आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्टन्टबाजहरू हाबी भएको बेला गगन थापाले पनि ‘स्टन्ट’ गरे : नेता कार्की

बुधबार, २० पुस २०७९, २१ : ५१
बुधबार, २० पुस २०७९

विराटनगर । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाका विश्वासपात्र समेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले काँग्रेस महामन्त्री गगन थापाले स्टन्टबाजी गरेको आरोप लगाएका छन् ।  प्रदेश संरचना राख्ने नराख्ने भन्ने विषय आगामी ५ वर्षपछि जनताले मूल्यांकन गर्छन् भन्ने थापाको भनाइ स्टन्टबाजी मात्रै रहेको उनको आरोप छ । थापाले केही साता अगाडि विराटनगरमा आयोजित एक कार्यक्रममा यस्तो बताएका थिए । काँग्रेसका महामन्त्री समेत रहेको र संघीय सांसद बनेर संविधानमा हस्ताक्षर गर्नेमा थापा पनि रहेको इंगित गर्दै कार्कीले उनीहरुबाटै यस्तो कुरा हुनु स्टन्टबाजी मात्रै रहेको दाबी गरे । 

कार्की कोइराला पक्षबाट प्रदेश १ काँग्रेसको प्रदेशसभा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । उनी संस्थापन र सिटौला पक्षका संयुक्त उम्मेद्वार उद्धव थापासँग पराजित भएका थिए । प्रदेश सरकारको मन्त्री बनेको अवधिमा आफूले गरेका काम र उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले प्रदेश बलियो बन्नका लागि संघबाट प्रदेशको अधिकार प्रदेशमै ल्याउनु पर्नेमा जोड दिए । 

५ वर्षको कामको मूल्यांकनका आधारमा प्रदेश रहने नरहने टुंगो लाग्छ भन्ने काँग्रेस महामन्त्री गगन थापाको कुरा छ नि भन्ने प्रश्नमा उनले यो स्टन्ट मात्रै रहेको बताए । ‘स्टन्टबाजहरुले आफूलाई स्टन्ट राख्नका लागि जेजे कुरा भन्दा बढी सामाजिक सञ्जालहरुमा छाउन सकिन्छ त्यही हिसावले गर्ने प्रयास हुन्छ,’ कार्कीले भने, ‘आफूले बनाएको, आफैँले हस्ताक्षर गरेर ल्याएको संविधानको बर्खिलाप हुने गरी कुरा गर्न सुहाउँदैन । आफैं संसदमा बसेपछि कि त संघीयता खारेज गर्ने प्रस्ताव लिएर जानुपर्‍यो, त्यो पनि लान नसक्ने अनि यहाँ आएर बोल्नु भनेको स्टन्टबाज नै हो ।’

कार्कीले गगन थापाले अनावश्यक बोलेको पनि टिप्पणी गरे । ‘संघीय संसदमा हुँदा प्रदेश बलियो बनाउनु पर्छ । प्रदेशको अधिकारहरु हस्तान्तरण गर्नुपर्छ । संघीय प्रहरी ऐन बन्नुपर्छ, संघीय निजावमती ऐन पारित गर्नुपर्छ, संघीय शिक्षा ऐन, संघीय स्वास्थ्य ऐन पारित गर्नुपर्छ भनेर कहिल्यै नभन्ने अनि प्रदेशको काम हेर्छु भनेर पाखुरा सुर्किने ?’, कार्कीले भने, ‘यो अनावश्यक कुरा हो, उहाँलाई म कुन पोष्टमा छु भन्ने पनि ख्याल छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप