आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

माधव नेपालको पार्टी पनि अब सत्ता गठबन्धनमा !

सोमबार, २५ पुस २०७९, १६ : ५८
सोमबार, २५ पुस २०७९

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् ।

बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरुले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र सांसद दिपक मनाङेले पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई समर्थन गरे । 

दुई प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिएको एकीकृत समाजवादीले केन्द्र सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने मंगलबार मात्रै निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश सांसद कृष्णप्रसाद खनालले केन्द्रको संकेत अनुसार नै गठबन्धनको सरकारलाई समर्थन गरेको बताए । 

केन्द्रको सहमतिमा सरकारलाई समर्थन गरेको हो कि आफूखुसी गर्नुभएको हो भनेर रातोपाटीले खनाललाई गरेको प्रश्नमा प्रतिप्रश्नको शैलीमा भने, ‘केन्द्रको संकेतबिना त्यो सम्भव हुन्छ र ?’

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार प्रतिनिधि सभामा बोल्ने क्रममा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेका छन् । उनले आफ्नो पार्टी राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै छिटोछिटो सरकार परिवर्तनको पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना दिँदै विगतको शिक्षाबाट पाठ सिकेर अघि बढ्न आग्रह समेत गरे । ‘ 

'भोलि त विश्वासको मत लिनु छ, यो कार्यकाल कति दिनको भन्ने आउला, तपाईँहरूको बहुमत संख्या पुगिसकेको छ । सबैले यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा पनि गरेका छन्’ नेपालको भनाइ छ । उनले भने, ‘हामी चाहादैनौं छिनछिनमा सरकारहरू परिवर्तन होस् । विगतको अनुभवहरूले हामीलाई केही शिक्षा दिएको छ, त्यो शिक्षा ग्रहण गरेर अघि बढ्न सक्नु पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप