आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

उपरथी प्रेम शाहीलाई प्रधान सेनापतिले ‘बदला’ लिन खोजेका हुन् ?

सर्वोच्चले हाजिर गराउनु भन्यो, सेनापतिले थुने !
सोमबार, २५ पुस २०७९

काठमाडौँ । सेनाका उपरथी प्रेम प्रकाश शाही अहिले सैनिक प्रहरी गणको हिरासतमा छन् । सर्वोच्च अदालतको आदेश अनुसार पुस १९ मा जङ्गी अड्डामा हाजिर हुन पुगेका शाहीलाई प्रधान सेनापति प्रभुराम शर्माले थुनामा राख्न आदेश गरेका हुन् । 

निरीक्षणाधिकृत विभागमा कार्यरत शाहीलाई जङ्गी अड्डाले ५७ वर्ष उमेर हद पुरा भएको कारण देखाएर अवकाश पत्र दिएको थियो । जङ्गी अड्डाले पुस ४ मा ‘अवकाश पत्र’ दिएपछि सो निर्णय विरुद्ध उनी अदालत गए । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले उनलाई दिएको ‘अवकाश पत्र’ कार्यान्वयन नगर्न आदेश गरेका छन् । २०७९ पुस १३ मा अदालतको आदेशपछि उनी हाजिर हुन गएका हुन् ।

उमेर विवादबारे सर्वोच्चले आदेश गरेपछि हाजिर हुन जाँदा शाहीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘बदला’ लिन हिरासतमा राखेको आरोप छ । तर, सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले आर्थिक अनुशासनबारे प्रश्न उठेपछि शाहीलाई छानबिन गरिएको बताए । उनी भन्छन्–‘अलि पहिले देखी नै उहाँमाथि आन्तरिक छानबिन भइरहेको थियो, छानबिन सक्नुपर्ने भएको हुनाले अहिले उहाँलाई जङ्गी अड्डामै राखिएको छ ।’

अहिले उनलाई भद्रकाली स्थित सैनिक प्रहरी गणमा थुनामा राखिएको छ । पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापा निकट अधिकृत हुन् प्रेम शाही । थापा सेनापति हुँदा उनको सैनिक सहायक थिए शाही । प्रभुराम शर्माले त्यस बेला सैनिक अपरेसन महाशाखा र सम्भाररथी विभागको कमाण्ड गरे । 

एक जना उच्च सैनिक अधिकारीका अनुसार शर्मा र शाहीको बिचमा त्यस बेला देखी नै सम्बन्ध राम्रो थिएन । आफू सेनापति भएपछि शर्माले शाहीमाथि रिसिइवी साँधेर थुनेको ती उच्च अधिकारीले रातोपाटीसँग दाबी गरे । 

पारिवारिका स्रोतका अनुसार शाहीलाई पक्राउ पुर्जी दिइएको छैन । पक्राउ पुर्जी नदिई सैनिक हिरासतमा राख्न नमिल्ने बताउँछन्, अधिवक्ता माधव कुमार बस्नेत ।

नेपाली सेनाले शाहीलाई आर्थिक अनुशासनको प्रश्न उठाएको छ । तर, कहिले र कहाँ भ्रष्टाचार गरे भन्नेबारे खुलाएको छैन । उमेर हदको कारण अवकाश पत्र थमाएपछि शाही सर्वोच्च गएपछि सेनापति शर्मा उनीसँग थप रुष्ट भए । अनि, सैनिक कानुनको डन्डा लगाएर उनले थुनामा राख्न आदेश गरेका छन् ।  

उप रथी शाहीको एक पारिवारिक सदस्यका अनुसार सेनाले उनलाई ‘चार्ज सिट’ फारम भराएको छैन । सैनिक ऐन–०६३ अनुसार विशिष्ट श्रेणीका अधिकृतलाई ब्यारेकमा राख्नुपर्ने भए पनि उनलाई थुनामा राखिएको छ । ‘उपरथीले पाउने सुविधा दिएर उहाँलाई ब्यारेकमा राख्नुपर्छ’ एक जना उच्च सैनिक अधिकारी भन्छन्–‘आरोप प्रमाणित नहुँदै उहाँलाई जघन्य अपराधीलाई जसरी थुनेर राखिएको छ ।’ 

जघन्य अपराधमा संलग्न सैनिक बाहेक अरूलाई भेटघाट खुला हुने भए पनि सेनाले शाहीको मोबाइल नियन्त्रणमा लिएर भेटघाटमा बन्देज गरेको सैनिक अधिकारीहरू बताउँछन् । 

पारिवारिका स्रोतका अनुसार शाहीलाई पक्राउ पुर्जी दिइएको छैन । पक्राउ पुर्जी नदिई सैनिक हिरासतमा राख्न नमिल्ने बताउँछन्, अधिवक्ता माधव कुमार बस्नेत । रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने–‘सेनाले आर्थिक कारण भनेको छ, पक्राउ पुर्जी नदिई थुनामा राख्नचाहिँ मिल्दैन ।’ 

उमेर विवाद 

उप रथी दर्जामा ५७ वर्ष उमेरको हद छ । उमेर हद पुरा भएको भनेर जङ्गी अड्डाले उनलाई पुस ४ मा अवकाश पत्र दियो । अवकाश पत्र अनुसार पुस २० मा उनी अनिवार्य अवकाशमा जाँदै थिए । 

नियम अनुसार १५ दिनअघि बिदा बसेका शाही त्यही बिचमा आफ्नो उमेर ५७ वर्ष पुरा नभएको जिकिर सहित रिट लिएर सर्वोच्चमा गए । 

सर्वोच्चको आदेश अनुसार नेपाली सेनाले शाहीलाई हाजिर गराएको छैन । हाजिर गराउनु पर्नेमा अदालत गएको रिसमा सेनापतिले थुनेकोमा विवाद नभएको बताउँछन्, अधिवक्ता बस्नेत ।

प्रेम शाहीले २०४३ भदौ १६ मा लिएको नागरिकता अनुसार निजको जन्म मिति २०२३ पुस २२ मा भएको देखिन्छ । बुढानीलकण्ठ स्कुलले दिएको चारित्रिक प्रमाणपत्र अनुसार पनि उनको जन्म मिति २०२३ पुस २२ उल्लेख भएको छ । ०७४ चैत ३० को नेपाली सेनाको बोर्डको रायमा उनको जन्म मिति २०२३ पुस २२ लाई कायम गरेको देखिएको छ । तर, जङ्गी अड्डाले उनलाई एक वर्षअघि नै अवकाशको पत्र दिएर बिदा गर्न खोज्यो । 

सर्वोच्चले उनको उमेर विवादबारे आदेशमा भनेको छ–‘नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिको आधारभन्दा पहिला नै अवकाश दिँदा सुविधा सन्तुलनको दृष्टि र उनलाई हुनसक्ने अपूरणीय क्षति समेतलाई मध्यनजर गरी निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्म उपरथी प्रेम शाहीलाई ‘२०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नु हुने’ भनी पुस ४ मा दिएको पत्र कार्यान्वयन नगर्नु नगराउनु, निवेदकलाई यथास्थानमा काम गर्न दिनु भनी आदेश जारी गरिदिएको छ ।’ 

सर्वोच्चले १५ दिनभित्र विपक्षीहरूलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

सर्वोच्चको आदेश अनुसार नेपाली सेनाले शाहीलाई हाजिर गराएको छैन । हाजिर गराउनु पर्नेमा अदालत गएको रिसमा सेनापतिले थुनेकोमा विवाद नभएको बताउँछन्, अधिवक्ता बस्नेत । उनी भन्छन्–‘कारण त्यही हो भन्नेमा विवाद त भएन तर, अदालतको आदेश र आर्थिक मुद्दाचाहिँ फरक विषय हुन् ।’ 

Prem Shahi Aadesh 9.24 (2079) Prem Shahi Aadesh 9.24 (2079) ..

कोर्ट अफ इन्क्वाइरी

सञ्चार माध्यम र मोबाइलबाट बाहेक गरेर शाहीलाई अँध्यारो कोठामा थुनिएको उनी निकटहरूले दाबी गरेका छन् । आर्थिक आरोप छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन् । 

बुढानीलकण्ठ नगरपालिका स्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो । पारिवारिक स्रोतका अनुसार दिउँसो ३ देखी राति ९ बजेसम्म सैनिक प्रहरीले छापा मारेर महत्त्वपूर्ण कागजात र ल्यापटप लगेका छन् ।

शाहीलाई पक्राउ गरेपछि सेनामा त्रास छाएको छ । जुनसुकै बेला सैनिक अधिकारी थुनिन सक्ने भन्दै सैनिक अधिकारीहरू सजग भएका छन् । ‘अधिकृतहरूको मनोबल खस्केको छ’ एक जना पूर्व सैनिकले भने–‘बदला लिन सेनापतिले जे आरोप लगाए पनि हुँदैन नि, पेसागत सुरक्षा नै भएन ।’ 

सेनापतिको पछिल्लो निर्णयले सैनिक अधिकारीहरूको बीचमा ‘बदलाव’को भाव सिर्जना भएको अधिकारीहरू बताउँछन् । एक जना उच्च सैनिक अधिकृत भन्छन्–‘सेनाको सञ्चालन सनकमा हुनु हुँदैन ।’ 

उपरथी शाहीले सेनामा ३६ वर्ष बिताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया