आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विचार मिल्नेहरूसँग एकता गर्छौं : माधव नेपाल

बुधबार, २० पुस २०७९, १४ : २६
बुधबार, २० पुस २०७९

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गरिने बताएका छन् । बुधबार काठमाडौंमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यसका लागि विभिन्न पार्टीहरूसँग कुराकानी भइरहेको बताए । 

‘विचार मिल्नेहरूसँग एकता पनि गर्नेछौ । हामी मोर्चा पनि बनाउनेछौ’, अध्यक्ष नेपालले भने, ‘ एकताबद्ध हुनसक्नेसँग एकता गर्नेछौं । विचार, सिद्धान्त, विधि र आचरण मिल्नेहरूसँग हामी मिलेर जानेछौँ ।’

नेता नेपालले एकता सम्भव नभए मोर्चावन्दी गरेर पनि अघि बढ्न सकिने बताए । ‘होइन भने तात्कालिक विषयवस्तुहरुमा सहमति भएकाहरूसँग मोर्चावन्दी बनाएर पनि अगाडि बढ्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यो कुरालाई अन्य राजनीतिक दलहरूले पनि आत्मसात् गर्नसक्नुपर्ने बताए । उनले भूमिका महत्त्वपूर्ण भएकाले पार्टीले सक्रियता पनि बढाउनुपर्ने बताए । ‘राष्ट्रिय राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको मात्रै होइन, अहिले पनि हाम्रो महत्त्व उतिकै छ । त्यही भएर अहिले पनि हामीसँग छलफल गरिरहेका छन्’, उनले आफ्नो गणतन्त्र बलियो बनाउने, संविधानको कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण होस् भन्ने उद्देश्य रहेको बताए ।

भारतको राजनीतिमा सुरुमा २ सिट पाएको विजेपीले सत्ता हाँकेको उदाहरण दिँदै नेता नेपालले आत्तिन नहुने बताए । नेता नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा अहिले हतार गर्नुपर्ने अवस्था नरहेको पनि बताए । ‘अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्समै रहोस्’, अध्यक्ष नेपालको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप