमा परोपकारी भावना मरिसकेको छ । यसले पनि महिला हिंसा बढ्न मद्दत पुगेको छ ।

महिला हिंसा कम हुन १६ दिने अभियानले मात्रै पुग्दैन । प्रत्येक दिन कुनै न कुनै माध्यमबाट शिक्षा र चेतना फैलाउनु पर्छ । भएका कानुन कार्यान्वयनमा कडाइका साथ लाग्नुपर्छ । आपराधिक मानसिकता भएका व्यक्तिहरू कानुनी छिद्रका कारण चाँडै छुट्नाले पटक पटक अपराध गर्न डराउँदैनन् । फलस्वरुप हाम्रो समाजमा हत्या हिंसा, बलात्कारका घटना दिनहुँ बढिरहेको छ  । अतः बलियो कानुन र यसको कार्यान्वयन नै महिला हिंसा रोक्ने बलियो हतियार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप