आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा हत्या भएका भारतीय नागरिक आपराधिक गिरोहका नाइके : प्रहरी

आफन्तको हत्या गरेर नेपालमा लुकेर बस्दै आएका थिए शिवपुजन
आइतबार, १० पुस २०७९, १० : ५९
आइतबार, १० पुस २०७९

बारामा गोली प्रहारबाट हत्या भएका भारतीय नागरिक शिवपुजन प्रसाद यादव आपराधिक गिरोहका नाइके भएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा यादव ‘नक्सलाइट’ समूहको नेता भएको र भारतमा विभिन्न व्यक्तिको हत्या तथा अपराधिक घटनामा संग्लन रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यादवको शुक्रबार साँझ बाराको महागढीमाई नगरपालिका वडा नं २ बरियापुरस्थित भुतही पुल नजिकै २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहले गोली हानी हत्या गरेर फरार भएका थिए । 

शुरुमा शिवपुजन भारतीय व्यापारी भनिएपनि अनुसन्धानको क्रममा उनी कुख्यात अपराधी तथा आंतकवादी गतिविधिमा संग्लन रहेको खुलेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

उनकाअनुसार शिवपुजनको हत्या घटनामा बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  ‘शिवपुजन भन्ने व्यक्ति भारतमा धेरै जनाको हत्या र अपराधिक घटनामा संग्लन भएर नेपालका लुक्न आएको देखिन्छ, पछिल्लो समय उनले जग्गा विवादमा छौडादानो ग्राम पञ्चायतका उपप्रमुख तथा आफ्नै ठूलो बुवाको छोरा रमेश यादवको हत्या गरेर भाग्ने क्रममा बारामा आएको देखिएको छ,’ बाराका प्रहरी उपरीक्षक  बोगटीले रातोपाटीसँग भने । यादव भारतको छौडादानो ग्राम पञ्चायतका स्थायी बासिन्दा हुन् ।

मृतक शिवपुजनविरुद्ध भारतको छौडादानो, घोडासहन, मोतीहारी, लगायतका स्थानमा डकैती,ज्यान मार्ने उद्योग,लुटपाट, हात हतियार सम्वन्धी एक दर्जन भन्दा बढी मुद्दा रहेका अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक  राजेश थापाले जानकारी दिए । 

नातामा दाजु पर्ने रमेश यादवको हत्या घटनामा फरार रहेका शिवपुजन पछिल्लो समय वीरगञ्ज, जनकपुर, काठमाडौं, रौतहट र बाराको बिभिन्न ठाँउमा लुकिछिपी बस्दै आएका थिए । शुक्रवार उनी बाराको बरियापुरस्थित छोरीको घर छेउमा नास्ता पसलमा ३ जना सहयोगी सहित बसेका थिए । 

सोही क्रममा शिवपुजनलाई भारतबाट आएका  दिनेश यादव सहितको गिरोहले हत्या गरेर भारततर्फ नै फरार भएको श्रोतले जनाएको छ ।

शिवपुजनलाई गोली प्रहार गरेसँगै दिनेश यादवको समूह फरार भएको र शिवपुजनसँगै रहेका ३ जना मध्ये १ जना पनि फरार हुनुले सम्पूर्ण सूचना तिनै व्यक्तीले दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 भारतमा अपराधिक घटनामा संग्लनहरु नेपालमा प्रवेश गरेर लकिछिपी बस्ने र गोली हानेर हत्या गर्ने जस्ता घटनाले नेपालका लागि खुला सीमा थप चुनौती बन्दै गएको छ ।   बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सो घटनाबारे आज सार्वजनिक बिदा भएकोले सोमवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप