आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा शपथ ग्रहणको तयारी पूरा, ६ जनाले मातृभाषामा लिने

बिहीबार, १४ पुस २०७९, १० : ०५
बिहीबार, १४ पुस २०७९

पुस १५ गते हुने सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ । प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सचिवालय व्यवस्थापनलगायत सम्पूर्ण तयारी पुरा भएको हो ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सबै व्यवस्थापकीय तयारी पुरा भएको बताउँदै भोलि निर्धारित समयमा शपथ ग्रहण हुने जानकारी दिए । शपथ ग्रहणको समय दिउँसो १ः३५ मा तय गरिएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि रावलले बाँकी ५२ जनालाई शपथ ग्रहण गराउने छन् । यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कैलाश चौधरी, क्षेत्र न. १ (२) का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (२) का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (१) का घनश्याम चौधरी र क्षेत्र नं. ३ (२) का खुसीराम डगौरा थारूले थारु भाषामा शपथ लिने छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिने भएकी हुन् । उनी कञ्चनपुरकी हुन् ।

यसैबीच प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको कार्य पनि पुरा गरेको छ । नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ ।

सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा नेकपा एमालेको दलको कार्यालय बनाइएको छ । 

विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा माओवादी केन्द्रको कार्यालय बनाइएको छ, भने सार्वजनिक लेखा समितिको कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाइएको छ । १ जना मात्रै प्रदेश सभा सदस्य रहेको राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको लागि भने व्यवस्थापन गर्न बाँकी रहेको सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप