आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव

आइतबार, २४ पुस २०७९, ०६ : ३२
आइतबार, २४ पुस २०७९

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन। जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन्। कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन।  स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन्। यतिबेला जसपामा  पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ । तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन्। दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने छैन।  

जसपामा यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठुलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन्। यी दुवै पार्टीबीच एकता भए प्रतिनिधिसभामा सदस्य संख्या २२ पुग्छ। प्रतिनिधिसभामा जसपाका १२ र नेकपा एसका १० सांसद छन्। अहिले प्रतिनिधिसभामा २० सांसदसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल छ।

यादव निकट एक नेता भन्छन्, ‘उहाँ ९यादव० को भित्री चाहना एकीकृत पार्टीमा माधव नेपाल ९नेकपा एसका अध्यक्ष० लाई संघीय परिषद्को अध्यक्ष बनाएर पहिलो स्थान दिने र आफू कार्यकारी अध्यक्ष बन्ने देखिन्छ। त्यस्तो भएमा नेकपा एसमा आबद्ध तराई मधेस केन्द्रित नेताहरू समेटिनेछन्। जस्तो रामचन्द्र झाले एमालेमा फर्कनुभन्दा जसपासँग मिल्न सजिलो ठान्नेछन्।’ रौतहटमा क्रियाशील नेकपा एसका कार्यकर्ताले एमालेसँग भन्दा जसपासँग एकीकरण गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।

अशोक राईलाई संसदीय दलको नेता नबनाएका कारण जसपाभित्र रहेका पहाडी समुदायका नेताहरू अध्यक्ष यादवसँग रुष्ट भएका छन्। अध्यक्ष यादवले नचाहेका कारण राई संसदीय दलको नेता हुन नसकेको भन्ने बुझाइ उनीहरूको छ। ‘जसपाभित्र पहाडी समुदायको ठूलो पंक्ति छ। कुनै पनि बेला यो पंक्ति पार्टीबाट अलग हुनसक्छ भन्ने चिन्ता यादवलाई छ। यस्तो हुन नदिन पनि यादव नेकपा एससँग एकीकरण गर्न खोज्दैछन्,’ स्रोतले भन्यो, ‘एकीकरणको प्रक्रिया अघि बढ्नेबित्तिकै जसपाभित्रको असन्तुष्टि पनि स्वतः हराउनेछ, पार्टी पनि ठुलो हुनेछ।’

यसैकारण यादवले नेकपा एससँग पार्टी एकीकरण गर्न पहाडीमूलका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ताटोली गठन गरेका छन्। श्रेष्ठ एमाले छाडेर जसपामा पसेका हुन। उनले एमालेमा रहँदा माधव नेपालसँग काम गरिसकेका छन्। त्यसैले श्रेष्ठलाई वार्ताटोलीको संयोजक बनाइएको हो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप