आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युट्युबरको आतंक बढेको भन्दै मेनपावर व्यवसायीले बनाए प्रतिवाद समूह

सोमबार, ०२ माघ २०७९, १४ : १८
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीमाथि युट्युबरहरूले आतंक मच्चाएको भन्दै उनीहरूले प्रतिवाद समूह नै गठन गरेका छन् । क्यामेरासहित आएर व्यवसायीलाई दुःख दिने गरेको भन्दै उनीहरूले त्यसको प्रतिवाद गर्न टोली नै बनाएका हुन् ।  नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले युट्युबरको आतंकविरुद्ध लड्न टोली गठन गरेको हो ।  

भीष्म सिवाकोटी, दलवीर भण्डारी, राधा सिग्देल (किरण), सरिता घले, लगायतको टिम बनाइएको हो । हाललाई १५ सदस्य रहेको उक्त टिमलाई आवश्यकताको आधारमा विस्तार गरिने मञ्चले जनाएको छ ।  उक्त टिमले व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने, गाली बेइज्जती गर्नेहका विरुद्ध तत्काल हस्तक्षेप गरेर उनीहका विरुद्धमा प्रतिवाद गर्ने मञ्चले जनाएको छ । 

अन्य राजनीतिक दल निकटका व्यवसायी संगठनहरूले समेत युट्युबरको आतंक बढ्दो क्रममा रहेको भन्दै त्यसको प्रतिबाद गर्दै जाने बताएका छन् । नेकपा माओवादी केन्द्र निकटको नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाली कांग्रेस निकट एसोसिएसन, नेकपा एकीकृत समाजवादी निकट एकीकृत संगठन लगायतका व्यवसायी संगठनले युट्युबरको आतंक बढ्दो क्रममा रहेको बताएका छन् । तर, अरू व्यवसायी संगठनहरूले भने टोली नै गठन गरेका छैनन् । 

‘युट्युबरको आतंक त धेरै छ । तर, हामीले टोली नै गरेका छैनौं । टोली नै गठन गरेर अगाडि बढ्यो भने त्यसले मुडभेडको अवस्था निम्त्याउन सक्छ । आफ्ना व्यवसायीमाथि कुनै प्रकारको समस्या नआओस् भनेर हामी सजग हुन्छौं ।’ नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिदोङले भने । 
व्यवसायीको तर्फबाट कमीकमजोरी भएको खण्डमा कानून अनुसार अगाडि बढ्नुपर्नेमा युट्युबरहरू आएर निकै नै सास्ती दिने गरेको उनको भनाई छ । 

अन्य व्यवसायी संगठनहरूले पनि आफ्ना व्यवसायीमाथि युट्युबरको आतंक बढेको भन्दै त्यसको प्रतिबादमा उत्रिने बताएका छन् । उनीहरूले त्यसरी समूह नै गठन गरिसकेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप