आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुवाछूत हटाउने नायकको खोजी

सोमबार, २५ पुस २०७९, १३ : ४५
सोमबार, २५ पुस २०७९

‘को हुन् दलितहरू र तिनलाई अछुत कसरी बनाइयो’  यसबारे युट्युबमा मैले बनाएको भिडियोको लिङ्क साथीहरूलाई सामाजिक सञ्जालमा सेयर गरेको थिएँ ।  त्यो लिङ्क मेरो गाउँको र सँगै पढेको दलित साथीले हेरेपछि प्रतिक्रिया दियो, ‘तिमी यति पढेको, बुझेको छौ । यति धेरै रिसर्च गर्छौ अनि तिमी किन म लगायत दलितको घरमा खाना खाँदैनौ ?’ 

अर्को मेसेजमा उसले थप्यो, ‘तिम्रो बुवा आमाले छुवाछूत गर्नु त ठिकै होला तर तिमी जस्तो नयाँ पुस्ताले पनि यस्तो गर्दा नराम्रो लाग्छ ।’ उसको मेसेज मैले ‘सिन’ गरे तर रिप्लाई दिन मसँग कुनै शब्द थिएन । त्यही जवाफस्वरुप यो लेख जन्मियो ।

म आफूलाई प्रगतिशील र विद्रोही चेत भएको भन्ठान्छु । मलाई छुवाछूतको विषयले धेरै नै छुन्छ । आफैले छुवाछूत हटाउन पहल गरेको र त्यसको देशभर चर्चा भएको स्वर्णिम कल्पना गर्छु । छुवाछूत अन्त्य गर्नको लागि के गर्न सकिएला भनेर दिमागमा धेरै समय सम्म घोत्लिन्छु । यहाँसम्म कि विद्रोह गरेर दलित प्रेमिकासँग विवाह गरेको पनि कल्पना गर्छु । तर कल्पना र आदर्शमा म जति विद्रोही छु, वास्तविक रूपमा त्यति नै कायर र रूढिवादी । 

म बाहिर दलितसङै खाना खान्छु, त्यसले मलाई कुनै फरक पर्दैन । आफ्नो गाउँ भन्दा बाहिर म एकदम विद्रोही हुन्छु । दलितकोमा खान, उनीहरूको घरभित्र पस्न कुनै हिचकिचाहट हुँदैन । 

तर जब म गाउँ आउँछु, त्यो विद्रोही नकाब उत्रिन्छ र मेरो वास्तविक रूप उदाङ्गो हुन्छ । दलितको घरभित्र खाने त परको कुरा आफ्नै साथीहरू सँगसँगै खान पनि मलाई हिचकिचाहट हुन्छ । दलित साथीहरूलाई आफ्नो घरभित्र लैजान सक्दिन । चिया दिँदा उनीहरूको हातमा नदिएर भुईँमा राख्दिन्छु ।  उनीहरुले  खाएको भाडा उनीहरूलाई नै माझ्न लगाउँछु । र, पखाल्दा अलग्गै पानी खनाइदिन्छु । उनीहरुले माझेका भाडा चोखाउन खोज्छु ।

आखिर गाउँमा हुँदा एउटा र गाउँ बाहिर अर्को खाले मेरो रूप किन देखा पर्छ त ?

हामीभन्दा अघिल्लो पुस्तामा निश्चय पनि भित्रैदेखि दलितहरूले छोएको खाए, घरभित्र गए कुल रिसाउँछन् भन्ने दिमागमा हजारौँ वर्षदेखि जरा गाडेर बसेको छ । त्यसैले, हाम्रो पुस्ता बाहिर छुवाछूत गर्दैनन् । तर घरमा आएपछि छुवाछूत गर्न बाध्य हुन्छन् । परिवारसँग विद्रोह गर्न सक्तैनन्, किन ?

किन कोही डाक्टरै भए पनि उसले धामी झाँक्रीमा विश्वास गर्छ त ? कोही शिक्षित महिला महिनावारी हुँदा किन मन्दिर जान डराउँछिन् ? बिरालोले बाटो काट्दै गर्दा अगाडि बढेका खुट्टा किन टक्क अडिन्छन् ? जतिसुकै नास्तिक छु भने पनि किन दुःख पर्दा भगवान्को याद आउँछ ? महिलावादी भए पनि किन समाजले मलाई जोइटिङ्ग्रे भन्ला कि भन्ने डरले सताउँछ त ? 

किनकि हजारौँ वर्षदेखि दिमागमा रुढी यसरी जरा गाडेर बसेको छ कि त्यसलाई सानोतिनो शिक्षा र सचेतनाको कैँचीले काट्न सकिन्न । छुवाछूतको विषयमा पनि हामी भन्दा अघिल्लो पुस्तामा त्यो जरा फिजारिएको छ । तर, अहिलेको नयाँ पुस्तामा केही हदसम्म त्यसले जरा गाडे पनि पुरै काट्न सकिने अवस्थामा पुगेको छैन । जब गलत हो भन्ने थाहा छ त अनि किन अहिले शिक्षित पुस्ताले पनि छुवाछूत गरिरहन्छ ? अहम् प्रश्न हो यो । 

उत्तर सामान्य छ, किनकि उनीहरूलाई डर छ परिवारको, समाजको । समाज र आफन्तबाट तिरस्कृत र बहिष्करणमा पर्ने भय छ । त्यसैले, गलत छ भन्ने थाहा हुँदाहुँदै पनि छुवाछूत गरिरहेका हुन्छन् ।

प्राध्यापक तथा लेखक  सञ्जीव उप्रेतीले एक कुराकानीमा उच्चजातका मानिसहरू दलितबाट असुरक्षित महसुस गरिरहेका छन् भनेका थिए । राज्यसत्तामा उच्च जातको हालीमुहाली हुँदा पनि केही प्रतिशत दलित आरक्षणबाट आउँदा राज्यसत्ता नै दलितले उल्टाउँछन् कि भन्ने डर छ । दलित शिक्षित र चेतनशील भएर छुवाछूत र दमनविरुद्ध आवाज उठाउँछन् भन्ने डर छ । 

अझै पनि केही ठाउँमा दलितहरूलाई छुवाछूतमा केही खुकुलो गराउँदा वा खुकुलो भएमा दलितले उच्च जातकालाई  हेप्छन् भन्ने सोचाइ  रहेको छ । यसले गर्दा पनि छुवाछूत बिस्तारै कम हुनमा पनि बाधा पुगेको मान्न सकिन्छ ।

‘म लगायत दलितको घरमा तिमी किन खाना खाँदैनौ ?’ भनेर सोध्ने साथीलाई मेरो उत्तर छ, मलाई स्कुलमा कहिल्यै पनि छुवाछूत किन हुन्छ, दलितलाई किन अछुत बनाइयो ? भनेर कहिल्यै पढाइएन । कहिलेकाहीँ निबन्ध लेख्दा काटे रगत सबैको रातै हुन्छ भन्ने कुरासम्म सिकाइयो । के यतिले मलाई मान्छे मान्छे बराबर हुन् भनेर सिकायो त ? पक्कै पनि सिकाएन । 

बेला बेलामा लक्ष्मीप्रसाद देवकोटाको कविता मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन भन्नेसम्म पढाइयो । के यति दुई लाइनको कविताले मात्र त्यो दिमागमा फिजारिएको जरालाई काट्न सक्छ त ? किन बालबालिकाको त्यो कलिलो दिमागमा छुवाछूत गलत हो, दाइजो गलत हो, अन्य अन्धविश्वास गलत हो भनेर पाठ्यक्रममा किन राखिएन ? सायद पढाउने शिक्षकहरू, उच्च जातिको बाहुल्य भएको राज्यसत्ता, पाठ्यक्रम निर्माताहरू दलितबाट थप असुरक्षित हुने भयले पो हो कि ?

यही समाजमा एउटा गैरदलितको म जस्तै तप्का छ, जसले समाजको डर, परिवन्द जे बहाना पारे पनि आफूले पनि छुवाछूत गर्छ तर उसले छुवाछूत अन्त्य भएको हेर्न चाहन्छ । कसैबाट कसै गरी छुवाछूत अन्त्य होला भनेर पर्खिरहेको छ । तर आफन्त र समाजको भय पालेर, अरूले के भन्लान् भन्ने डरले छुवाछूत हट्दैन ।

हो, म पनि यही परिवार र समाजको परिबन्दमा छु । बाहिर मलाई जातभातले प्रभाव नपारे पनि समाजमा कठिन उच्चजातको स्वभाव देखाउन खोज्छु  । बाहिर बफ र बँदेलको मासु खाए पनि गाउँमा खसीको मासु मात्र खान्छु भनेर देखाउन खोज्छु । बाहिर जनैलाई कुनै कुनामा मिल्काए पनि घरमा आउँदा जनै धारण गरेर शुद्ध बाहुन बन्न खोज्छु  । 

म कल्पना र आदर्शमा जति विद्रोही छु, यथार्थमा त्यति नै कायर र रूढिवादी । म पनि केही प्रतिशत नजानिँदो तरिकाले दलितबाट असुरक्षित महसुस गरेको पो छु कि ? 

थाहा छ गलत भएको छ, मैले गम्भीर अपराध गरिरहेको छु । जुन अपराध जसले सानोतिनो सजायको माग गर्दैन । तर, म केही आवाज उठाउन सक्दिन । म निर्दयी छु, नचाहँदा नचाहँदै पनि छुवाछूत गरिरहेको छु । म पनि यही आसमा बसिरहेको छु कि पक्कै कोही एउटा नायक आउने छ या सङ्गठित विद्रोह हुनेछ । र, एक दिन वर्षौँदेखि जरा गाडेर बसेको छुवाछूतलाई  जरैदेखि उखालेर निमिट्यान्न पार्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु पौडेल लम्साल
विष्णु पौडेल लम्साल
लेखकबाट थप