आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेम्जामा बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा

मङ्गलबार, ११ साउन २०७३, १५ : ००
मङ्गलबार, ११ साउन २०७३
पोखरा - सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए । सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो । रामघाटबाटै बगाएर ल्याएका छ वटा बङ्गुर पनि निकालिएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए । यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ । सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् । यसरी नै पोखराको छोरेपाटनमा दुई घर डुबानमा पर्नुका साथै १२ घरमा पानी पसेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप