संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।
जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठकमा बस्न मिल्दैन साथीहरूले गरिहाल्नु हुन्छ नि ।’ संसदीय दलको नेता चयन गर्नका लागि आज ११ बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ भने तीन बजे मतदान हुने समय तालिका तय भएको छ । तर त्यसअघि नै यादवले काठमाडौँ छाडेका छन् ।
यसअघि अध्यक्ष यादवले संसदीय दलको नेता सहमतिमा चयन गर्नका लागि प्रयास गरेका पनि सहमति हुन सकेन । चुनावी प्रकृयामा जानुअघि पनि लागि सहमतिको प्रयास हुने बताइएको छ । अध्यक्ष यादवले भने, ‘आज सहमतिमै संसदीय दलको नेता चयन हुन्छ । संसदीय दलको नेता चयनका लागि संसदमा रहेका पार्टीका नेताहरू छलफलमा छन्, उनीहरूले सहमतिमा टुंग्याउनेमा म विश्वस्त छु ।'