आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीडा र वेदना लुकाएर हाँस्न सक्ने त्याग, निष्ठा र समर्पणका प्रतीक मेरा बा

बिहीबार, २८ पुस २०७९, १६ : ००
बिहीबार, २८ पुस २०७९

आदरणीय बाबा, 
हार्दिक श्रद्धा सुमन !

आज म जहाँ छु जुन भूगोलमा उभिएको छु, जुन सम्मान र सुखसुविधाको उपभोग गरेर देश विदेशमा चिनिएको छु त्यो सब मेरा बाबाको सुकर्मको फल हो । बाबाले रोप्नुभएको वृक्षले प्रदान गरेको शीतल छहारी हो । त्यसैले मेरा बाबाप्रति म नतमस्तक छु । हामी सन्तान अनुगृहित छौँ । बाबालाई व्यक्त गर्ने श्रद्धाको कुनै विशेष शब्द भेटिरहेको छैन, जसलाई म भेटी भनेर चढाउन सकूँ ? यदि अर्काे जुनी हुन्छ भने काइला दमईकै छोरी हुन पाऊँ र पुनर्जन्म सम्भव भए फेरि पनि मेरा बा रूपबहादुर परियारकी छोरी नै हुन चाहन्छु । मलाई मेरो जन्म संयोगमा गर्व छ । मजस्तै हरेक मान्छेलाई आफ्नो जन्म संयोगमा गर्व हुन्छ । म मेरा बाआमाप्रति जति नतमस्तक हुन्छु, सबै मान्छे आफ्ना मातापिताप्रति श्रद्धावत हुन्छन् । हरेक सन्तानका लागि आफ्ना बाआमा आदर्श र संसारकै महान व्यक्ति लाग्छन् । मलाई पनि मेरा बा त्यस्तै आदर्श र महान लाग्छ, जसले अभाव र दुःखका बीच पनि हामीलाई हुर्काएर बढाएर, पढाएर आफ्नो कर्तव्य पालना गर्नुभयो ।

हामीलाई हुर्काउने बढाउने र पढाउने क्रममा जे गर्नु भयो, त्यो संसारकै उत्कृष्ट कार्य गर्नुभयो, जसको कसैसँग तुलना गरेर बाको सुकर्मको अवमूल्यन गर्दिनँ । यदि भगवान् छन् भने ती मेरा बाको रूपमा अवतरित भएर मलाई हेरेका छन् । मेरा बा मेरो ईश्वर हुनुहुन्छ, जसले रोपिदिएको पसिना, लगानी, श्रम या कर्तव्य जे भने पनि म जेछु जेगर्छु मलाई मान्छेहरूले जे भनेर चिन्छन्, त्यो मेरा बाको प्रतापी कार्यको कारण सम्भव भएको हो । मलाई मेरो जीवन यहाँसम्म ल्याइपुर्याउन जजसले टेको र भरोसा दिए ती सबै मेरा बाका निष्काम गरिएका कर्म फल हुन् । समाजको कथित तल्लो जात अछुत एक सीमान्तकृत दमाई गाउँघरमा काइँला दमाई भनेर बोलाइने, विष्टका लुगा सिलाएर तिनले दिने अन्नपात सरसहयोगले पेट पाल््ने अत्यन्त निम्न वर्गका मान्छे । श्रम पसिना र मेहनतमा विश्वास गर्ने श्रमजीवी यद्यपि मेरा लागि बा संसारकै महान् आदर्श प्रेरणा र ऊर्जा हुनहुन्छ । जसले मलाई समाजको विभेदसँग लड्न प्रेरणा दिनुभयो । मेराबाको स्मृतिमा श्रद्धान्जलि !

प्रिय बा, 
आफ्ना छोराछोरीलाई संसारको उज्यालो देखाउन पढाउनुपर्छ, पढेलेखेका मान्छेले मात्र केही गर्न सक्छन् भन्ने अन्तर प्रेरणा तपाईंमा नभइदिएको भए म आज नेपालको कुनै कुनामा बाख्रा चराएर गिटी, कुटेर, जातीय छुवाछूत जस्तो अपमानको विष पिएर बस्न बाध्य हुने थिए । तपाईंका अरू छोराछोरीको पनि आजको जस्तो सम्मानित र मर्यादित जीवन कर्म हुँदैनथ्यो । थाहा छ बा आज मलाई अमेरिकाका स्कुलहरूमा पढ्छन् । अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसँगै मेरो बारेमा पनि पढाइन्छ ।   विश्वको ११ सय स्कुल कलेज र विश्वविद्यालयहरूमा पढाइने कोर्स बुकमा तपाईंकी छोरीको जीवनी समेटिएको छ ।  अमेरिकी प्रकाशक संस्था म्याकग्रो हिल (सन् १८८८ स्थापना) जसको पुस्तक सशुल्क किन्ने ४३ लाखभन्दा बढी विद्यालय, विश्वविद्यालय विद्यार्थी र प्रोफेसर भएको आँकडा २०२० को सर्वेक्षणमा समेटिएको थियो । ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा मेरो कहानी पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा छ । अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि प्राध्यापनरत ‘दि राइटर्स माइन्डसेट’ डाक्टर लिसा हफ्नरले लेखेकी हुन् । म आफैँ अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयहरू हावर्ड, क्लार्क, पाइनम्यानर र बोस्टर्नलगायतमा गेस्ट लेक्चर दिन बोलाइन्छु ।

न्यू जर्सी सिटी अमेरिकाको सल्लाहकारमा समेत मलाई नियुक्त गरिएको दुई कार्यकाल भइसकेको छ । त्यसैगरी न्युजर्सीले विश्वभरीबाट छान्ने आफ्ना २७ जना कमिस्नरमध्ये मलाई पनि छानेको छ । मेरो बारेमा र नेपालको बारेमा विश्वका मान्छेहरूको जान्ने चाहना देख्दा मलाई गौरव लाग्छ । मलाई मेरो जन्मभूमिप्रति गर्व लाग्छ । अगाध श्रद्धा र गर्व लाग्दा लाग्दै कता कता दुख्छ पनि ? बा, हामी मान्छे हुन् नपाएको पीडा सम्झेर मन पोल्छ । आज पनि थुप्रै मान्छे जातको कारण अछूत भनेर मारिँदा पिटिँदा, अपमानित हुँदा मलाई खपिनसक्नुहुन्छ । तीन करोड नेपालीमा झन्डै ४०, ४५ लाख मान्छे हुन् नपाएको पीडामा रोइरहँदा मेरा पनि आँशु थामिँदैनन् । मलाई पनि आफै मरेतुल्य लाग्छ । हामी बाल्यकाल हुँदा भोगेको पीडा आज यतिका वर्षपछि पनि रहेको र अरूले भोगेको सुनेर साथै काठमाडौँ सहरलगायत अन्य सहरमा समेत यो विभेद रहेको देख्दा र यदाकदा नेपालीहरू पुगेका विश्वका आधुनिक र सभ्य समाजमा पनि छुवाछूत पुगेको सुनेर कहाली लाग्छ । विश्व मानव अधिकारविरोधी यस्तो कुप्रथा जीवित राखेर हामीले हाम्रो विश्वव्यापी सान, नाम र गौरवलाई धूलिसाथ पारेका छौँ । यो गलत परम्परा संस्कृति र विभेदको जालो च्यात्नुपर्नेछ, त्यसैले तपाईंकी छोरी समता, मर्यादा, स्वतन्त्रता र जागरणको अभियानमा निरन्त छे बा ! म कतै लड्खडाएँ भने मलाई तपाईंको आध्यात्मिक आशीर्वाद चाहिन्छ । बा तपाईंका ज्वाइँ प्रदीप थापाले मेरो थर परियार वरण गरेर मलाई उत्प्रेरित गरेका छन् । उनी आफ्नो नाम प्रदीप परियार थापा लेख्छन् । जात व्यवस्थाविरुद्ध उनी सक्रिय छन् र मेरो पाइला पाइलामा उनको सहयोग, समर्थन धाप र हौसला जहिल््यै बुलन्द छ । प्रदीपले समानताको नयाँ मानक बनाएका छन बा ।  

बा तपाईं हाम्रो भगवान हो ।
तपाईंले हामीलाई पढाउनुभयो । जबकि अरू उपल्लो जात भनिने मान्छेहरूकै छोरीचेलीले पनि पढ्नै पर्छ भन्ने समाजिक चेत थिएन, छोरी जति पढे पनि अर्काको घर जाने जात र उसलाई अर्कैले पाल्छ भन्ने आम धारणा थियो ।  तर तपाईंले छोराछोरी पढाउनुपर्छ भन्ने चेतनाका कारण हामी ११ सन्तानलाई आमाको साथ लिएर पढाउनुभयो । हामी तपाईंका जीवित सन्तान जति छौँ तपाईंलाई सामाजिक आदर्श नैतिकता र व्याहारिक इमानका शिक्षालय मान्छौँ ।  दलित समुदायको भए पनि बा सामान्य पढ्न, लेख्न सक्षम हुनुहुन्थ्यो । हाम्रो गाउँ जहाँ मगर समुदायको पनि बहुल्यता छ त्यहाँका मगर दाइभाइ लाहुर अर्थात् परदेश जाने विशेषत इन्डियन आर्मी पुलिसमा भर्ती हुने र अन्यत्र पनि कामको सिलसिलामा जाने गर्थे, आज पर्यन्त गर्छन् । लाहुर जानेहरूले आफ्ना घरपरिवार र श्रीमतीहरूलाई सन्चो, बिसन्चो, खर्चपर्च आदि इत्यादिले सोधखोज गरेर चिठी पठाउँथे जसलाई पढेर सुनाइदिनु र जबाफ लेखिदिने काम तपार्इंको हुन्थ्यो, जसले गर्दा समाजमा प्रिय हुनुहुन्थ्यो । तपाईंलाई कति माया गर्थे ती भाउजूहरू । परदेश हुने दाइहरू पनि कति खुसी हुन्थे र आएको बेला तपाईंलाई कोसेली लिएर भेट्न आउँथे । ती दिनहरूका याद मलाई बेला बेलामा बेस्सरी आउँछ बा । सामाजिक काम मैले तपाईंको सक्रियता देखेर सिकेको हुँ । समाज सेवामा लाग्न उत्प्रेरित गर्ने मेरा बा मेरो सामाजिक सेवाका पहिलो गुरु र अजस्र श्रोत हुनुहुन्छ ।

गाउँमा प्रौढ कक्षा सञ्चालन गर्दा लाल्टिन बालेर हामी बाबुछोरी राति अबेरसम्म बसेर गाउँका महिलालाई पढाउने काम गथ्र्यांै । दिनभर लुगा सिलाएर मेलापात गरेर थाकेका मेरा बा थकानबिना मेरा लागि सुरक्षा गार्ड र सहकर्मी बनेर प्रौढ कक्षा चलुन्जेल बसिरहनु हुन्थ्यो ।  हामी ११ जना छोराछोरी भएको घरमा केटाकेटीलाई खुवाइ पियाइ गर्दा कसौँडी र कराहीमा भात तरकारी सकिएको हुन्थ्यो, त्यतिबेला बा आमालाई खोइ भात किन नखानु भएको भनेर सोध्दा आज खान मन छैन भनेर जबाफ दिएको सम्झनाले यो छाती भतभती पोल्छ । बा आज पनि ती दिन सम्झेर एकान्तमा आँशु झारेर दुःख बिसाउँछु । त्यस्ता अभाव र दुःखका दिन झेलेर म आज यहाँ आइपुगेको छु । आफ्ना सन्तानको खुशी र सुखका लागि अभाव र दुःखलाई पचाउने क्षमता हुन्छ बा आमासँग । प्रकृतिको नियम नै रहेछ आउनु जानु, धर्ती लोकको यात्रा बिसाएर मेरा बा अन्यत्र कतै गइसक्नु भएको पनि आज ६ वर्ष पूरा भएर सात वर्ष लाग्यो तर बाको याद नआएको कुनै दिन हुन्न डर लाग्छ कतै मेरा बाको आदर्श बिर्सेर कर्तव्यच्यूत बन्छु कि ? बा भौतिक रूपमा त हुनुहुन्न तर अध्यात्मिक र प्राकृतिक रूपमा यतै कतै हुनुहुन्छ भन्ने लागिरहन्छ । यदाकदा निराशाका काला बादल मडारिएका बेला मेरो बाको सम्झनाले आशाको दियो बाल्न मदत गर्छ । कहिल्यै नगल्ने हातगोडा थिए मेरा बाका टुकीको धिपधिपे उज्यालोमा खुटखुट कल चलाएर लुगा सिएको र सियोको टुप्पोले घोचेर औँलाभरी रगत आएको दृश्यले मन कुँडिन्छ बेस्सरी । प्रकृतिको शीतल छहारी र सङ्घर्ष दुःख र कष्टका पर्याय मेरा बा । पीडा र दुःखसँग कहिल्यै डराउनुभएन । संसारमा निःस्वार्थ मायाका कोही उदाहरण छन् भने ती मातापिता मात्रै हुन् । मातापिताको निःस्वार्थ माया जसले लामो समयसम्म पाउछन् । ती भाग्यमानी सन्तान हुन् । पीडा भुल्ने औषधि मलम पट्टी र पेनकिलर हो बाउआमाको न्यानो काख । हरेक छोराछोरीलाई धर्ती फाटिने र आकाश च्यातिएझैँ लाग्ने असहज स्थितिमा आफ्ना बा आमाको अभिभावकत्वको छाता प्यारो लाग्छ । बाको न्यानो काखबाट अलग भए पनि अहिले बा र आमाको अभिभावकत्व आमाले दिनु भएको छ । हामी कृत्य कृत्य छौ । 

आदरणीय बाबा
जन्म मृत्यु र सम्बन्धको हिसाब किताब प्रारब्ध लेख्नेले नै तय गरिसकेको हुन्छ भन्ने विश्वास छ । यदि अर्काे जुनी हुन्छ भने मेरा बाकै छोरीका रूपमा पुन जन्मन पाऊ ।  मलाई मेरा बाको त्यही न्यानो काखमा दुई मिनेट मात्रै निदाउन पाए पनि संसार जित्ने सपना देख्ने थिए झैँ लाग्छ ।  सन्तानको खुशी र रहरका लागि आफ्नै सबै पीडा  दुःख र वेदना लुकाएर, दबाएर हाँसीहाँसी बस्न सक्ने त्याग निष्ठा र समर्पणका प्रतीक हुन् बा । मेरा बाको काँध चढ्न पाए फेरि सगरमाथा भन्दा अग्लो हुनेथिए । अब बा हुनहुन्न बा नभए पनि सम्झनामा बा सधैँ आउनुहुन्छ । सपनामा बा देखिनुहुन्छ ।  आशीर्वाद दिनुहुन्छ । मेरा बालाई थाहा थियो आफू दलित हुनुको कारण तसर्थ आफ्ना सन्तान पढाएर यो निकृष्ट जात संरचनाविरुद्ध लड्न जीवन पर्यन्त प्रेरित गर्नुभयो ।  म जे छु मेरै बाको कारण छु । त्यसमा थुप्रै संयोगले सहयोगी दाताहरूको हात, साथ र आशीर्वाद छ । बा यो धर्तीमा हुनुहुन्न तर बाको सपना हामीले पूरा गर्ने प्रयत्न गरेका छौँ । आमा आज हामी सबैको आर्थिक, सामाजिक उन्नति र प्रगतिले फुरुङ्ग हुनुहुन्छ । हामी जीवित आठ जना छोराछोरीको समाजमा धेरथोर इज्जत पनि छ । आर्थिक हैसियत पनि ठिकै बनेको छ । तिमीहरूका बाले आज यो सम्पूर्ण चिज देख्न पाउनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला भनेर आमा बालाई स्मरण गरिरहनुहुन्छ । हामीलाई पनि हाम्रा बा यतिबेला हामीसँगै हुनुभएको भए कति रमाइलो लाग्थ्यो ? बाका दुःखका दिन सकिएको देखाउन सकेनौँ खिन्न छु ।  संसारमा सबैलाई त्यस्तो सौभाग्य कहाँ मिल्दो रहेछ र ? सपना साकार हुँदासँगै बसेर सेलिब्रेट गर्ने ? अफसोच ! मैले बाले देखेको सम्पूर्ण सपना उहाँको जीवनकालमा देखाउन सकिनँ । हाम्रा बा जहाँ हुनुहुन्छ त्यही बसेर हामीलाई आशीर्वाद दिइरहनुहुनेछ । मिस यु बा ! निरन्तरको सङ्घर्ष, दुःख र कठिनाइ सहँदै आज म अमेरिकामा छु । अमेरिकामा बसेर मेरो देशलाई अमेरिकासँग जोड्न पाएको छु । सामाजिक काम गर्न पाएको छु । अमेरिकामा नेपालको झण्डा फहराउन सहजीकरण गरेको छु । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका र अमेरिकाको न्युजर्सी सिटीलाई भगिनी सम्बन्ध गाँसिदिएको छु । देश विदेशमा सामाजिक सेवासँग अनुबन्धित भएको छु । यो सब मेरा बाको कारण सम्भव भएको हो । मेरा सामाजिक कामका तमाम श्रेयको पहिलो हकदार मेरा बा । बा तपाईं कि छोरी विष्णुले सामाजिक न्यायको क्षेत्रमा काम गरेबापत पाएका यी सम्मान पुरस्कार र पदवी हेर्न एक पटक आउनुस् न बा । म कति खुसी हुन्थेँ । मैले थुप्रै पुरस्कारहरू अमेरिकन पूर्वराष्ट्रपतिले पाउने प्रेसिडेन्ट कप अवार्ड पाएकी छु । मेरो नाममा अमेरिकाले २०१५ सेप्टेम्बरमा २७ विष्णु माया डे घोषणा गरेको थियो । मैले देश र विदेशमा ४० भन्दा बढी मान, पदक र गौरवशाली सम्मान पाएकी छु । गोरखाकी एक सामान्य गरिब परिवारकी छोरीको नाममा प्राप्त उपलब्धि हेर्न एक पटक फर्केर आउनुस् न बा । 

प्लिज भगवान्,
म मेरा बालाई यो सब समर्पण गर्न चाहन्छु । बा तपार्इं हुँदै स्थापना गरेको मेरो संस्था एडवानमार्फत थुप्रै सामाजिक काम भएको छ । म त्यो सुनाउँछु है बा । २०७२ को भूकम्प पीडित गोरखावासीलाई चार सय घर निर्माण गर्न सहयोग जुटाए । महिलाहरू आत्मनिर्भर बनेका छन् । पच्चीस हजारभन्दा बढी विद्यार्थीहरूलाई स्कुलदेखि कलेज र विश्वविद्यालयसम्म पढ्नका लागि छात्रवृत्ति मिलाइदिएको छु । देशभरका नौ जिल्लामा एक सय एघार महिला समूहमा ६० हजार महिला संलग्न छन् । तीमध्ये कोही उद्यमी भएका छन्, कोही चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय रूपमा लागेका छन्, कोही जातीय छुवाछुतविरुद्ध छन् । कोही सामाजिक विकृतिविरुद्ध सचेतता फैलाउँदै हिँडेका छन् । बा तपाईंकी छोरी आफ्नो स्वार्थमा छैन, आम मान्छेको सामूहिक स्वार्थका लागि देश विदेशमा सक्रिय छ । अमेरिकामा पनि घरेलु हिंसा र यौन हिंसामा परेका मान्छेका लागि कन्सल्टेसन गरेर कानुनी निरूपण गर्न लागेकी छु । कोरोनाको समयमा पनि धेरैलाई सहयोग सेवा र उपचारका लागि सहजीकरण गरेर आफ्नो कर्तव्य निर्वाह गरेर बसेको छु । अप्ठ्यारोमा विष्णुले सहयोग गर्छे भनेर सम्झने मान्छे धेरै छन् । बा मलाई पनि तपाईंलाई जस्तै कसैलाई सहयोग गर्न पाएको दिन असाध्यै खुसी लाग्छ । 
बा तपाईलाई थाहा छ ? 

म तपाईंको जन्म जन्मान्तरको हिसाबकिताब हुँ ।  मुटुभन्दा प्यारो लाग्छ मलाई मेरो बाको पाइतालाले टेकेको धुलो । तसर्थ मैले जहिल्यै जतनले राखेको छु अमेरिकामा पनि मेरो बाले टेकेको माटो । पवित्र चन्दन हो त्यो माटो जहाँ मेरो साल गाडिएको थियो । नेपाल आउँदा मेरो बाबाले हामीलाई हुर्काएको पिँढी र दलान छोएर बस्न मन पराउँछु । कुनै न कुनै स्वरूप र आकृतिमा मेरा बा जीवितै हुनुहुन्छ भन्ने भान परिरहन्छ । तसर्थ पनि बाप्रति कृतज्ञ बनिरहन्छु । आज मैले मेरो बाबा रूपबहादुर परियारको नाममा म आफैले ८ कक्षासम्म अध्ययन गरेको लखनथापा गाउँपालिकास्थित सिंजाली माध्यमिक विद्यालय गोरखामा रू. एक लाख पाँच हजार रुयियाँको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष त्यसबाट प्राप्त व्याजले तीन जना गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको कुरा भन्न पाउँदा खुसी छु । यतिबेला बासँगै हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ? बाको खुसीको हाँसो हेर्न पाइएन तर बा जहाँ भए पनि पक्कै मुस्कुराउँदै हुनुहुन्छ । आशीर्वर्चन बोलिरहनुभएको छ । 

मेरो बाको जीवित अस्तित्व म (विष्णु), आज पौष २८ हजुरको सातौँ पुण्यतिथिमा बालाई  हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै स्मरण गर्दछु । 
उही तपाईंकी छोरी
विष्णु 

न्युजर्सी सिटी, अमेरिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. विष्णुमाया परियार
डा. विष्णुमाया परियार
लेखकबाट थप