आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : म पुरुष

शनिबार, ०२ पुस २०७९, ०६ : ४४
शनिबार, ०२ पुस २०७९

हो म पुरुष हुँ
मेरो शरीर फलामले बनेको छ
मन पत्थरले 
म थाक्दिन 
थाक्न पनि पाउँदिन 
शरीर फतक्कै गलोस्
सास बढेर घाँटीसम्म आओस् 
मैले सासलाई घाँटीमै रोक्नु पर्छ
शिथिल शरीर लतारिनु पर्छ 
नत्र यो समाजले
मलाई एक थान नाम भिराउने छ
हुतिहारा
किनकि
म पुरुष हुँ ।

न मैले रुने ठाउँ पाउँछु
न त मनको बह पोख्ने चौतारी भेट्छु
मेरा पीडाका गीत गाइँदैनन्
वेदनाका कविता पनि कोरिदैनन्
खोपिन्छन् त हत्केलामा
ठेलाका डोबहरु
कोरिन्छन् त थाप्लामा
नाम्लाका यादहरु 
न इतिहास बन्छन्, ती संघर्षका 
न त कथा बन्छन्, विवशताका
मलाई खहरेको भेल हुने छुट कहाँ छ र ?
वर्षामा उर्लिएर नदी रोक्ने 
म त त्यो अविरल बग्ने नदी हुनुपर्छ
पीडा र ठक्करले 
नआत्तिने, न बहकिने 
किनकि 
म पुरुष हुँ । 

कानुनका ठुला ठुला ठेलीले मलाई देख्दैन
न्यायालयको ढोकाले मलाई चिन्दैन
न त अखवारमा मेरो समाचार बिक्छ
न त माइतीघर मण्डलाले मेरो नारा बोल्छ
यो समाजले 
मेरो पनि मन छ भन्ने कुरा बुझेन
मन सबैको दुख्छ भन्ने कुरा पनि बुझेन
तिमी दह्रो हुनुपर्छ मात्रै भन्यो
तर अधिक रापले ढुङ्गा पनि फुट्छ भन्ने बुझेन
म भित्रभित्रै चर्किएको  छु
तर बाहिर सग्लै देखिन्छु 
हो म पुरुष हुँ 
मेरो शरीर फलामले बनेको छ
मन पत्थरले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप