आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

‘प्रियंकाले भरपुर एक्सन पनि गर्न सक्छिन् भनेर देखाउन मन छ’

भूतसँग डर होइन, बरु मानिससँग डर लाग्छ : प्रियंका कार्की
सोमबार, २५ पुस २०७९, ११ : ०६
सोमबार, २५ पुस २०७९

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले प्रेमकथा, कमेडी र हरर थ्रिलरलगायत थुप्रै जनराका फिल्म अभिनय गरेकी छन् । एक्सन र रियालटी बेसका फिल्म खेल्ने उनको धोको भने अझै अधुरो छ  ।

उनी अहिलेसम्मको अभिनय करियरबाट सन्तुष्ट छिन् । ‘म कुनै फिल्ममा सहकर्मी भएको छु त, कुनै फिल्म मैले नै बोकेकी थिएँ । कुनैमा अभिनय राम्रो थियो त कुनैमा गीत हिट थियो,’ रातोपाटीसँगको भेटमा प्रियंका भन्दै थिइन्, ‘मेरो अहिलेको जुन लोकप्रियता छ, त्यो सबै अभिनयको कारणले हो ।’ 

अब उनलाई साइक्लोजिकल थ्रिलर र एक्सन फिल्म गर्न मन छ । किनकि उनले यस्तो भूमिका अहिलेसम्म गरेकी छैनन् ।  दोस्रो एक्सन फिल्ममा थुप्रै च्यालेन्ज छ, जसको उनी फेस गर्न चाहन्छिन् । ‘बलिउडमा पनि महिला एक्सनका धेरै फिल्म छैन । त्यो इन्ट्रेस्टिङ जनरा हो । प्रियंकाले भरपुर एक्सन पनि गर्न सक्छिन् भनेर देखाउन मन छ,’ उनले भनिन् ।

स्क्रिप्ट लेख्दै 

प्रियंकाको हातमा यतिबेला ‘मेरो डान्स युनिभर्स’ र ‘मुन्द्रे कमेडी क्लब’ लगायत केही प्रोजेक्ट छन् । केही अगाडि मात्र उनले रामबाबु गुरुङ निर्देशित फिल्मको काम सकाएकी हुन् । जीतु नेपालको कमेडी शो ‘मुन्द्रे कमेडी क्लब’ भने उनी अध्यक्षको रूपमा देखिँदैछिन् । यसबाहेक उनी अफर आएका केही फिल्मका स्क्रिप्ट अध्ययन र आफै फिल्मको स्क्रिप्ट लेखनमा समेत व्यस्त छिन् ।

प्रियंकाले पनि आफूले अभिनय गरेको अधिकांश फिल्मका स्क्रिप्ट कमजोर पाएकी छन् । जुन रियल लाइफमा मेल खाने खालको हुँदैन । उनी फिल्म लार्जर देन लाइफमा र रियालटी बेसमा हुनुपर्ने बताउँछिन् ।

‘अहिलेसम्म मैले धेरै फिल्म अभिनय गरेँ । तर मन लागेको फिल्म गर्न अझै बाँकी छ,’ उनले अगाडि भनिन्, ‘अहिलेसम्म कलाकारको रूपमा मलाई जस्तो रोल अफर भयो, त्यस्तै त्यस्तै अभिनय गरे ।’ त्यसैले, आफूलाई मन लागेको फिल्म अभिनय तथा निर्माणका लागि प्रोडक्सन हाउस खोलेर स्क्रिप्ट लेख्न थालेको उनले सुनाइन् । 

थपिन्, ‘कोरोनाको समय एउटा सर्ट फिल्म बनाएको थिएँ । त्यो विदेशका विभिन्न इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि छनौट भयो । अहिले एउटा फिल्म लेखिरहेको छु । यो आफ्नै प्रोडक्सन हाउस मार्फत कसैसँग सहकार्य गरेर बनाउँछु ।’ 

प्रियंका रियालिस्टिक फिल्म लेख्न चाहन्छिन्, जुन क्यारेक्टर अडियन्सका लागि रियल पात्र नलागोस् र अडियन्सले फिल्ममा हेर्दा पत्याउन पनि सकुन् । अहिले फिल्ममा क्यारेक्टर बढाई चढाई देखाउने चलन छ । इन्ट्री दमदार र स्लो मोसन गरेर पात्र स्थापित गर्न खोजिन्छ । ‘मेरो फिल्ममा जे हुन्छ, रियालिस्टिक हुन्छ,’ उनले सुनाइन् । 

नेपाली फिल्मको कमजोरी भनेकै लेखन हो । धेरैले यही धारणा राख्छन् । प्रियंकाले पनि आफूले अभिनय गरेको अधिकांश फिल्मका स्क्रिप्ट कमजोर पाएकी छन् । जुन रियल लाइफमा मेल खाने खालको हुँदैन । उनी फिल्म लार्जर देन लाइफमा र रियालटी बेसमा हुनुपर्ने बताउँछिन् ।

priyanka karki

गर्भवतीको त्यो समय

प्रियंकाले ‘माला’, ‘आवरण’ र ‘चीँ मुसी ची’ँ गरेर तीनवटा हरर फिल्ममा पनि अभिनय गरेकी छन् । हरर थ्रिलर जनराका काम गर्दाको अनुभव उनका लागि विशेष छ । त्यसैले उनी ‘भूत’सँग डर नलाग्ने बरु मानिससँग डर लाग्ने बताउँछिन् ।

‘वास्तविक जीवनमा मेरो कहीँकतै भूतसँग इन्काउन्टर भयो भने म डराउँदिनँ । किनकि मैले कुनै गल्ती नगरी यतिकै त्यसले हानी पुर्‍याउँदैन होला । सुन्दा हाँसो लाग्ला तर मलाई भूतभन्दा मानिससँग डर लाग्छ,’ प्रियंकाले भनिन् ।

फिल्मको सुटिङपछि उनले सपनामा पनि २–३ पटक झुन्डिएको मान्छे देखेकी रहिछन् । आफैँ भूत हुनुपर्ने र घाम नदेखिने जङ्गलमा बसेर फिल्म गर्नु परेकोले पनि त्यो असर भएको उनको बुझाइ छ । 

प्रियंका अभिनित पछिल्लो हरर फिल्म ‘चीँ मुसी चीँ’ शुक्रबारबाट देशभर रिलिज भएको छ । यस अघिका हरर भन्दा यो फिल्म भिन्न छ । किनभने यस अगाडिको फिल्ममा उनी आफै भूत बनेकी थिइन् । ‘चीँ मुसी चीँ’मा भने भूतबाट डराउने पात्रको रूपमा उनी देखिएकी छिन् ।

‘चीँ मुसी चीँ’ साइक्लोजिकल हरर जनरामा आधारित फिल्म हो । बाहिरी पावरले फरक परिवारमा पार्ने सफरको असर फिल्ममा देखाउन खोजिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा कसरी हरर जनरा चलिरहेको छ । त्यतातिर पनि फोकस भएर यो फिल्म निर्माण भएको छ ।’ दर्शकको रुचिअनुसार थोरै प्रेमकथा, थोरै पारिवारिक विषयमा हरर मिसाएर ‘चीँ मुसी चीँ’ बनेको उनी बताउँछिन् ।

‘‘चीँ मुसी चीँ’ मेरो लागि च्यालेन्जिङ थियो । त्यो समय म गर्भवती थिएँ । दौडिने, लड्ने र चिच्याउने रोल गर्नुपर्दा फिजिकिल्ली च्यालेन्जिङ थियो,’ उनले भनिन्, ‘अभिनयको हिसावले धेरै रमाइलो अनुभव रह्यो ।’ 

फिल्मको स्क्रिप्ट राम्रो भएकोले गर्भवती भएपनि फिल्म गर्न आफू मन्जुर भएको बताएकी उनले ‘चीँ मुसी चीँ’ मा २/२ मिनेटमा भूत आउने हरर नभएको जानकारी दिइन् । कथा, कलाकार, निर्माण टिम र ब्याकग्राउण्ड म्युजिकले गर्दा दर्शकले फिल्म मन पराउनेमा आशावादी छिन् उनी ।

अनि गरेँ भूतको अनुभव 

प्रियंका आफूले अभिनय गरेका तीन हरर फिल्ममध्ये उनले विशेष सम्झने ‘माला’ फिल्म हो । किनभने ‘माला’मा भूत बन्नुपर्ने भएपछि त्यो भूमिका कसरी गर्ने भन्ने निकै चुनौती थियो । भूत कसरी बन्ने र कहाँ गएर सिक्ने भन्ने सम्भावना केही थिएन । 

‘संयोग कस्तो रह्यो भने त्यो फिल्ममा म जुन ठाउँमा झुन्डिनुपर्ने दृश्य थियो, त्यो रूखमा धेरै अगाडि एक महिला झुन्डिएर आत्महत्या गरेकी रहिछिन् । सुटिङ हेर्न आएका स्थानीय महिलाले भनेपछि म तर्सिएँ,’ प्रियंका थप्छिन्, ‘त्यो फिल्मले मलाई एक्दमै हान्यो । सुटिङ सकेर घर फर्किएको २ महिनासम्म दिमाग ह्याङ थियो । म कोहीसँग बोल्दिनथे ।’ 

फिल्मको सुटिङपछि उनले सपनामा पनि २–३ पटक झुन्डिएको मान्छे देखेकी रहिछन् । आफैँ भूत हुनुपर्ने र घाम नदेखिने जङ्गलमा बसेर फिल्म गर्नु परेकोले पनि त्यो असर भएको उनको बुझाइ छ । 

उनलाई भूत छ भन्ने कुराको विश्वास भने लाग्छ । तर फिल्ममा देखाउने जस्तो ‘हे’ भन्दै जो आए पनि मारिदिन्छु’ भन्ने खालको हुन्छ भन्ने उनलाई लाग्दैन ।

‘म २ वर्ष होस्टल बसेको छु । होस्टलकै बेला भूत छ भन्ने अनुभव दुई पटक भयो । होस्टलमा राति बच्चाहरू दौडिएको, रोएको आवाज आउँथ्यो । त्यो आवाज म र मेरा साथीहरू सबैले सुन्थ्यौँ’, प्रियंकाले ती दिनमा फर्किइन्, ‘म सुत्ने कोठामा डबल डेक बेड थियो । बेडको माथि म सुत्थेँ । होस्टेलका सबै परीक्षाको तयारी गरिरहेका थियौँ । मेरो छेउमा झ्याल थियो । त्यहाँबाट तल हेर्दा तल ८/९ वटा ट्वाइलेट बाथरुम देखिन्थ्यो । त्यहाँको कल आफैँ चल्थ्यो र पानी आउँथ्यो । होस्टलको छतमा राति मान्छे कुदेको, कुटेको आवाज आउँथ्यो ।’ 

तर त्यहाँ गएर हेर्ने आँट कसैले नगरेको र पछि बुझ्दा होस्टल भएको ठाउँमा वर्षौँ अघि एक बालिकालाई गाडिएको थाहा पाएको उनले सुनाइन् । भनिन् ‘त्यही भएर तर्साउँदो रहेछ कि ?’

हररका दर्शक थोरै

फिल्म मनोरञ्जनको एउटा सशक्त माध्यम हो । धेरैले फिल्म मनोरञ्जनका लागि नै हेर्छन् । हरर फिल्मले मानिस तर्साउने, डराउने भएकोले यो दर्शकको रुचिमा कम पर्ने अनि हरर फिल्मको धेरै बजार नभएको प्रियंकाको बुझाइ छ ।

‘मेरी आमा आफै हरर हेर्दिन भनिरहनु भएको छ । मैले २/२ मिनेटमा भूत आउँदैन भन्दा पनि मान्नु भएन । अर्को एक साथीले पनि हरर हेर्न नसक्ने बताए,’ उनले भनिन्, ‘हररको थोरै मार्केट छ । हररले डर हटाउँछ भन्ने सन्देशसँगै मनोरञ्जन पनि दिन्छ भनेर बुझाउन सकियो भने दर्शक बढ्छन् ।’

‘चीँ मुसी चीँ’ एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । प्रिंयकाको अलावा ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतका कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।

मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन रहेको ‘चीँ मुसी चीँ’ फिल्ममा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएको छ । फिल्मका निर्माता रिञ्जु केसी र अरुण चक्रवर्ती हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप