आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङको अभिव्यक्ति र दलितको मुद्दा

बुधबार, १३ पुस २०७९, १४ : २३
बुधबार, १३ पुस २०७९

धरानका मेयर हर्क साम्पाङ्गले बोल्ने क्रममा “चमारे बुद्धि” भन्ने शव्द प्रयोग गरेका कारण छोटो समयमा सबैका प्यारा बन्न पुगेका मेयर अहिले धेरैका आलोचनाको पात्र बन्न पुगेका छन् । अचानोको पीर खुकुरीलाई थाहा हुदैन भनेझैं गैरदलितका निम्ति यो केवल सामान्य शव्द भएपनि अचानोको भूमिका निभाइरहेका दलित समुदाय भने यसका कारण दुःखी र विचलित बन्न पुगेका छन् ।

उदारवादी सोच बोकेका भनिएका जनजाति समुदायका मेयरबाट यसरी अपमान गर्ने कार्य किन भयो ? आफू सधैँ ठीक छु भन्ने स्वाभावका मेयर, यो कसैको अपमान गर्नका लागि भनिएको होइन भन्ने जिकिर गरिरहनु भएको भए पनि माफी मागेर थोरै मात्रामा भएपनि राम्रो संस्कारको थालनी भएको छ ।

उता मेयरका समर्थक र केही जनजाति अभियन्ताहरु उहाँको पक्षमा वकालत गर्दै दलितहरु माथि खनिए । स्वाभाविक रुपमा यस्तो वातावरणले समाजमा जातीय दंगा निम्ट्याउँदैन भन्न सकिन्न ।

परापूर्व कालदेखि नै समाजमा पिछडिएका आवाजविहीनहरुलाई हेला होचो गरेर अपमानजनक शव्द प्रयोग गर्ने प्रचलन घट्न सकेको छैन । उदाहरणका लागि चमारे बुद्धि, कामीको जस्तो व्यवहार, दमाइ जस्तो जँड्याहा, राजाको काम छाडी कामीको देवाली आदि इत्यादि ।

यसै क्रममा धराने मेयरले पनि जान अन्जानमा प्वाक्क “चमारे बुद्धि”  भन्ने शव्द प्रयोग गर्नु अनौठो होइन । अर्को एंगलबाट हेर्दा उहाँले दलितलाई होच्याउने नियतले नभनेको पनि हुन सक्छ । यो शव्द स्वाभाविक रुपमा उहाँको मुखबाट फुत्केको हुन सक्छ । किनकि उहाँ हुर्कनु भएको समाजले उहाँ सानो दूध खाने छँदादेखि नै यस्ता खालको दलित विरोधी शब्दहरु सिकायो र नर्मलाइजेसन गरायो । यसको मतलव यो होइन कि विचारै नगरी बोलेर कसैलाई अपमान गर्नु ठीक काम हो ।

सबैभन्दा महत्वपूर्ण काम समस्या मात्र आंैल्याउनु होइन, समाधानको बाटो पहिचान गर्नुपर्छ । नेपालको सामाजिक संरचना अहिलेको जे छ, त्यही नै रहिरहने हो भने नेपालमा कथित दलित भनिनेहरुले अझै हजारौ वर्ष यसरी नै अपमानित भइरहनुपर्ने कुरामा कुनै शंका छैन ।

नेपालको वर्तमान सामाजिक संरचना भनेको मनुवादी हिन्दूत्वमा आधारित संरचना हो । यस संरचनाअन्तरगत बच्चा जुनसकै कुलमा जन्मेको भए पनि जातपात र छुवाछुतका कुराहरु सिकाइन्छ । छोराछोरी विद्यालय जान थाल्दा आफ्ना छोराछोरीहरुलाई पानी नचल्ने जातका केटाकेटीहरुलाई नछुनु, सँगै बसेर नखानु, पानी नचल्ने जातले छोएको खाएमा देउता रिसाउँछन् भनेर कथित उच्च जातका अभिभावकहरुले सिकाउँछन् ।

उता कथित दलितका छोराछोरीहरुलाई समेत उनका अभिभावकले हामीले अरुलाइ छुनु हुँदैन, हामीले छोएको खानेकुरा अरुलाइ दिन हुँदैन भनेर सिकाउँछन् । कलिलो तीन चार वर्षको उमेरदेखि सिकाएको सिकाइलाई पीडित र पीडक दुबै पक्षका बच्चाहरुले जतिसुकै शिक्षित, सम्पन्न भए पनि र संसारमा जहाँ रहे पनि यो मनुवादी सिकाइलाइ भुल्न सक्दैनन् । यो संरचना यति संगठित, बलियो र बठ्याइपुर्ण तरिकाले संरक्षित छ कि स्वयं पीडितहरु समेत खुशीसाथ अपमान सहेर बसेको पाइन्छ ।

यो मनुवादी सामाजिक संरचना यति दरिलो हुनुको कारण हिन्दू धर्मको महत्वपूर्ण पाटोको रुपमा स्वीकारिनुले हो । यसकारण धर्मको आड लिएर संगठित रुपमा एउटा पुस्ताले अर्को पुस्तालाई अछूत अपसंस्कृति हस्तान्तरण गर्दै आइरहेको छ ।

तुलनात्मक हिसाबले सय बर्ष पहिले र आजको दिनसम्म आइपुग्दा कागजी रुपमा बाहेक व्यवहारिक रुपमा कुनै परिबर्तन भएको देखिदैन । छुवाछूत र भेदभावका घटनाहरु सुनियोजित रुपमा दिनदहाडै बढिरहेका छन् । कथित दलित भनिनेहरु कुटिइरहेका छन्, अपहेलित भइरहेका छन्, मारिदैछन् ।

नियम कानुनलाई हातमा लिएर बसेकाहरु, देश चलाउनेहरु, मुलुकको कानुन बनाउनेहरु सबै नै मनुवादी सामाजिक संरचनाबाट प्रभावित भएको कारण देउता रिसाउलान् भनेर जातपात छुवाछूतलाई हटाउन साहस गर्ने कुरै भएन ।

कतिपय आफूलाई उदारवादी र प्रगतिशील ठान्नेहरुले दलितहरुको दयनीय अवस्था देख्दा टीठ लागेर छुवाछूत र भेदभाव त हटाउँ हटाउँ लागे पनि जब घरमा आएर आमाबुवा, हजुरबा, हजरआमाको मुख हेर्छन्, तब उहाँहरुले सिकाएको सिकाइ सम्झिदा भोलि देउता रिसाएर भाँडभैलो गरेर सबै सखाप पारे भने त बर्बाद हुन्छ भन्ने ठानेर फेरि पुरानै मनस्थितिमा फर्कन्छन् ।

धेरै जना दलित नेताहरुलगायत अन्य बुद्धिजीबीहरुलाई माथि गरिएको विश्लेषणमा विश्वास नलाग्न सक्छ । तर एकदिन समयले प्रमाणित गर्नेछ । नेपालमा विद्यमान जातपात र छुवाछूतलाई समाधान गर्न हिन्दूत्वमा आधारित मनुवादी चिन्तनबाट अगाडि बढिरहेको सामाजिक संरचना ध्वस्त हुन जरुरी छ । यदि यस्तो सामाजिक संरचनालाई नष्ट नगरी जातपात र छुवाछूत, भेदभाव हटाउन खोज्नु भनेको रुख ढाल्दा फेदबाट काटेर ढाल्नु सट्टा सा–साना हाँगाहरु छाँटेर रुखलाई झन मजबुत पार्नु सरह हो ।

समस्यालाई सधैँ औल्याइरहनु भन्दा समाधानलाई प्राथमिकता दिनुपर्छ । हर्क साम्पाङहरुलाई चमारे बुद्धि दिने सामाजिक संरचनालाई ध्वस्त बनाउने हो मात्र नेपालको जातीय समस्या समाधान हुन्छ ।

अन्तमा, नेपालका दलित नेता र बुद्धिजीबीहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु, तपाईंलाई कथित उच्च जातको व्यक्तिले उसको घरमा भित्र पस्न आग्रह ग¥यो भने तपाईंको मुटु ढुकढुक गर्छ कि गर्दैन ? अवश्य गर्छ । मानौं कि तपार्इं सम्पन्न सहरी वातावरणको परिवारमा जन्मनुभएको भए पनि कता कता भित्री अप्ठ्यारो महसुस गर्नु हन्छ ।

किनकि हर्क साम्पाङलाई जस्तै तपाईंको कलिलो दिमागमा पनि मनुवादी हिन्दू संस्कार लादिएको छ, यसले नचाहेर पनि हरेकलाई ढक्ढक्याइ रहन्छ । त्यसकारण, जबसम्म यो जातिवादी हिन्दू संरचनालाई जरैदेखि उखेलेर फालिँदैन, तबसम्म नचाहेर पनि हर्कहरुको दिमागमा चमारे बुद्धिले ठाउँ लिइरहनेछ । र, निर्दोष नवराज विकहरुले मृत्यवरण गरिरहनु पर्नेछ ।               

हालः न्यूयोर्क, अमेरिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप