आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ : महासचिव पोखरेल

सोमबार, ०२ माघ २०७९, १७ : २५
सोमबार, ०२ माघ २०७९

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् ।  

सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका हुन् ।

उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए । उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरूको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए । 

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए ।  सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताए । उनले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे । उनले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको उल्लेख गरे । 

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरे । उनले एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको बताए । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उनको भनाई छ । एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भएपनि ती कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको उनले बताए ।  

उनले मुलुकमा धेरै राजनीतिक दलहरू हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप