आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिमरा–काठमाडौँ हवाई उडानमा घटेको भाडा दर बुधवारबाट मात्रै लागु हुने

सोमबार, २५ पुस २०७९, १५ : १०
सोमबार, २५ पुस २०७९

बारा । हवाई यात्रामा सबैभन्दा छोटो दुरीको सिमरा–काठमाडौँ हवाई उडानमा २ सय रुपैयाँले भाडा घटेको छ । सरकारले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँले घटाएपछि सिमरा–काठमाडौँ हवाई भाडा २ सय रुपैयाँले घटेको हो । सो घटेको भाडा दर भने बुधवारदेखि मात्रै लागु हुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा आइतबार मध्यरातदेखि लागु हुने गरी आयल निगमले डिजेल, मट्टितेल,पेट्रोल र हवाई इन्धनको भाडा घटाएको थियो ।  यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । घटेको भाडा दर अनुसार अब सिमराबाट काठमाडौँको लागि  यात्रुहरूले ३ हजार ९ सय भाडा तिनुपर्नेछ  । यसअघि सोही दुरीको यात्राको लागि ४ हजार १ सय भाडा तिर्दै आएका थिए । 

यति एयरलाइन्सका कर्मचारी सुभाष सापकोटाले भने,  ‘आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने भएकाले घटेको भाडा दर आजैदेखि लागु गर्न सकिँदैन, बुधबारदेखि मात्रै लागु हुन्छ’ सुवेदीले भने । सिमरा–काठमाडौँ देशभरकै हवाई उडानमा सबैभन्दा छोटो समय १५ देखि १७ मिनेट लाग्दछ । सामान्य अवस्थामा  सिमराबाट दैनिक बुद्ध यति,गुण र श्री एयरलाइन्स कम्पनीका एक दर्जन बढी उडान हुने गर्दछ । तर पछिल्लो एक सातादेखि मौसममा देखिएको खराबीका कारण नियमित उडान भने हुन सकेको छैन । 

त्रिभुवन विमानस्थल पछिको पुरानो आन्तरिक विमानस्थलको रूपमा रहेको सिमरा विमानस्थलमा बारा,पर्सा, रौतहट,मकवानपुरबाट र भारतीय यात्रुहरूको विशेष भिड लाग्ने गर्दछ । सिमरा विमानस्थलका प्रमुख सूर्य खत्रीले भने हवाई इन्धनको मूल्य घटे पनि  सिमरा काठमाडौँ हवाई भाडादरमा कति  प्रतिशतले घट्यो भन्ने विषयमा एयरलाइन्स कम्पनीहरूबाट जानकारी नआएको बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप