आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वस्थ्य जीवनका लागि सन्तुलित भोजन र व्यायाम

बुधबार, २८ मङ्सिर २०७९, १० : ३५
बुधबार, २८ मङ्सिर २०७९

आधुनिक समाजमा रोगहरू यसरी बढेका छन् कि रोग नै नलागेका मानिसहरू भेट्न नै गाह्रो छ । यसरी मानिसलाई रोगहरूले आक्रमण गर्नुको एक प्रमुख कारण मानिसहरूको अप्राकृतिक जीवनशैली हो भन्नेमा दुई मत छैन । यसका लागि उचित खानपान र व्यायाम आवश्यक छ । व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । सामान्यतः व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ ।

शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाव, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन र शारीरिक बल तथा मनोबलको विकासका लागि व्यायाम सर्वोत्तम उपाय हो ।

व्यायामलाई शारीरिक गतिविधिको रूपमा परिभाषित गरिएको पाइन्छ । ब्यायामले मांसपेशी सक्रिय भई शरीरलाई तन्दुरुस्त, स्वस्थ्य, फुर्तिलो तथा बलियो बनाउँछ । साथै मुटु, मांसतन्तु (टिस्यु), स्नायु, जोर्नीहरू स्फूर्त भएर क्रियाशील बनाई स्वस्थ्य रहन गहकिलो सहयोग हुन्छ ।

साधारण शब्दमा भन्ने हो भने भोजनलाई आहार भनिन्छ । आयुर्वेदिक दृष्टिकोणले आहारको अर्थ मुख र जिब्रोले लिने खाद्य पदार्थहरू मात्र आहार होइनन् । आहारको वास्तविक अर्थ बाहिरको चिज वा वस्तु शरीरभित्र लिने भन्ने बुझिन्छ  । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।

उता आँखाबाट पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । सुन्दर दृश्यमा बसेर लिने मज्जा पनि आहार नै हो । कानले लिने आवाज, छाला वा त्वचाले लिने स्पर्श तथा मनले सिधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । 

विचारको आहार त यति शक्तिशाली छ, जसले मानिसको ब्रेनबोडीको रसायनिक संरचनालाई तुरुन्त परिवर्तन गरिदिन्छ । त्यसैले त मनोविज्ञान भन्छ, जस्तो सोच्छौं, त्यस्तै हुन्छौं ।

त्यसैले, रोगहरूबाट छुटकारा पाउन, निरोग र स्वास्थ्य जीवन जिउन आयुर्वेद र मनोविज्ञानको यस धारणालाई हृदयंगम गर्दै सात्विक र सन्तुलित भोजनका साथै आफ्नो आचारविचार पनि ठीक राख्नु अति आवश्यक हुन्छ ।

मानिसको लागि आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज, भिटामिन, पानी पौष्टिक तत्व हुन् ।  कार्बोहाइड्रेटले शक्ति प्रदान गर्न, रोगसँग जुध्न, क्षमता वृद्धि गर्नको लागि जरूरी हुन्छ । मकै, चामल, गहुँ, सखरखण्ड, आलु, तरूल, उखु, केरा, भुइँकटहर, आँप, मेवा, एभोकाडो आदिमा कार्बोहाइड्रेट पाईन्छ ।

त्यसै गरी प्रोटिनले शरीरका कोषको वृद्धि र विकास गर्न, शरीरको कार्य संचालन गर्न एवं विभिन्न रोगसँग लड्नको लागि प्रोटिन आवश्यक पर्छ ।  बोडी, सिमी, च्याउ, केराउ, भटमास, माछा, मासु, दूध, अण्डा आदिमा प्रोटिन पाईन्छ ।

शरीरलाई आवश्यक पर्ने तत्वमा चिल्लो पदार्थ पनि पर्दछ । दूध, मासु, घिउ, तेलमा चिल्लो पदार्थ पाईन्छ । यसले मुटु, फोक्सो, कलेजोको रक्षा गर्न सहयोग गर्छ । खनिज शरीरको तन्तुको वृद्धि र  मांशपेशीहरूको विकासका लागि खनिजको आवश्यकता पर्दछ । खनिज पदार्थ  माछा, मासु, दुध, दही, मुला, गाजर, सिस्नु, पालुङ्गो आदिमा पाइन्छ ।

शरीरलाई चाहिने तत्वहरू मध्ये भिटामिन पनि महत्वपूर्ण मानिन्छ । जसले शरीरको हाड जोर्नी, दाँत तथा विभिन्न तन्तुहरूलाई बलियो बनाउन मद्धत गर्छ । साथै आँखा तेजिलो र स्वास्थ्य राख्नको लागि भिटामिनको आवश्यक पर्छ ।

शरीरलाई विभिन्न भिटामिनहरू आवश्यक हुन्छ । केरा, आप, मेवा, फर्सी, काक्रो, लट्टेको साग, गाजर, काउली, पालुङ्गो साग, अण्डा, माछा, कलेजोमा भिटामिन ए पाईन्छ । भुइँकटहर, स्ट्रबेरी, कागती, मेवा, गेडागुडीहरू केराउ, सिमी, बोडी, चनामा भिटामिन बी पाइन्छ ।

यसै गरी कागती, स्याउ, सुन्तला, भोगटे, गोलभेडा, अम्बा, भुईकटहर, लिचीमा भिटामिन सी पाईन्छ । भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमताका लागि पहरेदार अथवा सुरक्षा कवचको काम गर्छ । 

शरीरलाई आवश्यक पर्ने भिटामिन डि सूर्यको किरण, माछा, दूध, अन्नबाली साथै दुग्धजन्य पदार्थ जस्तै दही, नौनी, घिउमा पाइन्छ । काउली, कुरिलो, सलगम नरिवल, काजु, सुर्यमुखी फुलको तेलमा भिटामिन ई र काउली, ब्रोकाउली, कुरिलो, अन्नबाली, माछा, कलेजो, अण्डा भिटामिन के प्राप्त हुन्छ ।

शरीरलाई अति आवश्यक पर्ने तत्वमा पानी पनि पर्दछ । शरीरको तापक्रम ठिक राख्न, पाचन प्रणाली र शरीरका प्रक्रियाका लागि पानीको आवश्यकता पर्दछ । एक व्यक्तिले शरीरको अवस्था र उमेरलाई समेत ध्यान दिएर दिनमा दुईदेखि पाँच लिटर पानी पानी पिउन जरुरी छ । शरीरलाई चाहिने विभिन्न तत्वहरूलाई मात्रा मिलाएर खाएमा सन्तुलित भोजन भन्ने गरिन्छ ।

हाम्रो शरीरलाई दैनिक न्यूनतम दुइ हजार क्यालोरी जरूरी पर्दछ । क्यालोरीले शरीरमा उर्जा प्रदान गर्छ र शरीरको उर्जा बचत गर्न पनि सघाउँछ । भोजनमा रहेको क्यालोरीकै कारण शरीर चलायमान हुने हो । यद्यपी क्यालोरीको मात्रा मासिनको उमेर, लिंग, शारीरिक बनावट र शारीरिक क्रियाशिलतामा पनि निर्भर गर्छ ।

बोसो र चिनी दुबैले हाम्रो शरीरमा उर्जा प्रदान गर्छ तर आवश्यक्ता भन्दा बढी सेवन गर्दा शरीरको एक भागमा गएर जम्मा हुन्छ, जसको कारण शरीर मोटो हुन थाल्छ । यही मोटोपनका कारण शरीरमा विभिन्न किसिमका रोगले घर गर्न थाल्छ । तसर्थ सन्तुलित भोजन र नियमित ब्यायाम हुनु जरूरी छ ।

केटीहरूको हकमा ११ देखि १४ वर्ष र केटाहरूको हकमा १३ देखि १५ वर्षको उमेरमा  विभिन्न किसिमका हर्मोनमा परिवर्तन आउने हुन्छ । यसबेला सन्तुलित भोजनको अति आवश्यकता हुन्छ ।

सबै किसिमको खान्की एकै थालीमा पस्कन संभव हुँदैन र थरीथरीको खानेकुरा मिश्रण गर्दैमा त्यो सन्तुलित हुन्छ भन्ने पनि होइन । अर्थात् दाल, भात, तरकारी, अचार मिश्रण गरिदैमा त्यो सन्तुलित हुन्छ भन्ने छैन । पोषण तत्वहरूको मात्रा मिलेको हुनु पर्दछ । कुन खाद्यपदार्थ कति खाने, कसरी खाने, कहिले खाने भन्ने बिषयमा जानकारी भै तोकिएको मात्रामा खानु पर्दछ ।

भोजन सधैँ ताजा र तातो हुनु पर्दछ । यस्तो भोजन स्वादिष्ट हुनुका साथै पाचक, अग्नि बढाउने सुपाच्य हुन्छ । यस्तो भोजन पौष्टिक पनि हुन्छ, बासी र चिसो भोजन भारी, तामसिक र अपौष्टिक हुन्छ । 

यसै गरी भोजनको सुन्दरता हुनु पर्दछ । भोजनको रङ्ग, गन्ध, स्वाद तथा स्पर्श रुचिकर हुनु पर्दछ । निरन्तर एकै प्रकारको भोजनमा अरुचि हुन सक्छ ।  भोजन शान्त र प्रसन्न मनले तयार पार्ने तथा सेवन गर्नु पर्दछ । कुरा गर्दै वा एकचित्त नभएर भोजन गर्नु हानिकारक हुन सक्छ ।

भोजनको उचित समय वा एउटै समयमा गर्नु पर्दछ ।  बिहानको खानामा तारेको, भुटेको नभए राम्रो हुन्छ । बिहानको खाना राम्रो भएमा कोलेस्ट्रोल बढ्ने तथा मधुमेहको खतरा हुँदैन । काँचो अङ्कुरित अन्नहरू जस्तै मेथी, गहुँ , मुँगी, चना र सानो केराउको मिश्रण तथा फलफूलको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनरलहरू प्राप्त हुन सक्दछ ।

सकिन्छ भने सूर्यास्त भन्दा एक घण्टा अगाडि, त्यो नभए बेलुकी सुत्नु २÷३ घण्टा अगाडि भोजन गरिसक्नु पर्दछ । भोजनपछि केहीबेर बज्रासनमा बस्दा धेरै राम्रो हुन्छ तर खाना खाएर ब्यायाम भने गर्नु हँुदैन । 

पाचन शक्ति राम्रो हुने मानिसले केही धेरै मात्रामा भोजन गरेता पनि धेरै कष्ट हुँदैन । तर पाचन शक्ति कम हुनेहरूले भारी भोजन गरेमा कष्ट हुन सक्छ । समग्र रूपमा पेटको एक तिहाइ भाग खाली रहने गरी भोजन गर्नु उपयुक्त हुन्छ ।

तर आवश्यकता भन्दा कम गरेको भोजनले आवश्यक ऊर्जा प्रदान गर्न सक्दैन । उता अधिक मात्रामा सेवन गरेको भोजनले आलस्य, भारीपन, मोटोपन, अपच आदि जस्ता समस्या उत्पन्न गराउँछ । यस्तो भएमा विकारको जन्म हुन्छ ।

त्यसैले, बिहान प्रसस्त भोजन गरे पनि बेलुकी हल्का भोजन मात्र गर्ने बानी बसाल्नु पर्दछ । आफ्नो शरीरको प्रकृति तथा आफूले गरिने शारीरिक श्रम वा ब्यायामका आधारमा भोजन गर्ने र सुत्नुअघि  मनतातो दूध सेवन गर्नु राम्रो हुन्छ ।

नचपाएको भोजन ठिकसँग पाचन हुन सक्दैन । त्यसैले, राम्रोसँग चपाएर भोजन गर्नु पर्दछ । नभए अजीर्ण, कब्जियत जस्ता रोग उत्पन्न गराउँछ । साथै, खानासँगै पानी पिउन हुँदैन । भोजन अघि आधा घण्टासम्म वा भोजन पछिको आधा घण्टासम्म पानी नखानु उत्तम हुन्छ । तर भोजनको बिचमा अप्ठेरो परेमा एक दुई घुँट लिन सकिन्छ । भोजनपछि बिहान जुस, दिउँसो लस्सी र राति दूध लिनु उचित हुन्छ ।

सागपात एवं फलफूलमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले कब्जियत, ग्यास्ट्रिक, कोलोन क्यान्सर तथा एसिडिटी कम गर्नुका साथै पाचन प्रणाली मजबुत बनाउँछ । विभिन्न अध्ययनमा शाकाहारी मानिसलाई दीर्घकालीन एवं प्राणघातक रोग कम लाग्ने बताइएको छ ।

६–६ महिनामा स्वास्थ्य एवं पोषण स्तर परीक्षण गराएर, रोगको परीक्षण गरी उमेर एवं तौलका आधारमा डाइटिसियनले दिएको डाइट चार्ट तथा निर्देशन पालना गरे स्वस्थ्य जीवन जिउन सकिन्छ ।

सात्विक र सन्तुलित भोजन

भोजनको उद्देश्य शरीरलाई पोषण दिनु हो । संभव भएसम्म सदैव सात्विक र सन्तुलित भोजन गर्नुपर्छ । भोजन जीवन स्थिर राख्नको लागि गर्नुपर्छ, स्वादको लागि होइन । चटपटे अमिलो, जंकफुड, डिब्बा र पकेटका मृत भोजन आदि सेवन गर्नुहुँदैन ।

गहुँ,  मुँग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मुला आदि तरकारी, सिमी, बोडी, चना, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि जस्ता अमृत खाद्यपदार्थ सात्विक भोजन हुन् । अमृत खाद्यपदार्थ भन्नाले यस्ता जीवित खाद्यपदार्थ हुन्, जुन उम्रिन सक्छन् ।

शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ्य जीवनको कल्पना गर्न सकिन्छ । शरीर स्वस्थ्य छ भने मन पनि ठीक हुन्छ । मन ठीक छैन भने शरीरमा भारीपन आउँछ । मन ठीक छ भने शरीर पनि स्वस्थ भएको अनुभव गर्न सकिन्छ । यसरी शरीर, मन, बुद्धि र चित्त एकापसमा परिपूरक छन् । एकको अस्वस्थ्यताले अरूलाई पनि असर गर्दछ । यसका लागि शरीरका स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन आदि सबै प्रणाली स्वस्थ्य र सबल हुनु आवश्यक छ ।

अन्त्यमा, हरेक दिन आफ्नो उमेर र शारीरिक क्षमताअनुसार कुनै न कुनै शारीरिक कार्यहरू गर्ने, दैनिक दुई–चार किलोमिटर हिँड्ने वा दौडिने, ध्यान, प्राणायाम तथा आसन वा व्यायाम गर्ने, लेखपढ गर्ने, गहिरो निद्रा सुत्ने, सन्तुलित पौष्टिक आहार सेवन गर्ने, सकारात्मक सोच, आशा र विश्वास राख्ने, सक्रियपूर्वक सामाजिक कार्यहरूमा लाग्नु स्वस्थ्य र दीर्घायु रहने सरल उपाय हुन् ।

तामसी भोजन भन्दा सात्विक भोजनमा ध्यान दिऔं । सकारात्मक सोच, सन्तुलित भोजन र शारीरिक ब्यायामबाट मात्रै स्वस्थ्य जीवन जिउन सकिन्छ ।

लेखक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टेकराज पन्थी
टेकराज पन्थी
लेखकबाट थप