आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता ?

बुधबार, २७ पुस २०७९, १५ : ४२
बुधबार, २७ पुस २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठ्याक्कै १७ दिन पुगेको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री छन् । मन्त्रिपरिषदमा अन्य चार मन्त्री छन् । तीन उपप्रधानमन्त्रीलाई विभागीय जिम्मेवारी दिइए पनि चार मन्त्रीलाई बिना विभागीय राखिएको छ ।

अहिले प्रधानमन्त्री प्रचण्डले १८ मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । मंगलबार प्रधानमन्त्रीले विश्वासको मत लिइसकेका छन् । अब चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गृहकार्य हुने बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच नै सहमति भइ नसकेकाले मन्त्रिपरिषद्लाई पूर्णता दिन केही समय लाग्ने स्रोत बताउँछ । तर, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले बिहीबारबाट सत्ता साझेदार दलसँग छलफल हुने र त्यसपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइन् । ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत पाउनुभयो । अब भोलिदेखि सत्ता साझेदार दलका नेताहरुसँग छलफल हुन्छ । त्यसपछि मात्रै मन्त्रिपरिषद्लै पूर्णता पाउँछ,’ दाहालले भनिन्, ‘सत्ता साझेदार दलहरुको जति छिटो सहमति हुन्छ, त्यति छिटो मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । अब दलहरुको निर्णयमा भर पर्छ ।’

ढिलोमा माघको पहिलो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाहालले बताइन् । यस्तै माओवादी केन्द्रका एक पोलिटब्यूरो सदस्यले माघ पहिलो साताभित्र मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे । ‘सरकारमा कुनकुन दल जाने भन्ने फाइनल भइसकेको छैन । कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति भएको छैन,’ ती पोलिटब्यूरो सदस्यले भने, ‘सबै सत्ता साझेदार दलहरुसँग समझदारी बनाउँदा माघ पहिलो सातासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्छ ।’

माघ ५ गते सभामुखको समेत चुनाव गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारले समय लिन सक्ने ती नेताको आकलन छ ।

कुन पार्टीको दाबी कति ?

माओवादी केन्द्रबाट हाल सरकारमा प्रधानमन्त्रीका अतिरिक्त नारायणकाजी श्रेष्ठ छन् । उनले उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रले अझै ६ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । नेकपा एमालेले १० मन्त्रालय दाबी गरेको छ । सरकारमा एमालेबाट हाल उपप्रधानमन्त्री विष्णु पौडेल सहभागी छन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । पौडेल उपप्रधानसहित अर्थ मन्त्री भइसकेपछि अब कम्तीमा ८ मन्त्रालय पाउनुपर्ने एमालेको बटम लाइन छ ।

यस्तै राप्रपाले उपप्रधानमन्त्री सहित तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । राप्रपाले सुरुमा सरकारलाई समर्थन गरेर बाहिरै बस्ने योजना बनाएको थियो । अन्त्यमा पार्टीका नेताहरुको दबाब थेग्न नसकेपछि अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जान सहमत भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान सहित गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भइसकेका छन् । सो पार्टीबाट अझै तीन मन्त्री र एक राज्य मन्त्री पाउनुपर्ने दाबी गरिँदै आएको छ । जसपाले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भएको छैन । यदि सरकारमा सहभागी हुने भएमा तीन मन्त्राललय पाउनुपर्ने उसको दाबी छ ।

जनमत पार्टीबाट अब्दुल खान मन्त्री भए पनि उनलाई अहिलेसम्म मन्त्रालय दिइएको छैन । अब अझै एक मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने सो पार्टीको अडान छ । आमजनता पार्टीका अध्यक्ष प्रभु साह प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । उनी पनि मन्त्री हुन लागिपरेका छन् ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी र नागरिक उनमुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा जाने योजना बनाएका छैनन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले ती दलहरुले एमालेलाई प्रेसरमा राख्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप