आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वाधार

सडक विस्तारले बदलिँदै छ वीरेन्द्रनगरको स्वरूप

प्लानिङ एरियाभित्रका सम्पूर्ण सडक कालोपत्रे यही वर्षमा गरिसक्ने लक्ष्य
आइतबार, २४ पुस २०७९, ०९ : १५
आइतबार, २४ पुस २०७९

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा सडक पूर्वाधार निर्माणले गति लिँदै गएको छ । वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको समन्वयनमा राजधानी भित्रका मुख्य सडकका साथै भित्री सडकहरूको समेत निर्माण भइरहेको हो । कतिपय सडकको विकासका लागि ठेक्कापट्टा गर्ने कार्य भइरहेको छ । सडक विस्तारसँगै आर्थिक, प्रशासनिक, व्यापारिक र राजनीतिक हिसाबले प्रदेशको केन्द्रबिन्दु समेत रहेको वीरेन्द्रनगर सहरको स्वरूप बदलिँदै गइरहेको अवस्था छ । 

देश संघीय संरचनामा आउनुभन्दा पहिला कालोपत्रे गरिएका सडक जीर्ण भइसकेका थिए । जताततै खाल्डा–खुल्डी, कङ्कीड सडकले दुर्घटनाको जोखिम बढाइरहेको अवस्थामा तीन तहका सरकारले प्रदेश राजधानी भित्रको सडक पूर्वाधारलाई परिवर्तनको केन्द्रमा राखेका छन् । 

अहिले साना–ठुला गरी झण्डै ३१ वटा सडक पूर्वाधारहरूको काम तीव्र गतिमा भइरहेको छ । वीरेन्द्रनगर प्रवेशद्वार सुब्बाकुना–बाँङ्गेसिमल (रत्न राजमार्ग) सडक डिभिजन कार्यालयले ठाउँ–ठाउँमा उक्लिएको कालोपत्रेलाई स्तरोन्नति गर्नेदेखि जीर्ण संरचनाहरूलाई बदल्ने काम गरिरहेको छ भने एक वर्ष अघिसम्म निर्माण गर्न बाँकी पुलहरू निर्माण सम्पन्न गरिसकेको अवस्था छ । रत्न राजमार्ग वीरेन्द्रनगरको मुख्य सडक हो । सो सडकबाट भित्री बजार, विभिन्न चोकसम्म जोड्ने सडकको स्तरोन्नति, नाला निर्माणदेखि सडकलाई चौडा गर्ने कामहरू धमाधम अहिले धमाधम भइरहेको छ ।

ratna rajmarga

नगरपालिकाको पूर्वाधार शाखाका अनुसार मुख्य बजार क्षेत्रमा पर्ने मंगलगढी चोक–वीरेन्द्रचोक हुँदै उत्तरतर्फ गणेश चोक जोड्ने सडक, मंगलगढी चोकदेखि दक्षिणतर्फ पर्ने लाटीकोइली, काँक्रेविहार र कालिञ्चोकदेखि महिला प्रशिक्षण केन्द्र जोड्ने ठुला सडकलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । 

अझ सबैको चोसोको रूपमा रहेको मंगलगढी चोक–गणेश चोक जोड्ने सडक अबको जेठ मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माण कम्पनीले काम गरिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख नीलकण्ठ खनाल भन्छन्,‘ उक्त सडकको कतिपय ठाउँमा ‘साइड क्लियर’ गरिँदै छ भने कतिपय ठाउँमा नाला निर्माण भइरहेका छन् ।’ 

यो सडक विस्तार र स्तरोन्नतिका लागि ०७८ माघमा बाँकेको खड्का निर्माण सेवा ठेक्का सम्झौता भएको थियो ।  

सडक विस्तार क्षेत्र समयमै खाली नभएको, खानेपानी, विद्युत् संरचना सार्न ढिलाइ हुँदा कामले गति लिन सकेको थिएन ।

nala ra kalopatre   (2)

‘भदौमा विस्तारमा अवरोध हुने संरचना हटाइयो,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने,‘ त्यसपछि चाडपर्व र निर्वाचनले गर्दा काम हुन सकेन । अब समयमै सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ ।’ 

साढे १३ करोड लागतमा बन्ने उक्त सडक नगरपालिकाको वडा नम्बर ६ भित्र पर्दछ । तिवारीका अनुसार सडकलाई पुनः हाईक्वालिटी सहितको कालोपत्रे गरिने छ भने चौडाइ क्षेत्रफल १४ मिटर बनाइने छ । अहिले सुरुमा दुवै भागमा नालाको काम भइरहेको छ भने गणेशचोकबाट काम सुरु भएर वीरेन्द्रचोकसम्म नालाको काम भइसकेको तिवारी बताउँछन् । 

kalopatre garko

‘प्याकेज मै सडक पूर्वाधारको विकास’

वडासहित तीन वटै तहका सरकार भ्यालीभित्र ‘प्याकेज’मै सडक पूर्वाधारको विकासमा अग्रसर छन् । बहूवर्षीय अन्तर्गत पर्ने मंगलगढी–लाटीकोइली–काँक्रेविहार सडकलाई पनि पूर्ण रूपमा कालोपत्रे गरिने छ । उक्त सडक पनि लामो समयदेखि स्तरोन्नति नहुँदा नगरपालिकाले निकै आलोचना खेप्ने परिरहेको थियो ।

मुख्य राजमार्गदेखि भित्री अन्य बाटोहरूको विकासका लागि झण्डै ५५ करोडको टेन्डर भइसकेको छ । सो अन्तर्गत ‘प्लानिङ एरिया’भित्रका करिब ४९ वटा स–साना सडक योजनाहरू रहेका छन् । अब सो बजेट अन्तर्गत स्तरोन्नति, नाला निर्माण, ग्राभेल र कालोपत्रेको काम सुरु हुने नगरपालिकाका नगर–प्रमुख मोहनमाया भण्डारी (ढकाल) बताउँछिन् । 

sadakko agugaman  gardai mohanmaya

उक्त बजेट संघ सरकारको हो । अपुग भएको खण्डमा सम्बन्धित वडा र वडासँग नभएपछि नगरले समेत समन्वय गर्ने गरेको छ । मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ भित्रका रत्न राजमार्ग–सनिहल चौक, शान्तिटोल जाने बाटो, सिद्धार्थ सहकारीको बाटो लगायतका भित्री सडकहरूको समेत काम अहिले भइरहेको छ । यी सडक योजनाहरूको लागत १०–२० लाख सम्मको छ । 

सो वडाका वडाध्यक्ष जनक रावलले ती सडकहरू वडा आफैले बनाइरहेको बताए । ‘कालोपत्रे गर्न बाँकी अब थोरै मात्रै छ, हटिया क्षेत्रमा लगभग २०० मिटर सडक बाँकी रहेको छ,’ उनले भने,‘ हामीसँग भएको बजेटबाट जति सकिन्छ त्यही अनुसार टेन्डर आह्वान गरेर कामहरू धमाधम गर्छौँ भने अपुग बजेट बाँकी संघीय र प्रदेश सरकारसँग माग गरिने छ ।’ 

nala ra kalopatre   (1)

उनले वडासँग भौतिक पूर्वाधार क्षेत्रमा ९५ लाख मात्रै बजेट रहेको बताए । त्यही बजेटबाट नै कतिपय ठाउँमा ‘डीप बोरिङ’ को समेत काम भइरहेको उनले बताए ।  

वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर केसीले एकता टोलमा ५÷५ लाखका दुई वटा सडकमा कालोपत्रेको काम भइरहेको बताए । ‘ एउटा योजना करिब–करिब सम्पन्न भइसकेको छ,’ उनले भने,‘ मित्र नगर टोलमा कालोपत्रेका लागि सम्झौता भइसकेको छ । उक्त सडकका लागि प्रदेश सरकारबाट १५ र वडाको ८ लाग बजेट रहेको छ ।’ 

ratna rajmarga  2

यस्तै आयुर्वेद कार्यालयदेखि उत्तर जाने बाटो कालोपत्रेको काम अहिले धमाधम भइरहेका र सो सडकका लागि प्रदेश सरकारको ४८ लाख बजेट रहेको केसीले बताए ।

अब ५५ करोड अन्तर्गत पर्ने एरिचोकदेखि उत्तरतर्फको हटलाइन बाटो, भुवनेश्वरी आयल निगमदेखि उत्तर तर्फ र सम्झौता टोल–रेडियो नेपाल जोड्ने सडकको नाला निर्माण सहितको कालोपत्रेको काम हुने छ । यस्तै वडा नम्बर पाँच भित्रका धेरैजसो सडकहरू कालोपत्रे भइरहेको नगरपालिकाका नगर–उपप्रमुख नीलकण्ठ खनाल बताउँछन् । 

पूर्वाधार विकास निर्देशनालयका इञ्जिनियर सूर्यबहादुर शाही कतिपय सडकहरूको ठेक्का लाग्न अझै बाँकी रहेको बताउँछन् । उनले भने,‘ निर्देशनालयले चालु आर्थिक वर्षमा एउटा ‘प्याकेज’ नै बनाएर सडक विस्तार, स्तरोन्नतिको काम भइरहेको छ ।’

उनका अनुसार निर्देशनालयले ‘वीरेन्द्रनगर राजधानी सहरी सडक’ भनेर प्याकेज बनाइरहेको छ । पहिलो चरणमा त्यो भित्र १६ वटा सडकहरू राखिएको छ ।

bajar photo  (1)

‘वर्तमान स्वरूप बदल्ने लक्ष्य’ 

‘कुनै पनि क्षेत्रको विकास उसको केन्द्रमा भएको विकासले जनाउँछ, आजभन्दा पाँच वर्ष अघिको वीरेन्द्रनगरलाई हेर्ने हो भने बढ्दो सहरीकरणसँगै थुप्रै परिवर्तन नभएका होइनन्,’ वीरेन्द्र चोकमा रहेको युनाइटेड इन्स्योरेन्स बिमा कम्पनीका प्रदेश संयोजक धीरेन्द्र शाही भन्छन्,‘ यद्यपि जुन रूपमा राजधानी भइसकेपछि विकास हुनुपर्थ्यो, त्यो अनुसार हुन सकेन ।’ 

उनका अनुसार विगतका वर्षहरूभन्दा अहिले बजार क्षेत्रका जुन तरिकाले सडक पूर्वाधारका क्षेत्रका विकास भएको छ, त्यो विगत पाँच वर्षमै भइसक्नुपर्ने थियो, तर पहिलो चरणमा खासै गति लिन सकेन । 

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल भने ‘हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे’ हुने खालका सम्पूर्ण सडकहरूको स्तरोन्नति र कालोपत्रे यही वर्षभित्र गरिसक्ने लक्ष्य नगरपालिकाको रहेको बताउँछिन् । नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा पनि उक्त विषयलाई समेटिएको छ । 

nala ra kalopatre   (3)

सोही लक्ष्यलाई पछ्याउँदै निर्वाचनको समयमा गरिएका वाचालाई मूर्तरूप दिने गरी अग्रसर भइरहेको उनको भनाई छ । यद्यपि अहिलेसम्म वीरेन्द्रनगरभित्र कति किलोमिटर सडक विस्तार भएको छ ? कति गर्नुपर्ने छ ? र कति प्रतिशत कालोपत्रे भएको र बाँकी गर्नुपर्ने कति छ ? भन्ने यकिन तथ्याङ्क नगरपालिकासँग छैन ।

‘हामीले यो बीचमा बजार आसपासका सबै सडकहरू कालोपत्रे गरिसक्ने गरी लागिरहेका छौँ,’ नगर–प्रमुख ढकाल भन्छिन्,‘ हाम्रो लक्ष्य भनेको सडक पूर्वाधारको वर्तमान स्वरूपलाई बदल्ने हो ।’ 

ढकालका अनुसार नगरले नयाँ सडक निर्माणका लागि अब १० मिटर चौडाइ अनिवार्य गर्नुपर्ने नियम बनाएको छ । ‘पुराना सडकहरू प्लानिङ अनुसार नै भइसके, अब खोलिने सडकहरू १० मिटर चौडाइ अनिवार्य, २÷२ मिटर सेट ब्याक छोडेर १४ मिटरको बाटो बनाउने लक्ष्य राखिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप