आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापाको निगरानी गर्न ‘विशेष ब्यूरो’का प्रहरी परिचालन

दुई होटलमा रातभर निगरानी
बुधबार, ०६ पुस २०७९, ०६ : २९
बुधबार, ०६ पुस २०७९

कांग्रेस महामन्त्री गगन थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको इतरपक्षले आरोप लगाएको छ ।  संसदीय दलको नेतामा उम्मेदवारी दिएका थापाको काठमाडौंको दुईवटा होटलमा रातभर निगरानी गरिएको हो । प्रहरी स्रोतका अनुसार लाजिम्पाट स्थित होटल एम्बेस्डर र नक्साल स्थित पाँचचारे होटल मेरियटमा थापा पक्षको गतिविधि निगरानी गर्न प्रहरी परिचालन गरिएको छ । 

निगरानीका लागि प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रहरी खटिएका छन् । लाजिम्पाट स्थित होटल एम्बास्डरबाट थापाको सचिवालयमा कार्यरत सविन राज मुडभरीसहितका थापा समर्थकले दुईजना प्रहरीलाई समातेर सोधपुछ गरेका थिए । मंगलबार राति कांग्रेस समर्थकले सर्च गर्दा उनीहरुको साथमा प्रहरीको परिचयपत्र भेटिएको सविन राज मुडभरीले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । 

उनका अनुसार प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको छ । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् । विशेष ब्यूरोका प्रमुख डीआईजी अशोक सिंह हुन् । डीआईजी सिंहको आदेशमा गगनको निगरानीमा उनीहरु खटिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारिले रातोपाटीलाई बताए । 

मंगलबार राति आफ्ना पक्षका नेता–कार्यकर्तासँग छलफलका लागि महामन्त्री थापा होटल एम्बेस्डर पुगेका थिए । छलफल सकेर उनी फर्किए । गगनको निगरानीमा नक्साल स्थित होटल मेरियटमा पनि प्रहरी परिचालन गरिएको छ । मेरियटमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी खटिएका छन् । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई हुन् । 

आज बिहान कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदै छ । निर्वाचनअघि उनको निगरानीमा प्रहरीको ‘दुरुपयोग’ भएको पाइएको हो । संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री थापा उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप