आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ताको गोलचक्करमा राप्रपा : परीक्षामा नयाँ नेतृत्व

आइतबार, १० पुस २०७९, २२ : ४१
आइतबार, १० पुस २०७९

नेपाली राजनीतिमा  सत्तालोलुपको निमित्त दलहरूले जनताको मागलाई सम्वोधन गर्ने भन्दा पनि व्यक्तिगत चिन्तन बढी बोकेको  कारण विचार, नीति, सिद्धान्त भन्दा सत्ता प्राथमिकतामा राखेका देखिन्छ। यस्ता दलहरू अस्थिर हुन्छन्, तसर्थ यिनीहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन भने अन्ततः व्यवस्था धरापमा पर्ने निश्चित छ।

जुन देशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार बन्छन् । सरकारको नेतृत्व कस्तो चिन्तन, चरित्र, भएको व्यक्तिले गरेको छ भन्ने महत्त्वपूर्ण विषय त्यो हो। यदाकदा भन्ने गरिन्छ- प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन् यद्यपि नेतृत्व तहमा रहेको व्यक्तिको आचरण,चरित्र र चिन्तनले ठूलो महत्त्व राख्छ । यो व्यवस्थालाई  कस्ता चरित्रका कस्ता नेताहरूले नेतृत्व गरेका थियो र  गर्दैछन् यो मुख्य विषय हो।

 २०४६ सालको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सबैभन्दा बढी सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति अहिले कांग्रेस सभापति रहेका शेरबहादुर देउवा हुन्। नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्री देखि सुरासुन्दरीसम्मको प्रचलन त्यहीबेला भित्रियो। सत्ता टिकाउनका निमित्त देशभित्र मात्र हैन, विदेशमा समेत सासंद लुकाएर चर्चामा आएका पात्र हुन् देउवा। मुलुकमा अपांगलाई टेक्ने बैसाखी दिन नसक्ने सरकारले सत्ता टिकाउन सवै सांसदलाई पजेरो सुविधा त्यही समयमा दिएको थियो।

विशेषतः त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यही गोलचक्करमा फसेर ध्वस्त भयो। राप्रपालाई पटक,पटक प्रयोग गरियो भने उसले आफू प्रयोग भइरहेको थाहा नै पाएन।यतिसम्म कि एउटाको क्याबिनेटमा रहेका राप्रपाका मन्त्री उसैको विपक्षमा दस्तखत गर्न झण्डा हल्लाउँदै अर्को पक्षमा देखिए।

 एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाई कमजोर र ध्वस्त बनाउँदा मुलुक अस्थिरतातर्फ धकेलियो । फलस्वरुप सिङ्गो व्यवस्थामाथिनै संकट आयो  र माओवादीको उदय भयो। सर्वहारा वर्गको नाममा गरिएको माओवादी जनयुद्धका क्रममा कैयन व्यक्ति हत्या भए । दशौँ हजार नेपाली, राजनीति प्रतिशोधका करण मारिए। विकास निर्माणका संरचनाहरु ध्वस्त भए भने तत्कालीन देउवा सरकारले प्रचण्डको टाउको मोल तोक्दै माओवादी पार्टीलाई  आतंककारीको सूचीमा राख्यो। राजनीतिक रुपमा माओवादी युद्धमा सबैभन्दा वढि क्षति सायद कांग्रेसलाई भयो । तर सत्ता स्वार्थको निमित्त सबै बिर्सिएका पात्र हुन देउवा। सिद्धान्तको लिलाममा सत्ता खोज्ने व्यक्ति हुन् देउवा । उनै देउवाले माओवादीसँग अपवित्र गठबन्धन गर्दै केवल सत्ता स्वार्थको निमित्त  निर्वाचनमा झन्डै सकिन लागेको माओवादीलाई गतिलो स्थान दिए ।

माओवादीले मौकाको फाइदा उठाउँदै आफ्नो स्वार्थमा  कांग्रेससँगै हिँडेर आफूलाई स्थापित मात्र गरेन आज मुलुकको बागडोर नै कब्जा गरेर मुलुकलाई आफ्न‍ो मार्गचित्रमा हिँडाउने अवसर प्राप्त गरेको छ। सत्ताबाहेक केही नदेख्ने काँग्रेसले प्रचण्डहरूबाट पुन: सत्ता प्राप्त गर्ने कसरतमा असफलता प्राप्त गरेको  छ। हिजो बिना कारण माओवादीले हत्या गरेका,अंगभंग पारेका,बेपत्ता पारेका, सम्पत्ति हरण गरेका कुनै कार्यकर्ताको अनुहारको झलक समेत याद नगरेका देउवा आज प्रचण्डको कारण सायद निद्राबाट बिउँझिए होलान्। 

भागबन्डा र भ्रष्टाचारलाई संस्थागत गर्दै प्रधानमन्त्री बनेका  र अहिले प्रचण्डबाट धोखाको कारण विदा भएका देउवाको ठाउँमा सोही कार्यलाई संस्थागत गर्दै प्रचण्ड पुन उदाएका हुन् । सत्ता केन्द्रित अप्राकृतिक पाँच दलीय गठबन्धन आजबाट समाप्त हुँदै नयाँ गठबन्धनको सुरुवात भएको  छ।  लोकतन्त्रको नाममा अहिले  गठित यो गठबन्धन पनि केवल सत्ता केन्द्रित मात्र छ।   यो गठबन्धनको जोड, घटाउ र आन्तरिक प्रतिस्पर्धाका  कारण मुलुक पुन अस्थिरतातर्फ धकेलिने र प्रचण्ड युगको सुरुवातसंगै निरङ्कुश अधिनायकवादको पुन उदय हुन सक्छ । सायद यो दिन देख्न नेपाली जनताहरुले धेरै कुर्न नपर्ला।​

अन्त्यमा:-राजनीतिक स्थिरताको निमित्त वर्तमानमा सरकारलाई समर्थन गरेको राप्रपाले अब सत्ता र व्यवस्था मध्ये एक रोज्नुपर्ने अवस्था आएको छ । नेपालको राजनीतिमा फरक दृष्टिकोण बोकेको राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा रहेको राप्रपा पुन: सत्ताको गोलचक्करमा फसेर आफूलाई ध्वस्त बनाउने वा आफ्नो अलग पहिचानलाई कायम गर्दै आफूलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने ?   आजको मुल प्रश्न यही ह‍ो। आफ्न‍ो स्पष्ट दृष्टिकोण हुँदाहुँदै पनि  विगतमा पटक,पटक ध्वस्त भएको नजिरलाई ख्याल गर्दै आफूलाई कसरी प्रस्तुत गर्ने यो गम्भीर निर्णय लिने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ। विगतको इतिहास र वर्तमानको अवस्थालाई राम्रोसँग विश्लेषण गरेर राप्रपा अगाडि बढोस्। आज राप्रपा सत्ता प्राप्तिको अवसर र चुनौतीबाट गुज्रिएको अवस्था छ। यसलाई कसरी व्यवस्थापन गर्ने नेतृत्वको क्षमतामा भर पर्छ।   आगे जो मर्जी।

पाठक राप्रपाका केन्द्रीय सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप