आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेल र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटवार्ता

मङ्गलबार, ०३ माघ २०७९, १९ : ५७
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग मंगलबार भेटवार्ता गरेको छ । सो क्रममा लामो समयदेखि आफूहरूले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरिएको स‌ंघले जनाएको छ । 

सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले गर्दै आएका लोक कल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीहरुको लगानी लगायतका विषयमा अर्थमन्त्री पौडेललाई जानकारी गराइन् । 

विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानुनी र नीतिगत कठिनाइका कारण समस्या परेकोले त्यस्ता कठिनाइ हटाउन कार्यकारी अध्यक्ष थापाले संघको तर्फबाट अर्थमन्त्री पौडेललाई आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन नेपालमा लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष अनुरोध गरिन् ।

यस्तै, संघका अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।  अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करिब १० अर्ब बराबरको एन।आर।एन नेपाल डेभलपमेण्ट फण्ड कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानुनी बाधा व्यवधानलाई हटाउन अर्थमन्त्री समक्ष आग्रह गरे ।   

यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न समेत अध्यक्ष केसीले आग्रह गरे।  

यस्तै अर्का अध्यक्ष कुल आचार्यले  गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष आचार्यले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यवहारिक कठिनाइ समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरे ।

जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप