आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

बिहीबार, २१ पुस २०७९, २३ : ११
बिहीबार, २१ पुस २०७९

सिन्धुपाल्चोक । भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । 
घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन् । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौँ वा अन्यत्र लाग्नुपरेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा रु पाँच हजार पालिकाले दिने स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले बताए ।

हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत धेरैको हेलिकप्टरमार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । गाउँपालिकाको आठ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको उल्लेख गर्दै यो सिन्धुपाल्चोक जिल्लाको अन्य कुनै पनि पालिकामा नरहेको उनले बताए ।

सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप एक हजार पाँच सय रकम दिने गरेको लामाले जानकारी दिए । साथै गर्भवतीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत सुत्केरीलाई घरमै गएर रु एक हजार बराबरको पोषणयुक्त खानेकुरा पालिकाले दिने लामाले बताए । 

वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको उनको भनाइ छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय शोभा भट्टराईले खुसी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप