आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

सेयर बजारमा ४१ अंकको गिरावट, साढे ५ अर्बको कारोबार

बिहीबार, २८ पुस २०७९, १६ : ०५
बिहीबार, २८ पुस २०७९

काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कको गिरावट आएको छ । कारोबार समयमा बढे पनि अन्तिम समयसम्ममा उच्च अङ्कको गिरावटसँगै नेप्से बन्द भएको हो । एकै दिनमा १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने साढे ५ अर्ब हाराहारीको छ । आज १ करोड ४४ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस क्रममा जम्मा २१ वटा कम्पनीको सेयर बढ्दा १८४ कम्पनीको सेयर घटेको छ ।

पछिल्लो समय निरन्तर बढेको सेयर बजारमा नाफा बुक गर्न चाहने लगानीकर्ता बढ्दा बजार घटेको हो । आज पनि कारोबारको सुरुवाती समयमा बजार उच्च अङ्कले बढ्ने छाँट देखाएकोमा अन्तिम समयमा बेच्ने लगानीकर्ताहरूको चाप बढ्दा घटेको हो । यसअघि, नयाँ सरकार गठन भएसँगै १८ सय आसपास रुमल्लिइरहेको सेयर बजारले २२ सय अङ्क पार गरेको थियो ।

यस्तै, हिजो बुधवार चयन भएको बैंकर्स संघको नयाँ नेतृत्वले ब्याजदर घटाउने निर्णय गरेसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो । तर, पुस मसान्तको चाप र बेच्न चाहने लगानीकर्ताको चापका कारण बजारले उच्च अङ्क गुमाएको हो । परिसूचक घटे पनि ४ वटा कम्पनीको सेयर मूल्य उच्च अङ्कले बढेको छ । कुमारी धन वृद्धि योजना, सिंगटी हाइड्रो इर्नजी, बाराही हाइड्रोपावर र एनआईबीएस समृद्धि फण्ड– २ को सेयर मूल्य उच्च अङ्कले बढेको हो । यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.१८ प्रतिशतले घटेको छ । आज नेप्सेमा शिवम सिमेन्टको सेयर २२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप