आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खेलले मित्रता मात्रै नभइ शत्रुता पनि निम्त्याउँछ

बिहीबार, ०७ पुस २०७९, १४ : १०
बिहीबार, ०७ पुस २०७९

पहाडमा ६ कक्षामा पढ्दासम्म मलाई फुटबल भन्ने थाहा थिएन । २०२९ सालमा विराटनगर झरेपछि पनि फुटबलबारे त्यति थाहा भएन । पढ्न पनि सहज हुने भएकाले मेरो अधिकांश बास हाल पूर्वाञ्चलका प्रसिद्ध सर्जन डा.सुनिलचन्द्र अधिकारी (जनकमोहन अधिकारीका छोरा र मोहन चन्द्र अधिकारीका चचेरा भाई) कहाँ हुन्थ्यो । २०३१ सालको विश्वकपको सेरोफेरोमा बल्ल फुटबलबारे थोरै थोरै जानकार भइयो । त्यस वर्ष जर्मनीलाई हलैण्डले जित्नुपर्छ भनेको सुनेर म पनि हलैण्डको पक्षधर भएँ ।

त्यसपछि, काठमाडौंबाट दाजुले सानदार फुटबल लगिदिनु भयो । प्रहरी निरीक्षकले तालिममा खेलेको फुटबल तीनटोलीया कोशी प्रोजेक्टमा चर्चा चल्यो । सुनिलको मामाको छोरा सन्तोष नेपाल जो हामी सँगैको कक्षास्तर थियो, काठमाडौंबाट जाडोमा विराटनगर आउँदा भेट हुन्थ्यो ।

सुनिल र सन्तोष राम्रो खेलाडी थिए । एकपटक मेरै फुटबल खेल्दै पुरानो हवाइ फिल्डमा कोशी प्रोजेक्ट र हामी तीनटोलीयाबीच म्याच भयो । कोशी प्रोजेक्टतर्फ भीम केसी, विधान पोखरेल, विनोदसमेत थिए  । हाम्रो तर्फबाट सुनिल, सन्तोष, भतिज राजेश बराल पनि थिए । राजेश पछि हकीका राष्ट्रिय खेलाडी पनि भए । म डिफेन्समा खेल्थे । परशुराम चालिसे, गोविन्द पौडेल, भोला पौडेल, गोकुल पाण्डे, दमन तथा भास्कर रेग्मी पनि हाम्रै तर्फको जस्तो लाग्छ । 

उक्त खेल रमाइलो भएको थियो । म्याच हामी १–२ गरेर एक गोलले हारियो । तीन दिनसम्म हारेको पीर लाग्यो । त्यो खेल अहिलेको जस्तो व्यापारिक उद्यमीले प्रायोजन गर्ने जस्तो नाफामूलक खेल थिएन, न त अहिलेको नेपालको राजनीति जस्तो नै ।

२०४३ सालमा म नेपाल बैंक छाडेर कृषि विकास बैक गएँ र फेरि नेपाल सरकारतिर आएँ । कृषि विकास बैक र नेपाल सरकारको अदली बदलीमा सायद विश्वकप भएको थियो होला जस्तो लाग्छ । जिकोले पेनाल्टी मिस गरेको कुरा नेपाल बैंकका साथी लक्ष्मी नारायण कडरियाले हाँसी हाँसी सुनाएको सम्झना छ ।

पछि २०४७ सालमा जागिर भएको ठाउँमा विश्वकप हेर्न सुविधा थिएन । घर आएको बेला ब्राजिल र अर्जेन्टिनाको म्याच हेरेँ । म्यारोडोनाले खेल मैदानको विचबाट एक्लै बल लगेर कैनेजियालाई बायाँ कर्नरमा पास दिएपछि कैनेजियाले गरेको गोलपछि मैले टोलै थर्काउने गरी कराएको थिएँ रे । त्यतिबेला म नेदरलैण्डका गुलिट, राइकार्ड, मार्को भानलाई पनि मन पराउने भएकाले यदि अर्जेन्टिनाले नजिते हलैण्डले जितोस् भन्ने चाहन्थें ।

मेस्सीमय विश्वकप

यसपाली २०२२ को विश्वकप ९८ प्रतिशत खेलपछि कम्प्युटरमा हाइलाइट हेरें । मेस्सीले दिएको पासमा अल्भारेजको गोल देखेर म्याराडोना र केनेजियालाई सम्झिएँ । सञ्जोग पनि कस्तो भने त्यसबेला पहिलो खेलमा क्यामरुनसँग पराजित भएर पनि फाइनलमा पुग्यो अर्जेन्टिना र अहिले पनि पहिलो खेल साउदी अरवसँग हारेर पनि फाइनल पुगेको थियो । तर, अर्जेन्टिना त्यसबेलाको जस्तो उपविजेता यसपाली हुनुपर्दैन, विजयी नै हुनेछ भन्ने लागेको थियो ।

बीबीसीमा गेरी लिनेकर आफ्नो विचार यसरी सम्प्रेषण गरेका थिए, परिणाम जे जस्तो आए पनि अहिलेसम्म कतारमा मेस्सीको प्रस्तुतिले धेरै फुटबल समर्थकको मन जितेको छ ।...उनी अहिले ३५ वर्षका भइसके र उनले अब मैदानमा बिताउने समय लामो छैन । त्यही भएर उनको खेलको प्रत्येक सेकेन्डको स्वाद हामीले लिनुपर्छ ।

मैले मेस्सीको संख्यात्मक तथ्याङ्क भन्दा पनि उनको दृष्टि, चेतना र निर्णय क्षमता हेरेर उनलाई यो खेल खेल्ने सर्वोत्तम खेलाडी भनेको हुँ भनेर धेरै पटक भनि सकेको छु ।...उनी यसरी खेल्छन् कि मानौँ उनले त्यो बेला माथिबाट मैदानको सबै कुरा देखिरहेका छन् ।

वर्षौँदेखि मेस्सीले आफू वास्तवमै अति प्रतिभाशाली खेलाडी रहेको उदाहरण प्रस्तुत गर्दै आइरहेका छन् । र, मलाई लाग्छ यो विश्वकप हेर्दा तपाईंले उनी कति विशेष छन् र आधुनिक फुटबलमा अरू सबैभन्दा राम्रा खेलाडी हुन् भन्ने आत्मसात गर्न सक्नुहुनेछ । तर हामी जब तुलना गर्छांै, हामी गोलको संख्यामा अल्झिने गर्छौं ।

गोलको संख्याका आधारमा क्रिस्टियानो रोनाल्डो र मेस्सी दुवै लगभग समान छन् तर मेरो तर्क के हो भने मेस्सीमा ‘वाहवाही फ्याक्टर’ धेरै छ । जब गोल गर्छन्, रोनाल्डोमा पनि त्यो देखिन्छ । किलियान एम्बाप्पे पनि आफ्नो शक्तिशाली गतिसहित त्यस्तै छन् । तर उनीहरू दुवैले मेस्सी जस्तो गर्न सक्दैनन् ।

एउटा सानो कुनामा पनि मेस्सीले चार वा पाँच जनालाई छलाउन सक्छन् र उनले अरू कसैले नदेख्ने ठाउँमा पास दिने विन्दु देख्न सक्छन् र परिणाम पनि दिलाउन सक्छन्...।” (लिनेकर, १८ डिसेम्बर,२०२२) ।

तू न थकेगा कभी, तू न रुकेगा कभी, तू न मुड़ेगा कभी ।

कर शपथ, कर शपथ, कर शपथ ।।

अग्निपथ अग्निपथ अग्निपथ ।।।”(हरिवंश राय बच्चन, कवि, भारत) ।

उत्तर छाँयावादी कविको रुपमा समेत परिचित हरिवंश राय बच्चनको उपरोक्त कविता अहिले अर्जेन्टिनीे फुटबल खेलाडी नायक लियोनेल आन्द्रेस मेस्सी अनुकूल  छ ।

, २०२२ डिसेम्बर १८ अर्थात् पुस ०३ गते भएको विश्वकप २०२२ को फाइनलमा फ्रान्ससँग ३–३ गोलको बराबरी भएपछि खेल टाईब्रेकर–पेनाल्टी प्रहारमा गयो । मेस्सीको अन्तिम विश्वकप कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै तेश्रोपटक विश्वकप विजेता बनेर विगतमा ५ पटक उपविजेता बन्नु पर्दाको निराशालाई हर्षमा परिणत गरेको थियो ।

चर्चित फाइनल

आक्रमक खेल खेलेर विश्वका फुटबलप्रेमीको मन जितेका एमबाप्पेले फाइनलमा गरेको सबै गोलपछि ‘मेरो छोराको उमेरको मेरो साथी एमबाप्पे, फाइनलमा चार गोल गरेका छौ । फुटबलको भविष्यलाई हेर्न पाउनु हाम्रा लागि पुरस्कार हो’ भनेर पेलेले एमबाप्पेप्रति सम्मान गरेका छन् ।

ग्रीजमेन र जिरौडलाई परिवर्तन गरेर एम्बापेलाई मैदान अनुकूल गर्ने फ्रान्सका प्रशिक्षकको रणनीति अर्जेन्टिनाको प्रशिक्षकले बुझेनन् । डी मारियालाई किन फिर्ता गरेका होलान् ? घाइते थिए तर पनि उनले आफूलाई घाइते नभएको जस्तो उत्साही प्रदर्शन गरेर खेल्दै खेल मैदान छाड्न चाहेका थिएनन् भन्ने उनको मनोविज्ञान थियो जस्तो लाग्छ ।

डी मारिया होउन्जेल एम्बापेको स्थिति के थियो ? अर्जेन्टिनालाई त त्यसै जितिहालिन्छ भन्ने फ्रान्सको मनोवैज्ञानिक सोचाईलाई ७० मिनेटसम्म त मुसो खेलाएझैं फ्रान्सलाई खेलाएर अर्जेन्टिनाले जवाफ त दिएको नै हो ।

डिब्यालालाई अन्तिम समयमा मात्र मैदान प्रवेश गराउनु प्रतिष्पर्धात्मक खेलमा फ्रान्सका खेलाड़ीलाई जोखिम क्षेत्रमा छुदा होशियारी अपनाउनुपर्ने कुरापनि बुझ्न नसक्नु अर्जेन्टिनाको अनुभव पक्षको कमजोरी हो भन्ने लाग्छ ।

कसैले अन्यथा नलियोस् भनेर हो कि वा सवै आफूजत्तिकै सक्षम छन् भन्ने ठानेर हो स्पोर्ट्स पर्सनालिटी अन्तर्गतको यो वर्षको ‘व्लर्ड स्पोर्ट स्टार’ पुरस्कारबाट समेत सम्मानित गर्ने भनेर रोजाइमा परेका एउटा वरिष्ठ अनि सन्न्यास लिन लागेका खेलाडी थिए मेस्सी । उनले पनि रणनीतिबारे आफ्ना प्रशिक्षक र सहकर्मीसँग विचार विमर्श गर्न हिच्किचाहट गरेको देखियो ।

मैले नेपालका ६५ प्रतिसत जनता अर्जेन्टिना समर्थक भएको सामान्य आकलन गरेको छु । दक्षिण एशियामा भारत, बंगलादेश, पाकिस्तानका धेरै समर्थकहरु अर्जेन्टिनी फुटबल टोलीको पक्षमा देखिए ।

मन्थन खेलको मर्म पनि व्यापारिक

खेल भनेको मनोरञ्जनात्मक आनन्द र रमाइलोको लागि गरिएको आन्तरिक रूपमा उत्प्रेरित गतिविधिहरूको दायरा हो । खेल सामान्यतया बच्चाहरू र किशोर–स्तरका गतिविधिहरूसँग सम्बन्धित छ, तर जीवनको कुनै पनि चरणमा र अन्य उच्च–कार्यकारी जनावरहरूमा पनि संलग्न हुन सक्छ, विशेष गरी स्तनपायी र चराहरू, विकिपीडिया (अङ्ग्रेजी) ।

के अहिलेको खेल प्रतियोगिता साँच्चिकै खेल हो त ? अहिले जसलाई खेल भनिन्छ, त्यो पनि अव धेरै पैसा कमाउने गरी राजनीतिजस्तै व्यापार भएको छ । व्यापार भएको कुराप्रति धेरैको कम ध्यान गएको हुन सक्छ ।

खेल त त्यो हो, जसमा रमाइलो हुन्छ, आनन्द लाग्छ, माटोसँग प्रेम हुन्छ, मित्रता बढ्छ, सहयोगी भावनामा बृद्धि हुन्छ, सहभागीहरुको प्रतिभा र क्षमतामा पनि बृद्धि र सम्बद्र्धन हुन्छ ।

खेलको प्रचारले विश्वमा अहिले दर्शकको संख््यामा उल्लेखनीय वृद्धि भएको टड्कारो रुपमा देखिन्छ । यसैको फाइदा व्यवसायीहरुले भरपुर उठाएको पाइन्छ । अब खेल एक प्रकारको अम्मलजस्तो भैसकेको छ  । सबै कुरा छोडेर मन, मस्तिष्क, धन सम्पत्ति सबै यसमा निर्लिप्त हुन थालेको महसुस गरिएको छ । क्लबहरुले अरबौंमा खेलाडीहरुको किनबेच गर्ने गर्छन् । खेलाडीहरुलाई प्रयोग गरेर गरिने अरबौंको विज्ञापनको उद्यमशीलता फस्टाएको छ । खेलाडीहरु पनि धन पाएपछि मख्ख पर्छन् ।

खेल प्रतियोगिता हेर्ने दर्शकहरु यति उत्साहित हुन्छन् कि एकापसमा लडाईं झगडामात्र हैन, हिंसामा समेत उत्रेर हत्यासमेत हुने गरेका छन् । प्रतियोगिताको जित, हारमा देशको मान प्रतिष्ठाको प्रसङ्ग निकालेर उप्रदो मच्चाउने गरिन्छ । पराजित भएमा आफ्नै खेलाडीको समेत हत्या गरिन्छ । सरकारसमेत यो कार्यमा नजाँनिदो तरिकाले मुुछिने गरेका छन् । 

अर्कोतर्फ खेलको प्रतियोगितामा हुने विजय–पराजयलाई लिएर ंबाजी थाप्दै लाखौं कराडौंको जुवा पनि खेलिन्छ । प्रतियोगिताको मैदानमा होस् या सञ्चारका विभिन्न माध्यममा हुने विज्ञापनमा कराडौं लगानी हुन्छ, जुन पछि मूल्यमा समायोजन गरी दर्शकबाट असुल उपर गरिन्छ । खेल नाफामूलक फाइदाजनक व्यवसाय उद्यम कर्पोरेट भैसकेको छ ।

लेखक प्रहरी किताबखानाका पूर्व महानिर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप