आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

चुनावअघि ओलीसँग मिल्नु ‘महाभुल’ भएको उपेन्द्रको निष्कर्ष

बिहीबार, ०५ माघ २०७९, १६ : ०९
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाडेर एमालेको साथमा गएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट बिच्किएका छन् । जसपा अध्यक्ष यादव पुनः ओली इतरको गठबन्धन बनाउने गृहकार्यमा लागेका छन् । उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साथमा लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटलाई तीब्रता दिइरहेका छन् ।

उनले आफ्नो पार्टीदेखि लिएर विभिन्न बैठकमा कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग चुनावी गठबन्धन गर्नु आफ्नो ठूलो भूल भएको बताउन थालेका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पटक पटक भएको छलफलमा पनि अध्यक्ष यादवले एमालेसँग गरेको चुनावी गठबन्धनले आफ्नो पार्टीलाई निकै क्षति भएको धारणा राखेका छन् ।

पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको व्यवहारबारे यादवले आफ्नो पार्टीमा ‘ब्रिफ’ गरेका छन् । तीन दिनसम्म चलेको संसदीय दलको बैठकमा उनले राजनीतिमा एमालेका अध्यक्ष ओली अव्यावहारिक व्यक्ति रहेको र ओलीकै कारण राजनीतिक अवस्था अगाडि नबढेको टिप्पणी गरेका थिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘कांग्रेस गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको कार्य गलत भएको रियलाइज उपेन्द्र यादवले गरिरहनु भएको छ, उहाँले कांग्रेससँगको छलफल तथा हाम्रो पार्टीसँगको छलफलमा पनि सो कुरा भनिरहनु भएको छ ।’

जीवनमा थुप्रै गल्ती गरेको होला तर पछिल्लो समय कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग गठबन्धन गर्नु आफ्नोतर्फबाट ठूलो गल्ती भएको यादवले स्वीकार गरेको उनको भनाइ छ । अब अर्को लोकतान्त्रिक गठबन्धन बनाउनुपर्ने आवश्यकता महसुस गरी त्यसको पहलमा अध्यक्ष यादव क्रियाशील रहेको पाण्डेले बताए ।

एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला संसद विघटन गरेपछि कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरुका साथमा गठबन्धन बनाउन जसपाका अध्यक्ष उपेन्द्र यादवले पहल गरेका थिए । ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो ।

सो सरकारमा उपेन्द्र यादव नेतृत्वको जसपा पनि सहभागी भएको थियो । तर केहीपछि उपेन्द्र यादवले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेतिर गएपछि तत्कालीन प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गरेका थिए । यता, संघीय सरकारबाट जसपालाई हटाएपछि मधेस प्रदेशमा पनि जसपाले कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेको थियो ।

यसले कांग्रेस नेतृत्वको गठबन्धनसँग जसपाको दुरी झन् बढेको थियो । एमालेसँग चुनावी तालमेल गरेर जसपा गत मंसिर ४ को निर्वाचनमा सहभागी भयो । तर अपेक्षा गरेअनुसार चुनावमा परिणाम आएन । जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं पराजित भए । विगतको भन्दा जसपा झन् कमजोर भयो ।

एमालेसँग गठबन्धन गरेकै कारण चुनावमा जसपा कमजोर भएको टिप्पणी भयो । चुनावमा पनि विपक्षीहरुले एमालेसँग जोडेर जसपाको विरोध गरे । चुनाव सम्पन्न भएलगत्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग रहेको गठबन्धन सकिएको धारणा सार्वजनिक गरेका थिए । त्यो कुरालाई लिएर एमाले पनि दुःखी थियो । त्यसलाई मिलाउने काम सो पार्टीका संघीय परिषद्का अध्यक्ष अशोक राईले गरेका थिए । उनले एमालेसँग गरिएको गठबन्धन यथावत रहेको धारणा राखेका थिए ।

अहिले आएर फेरि जसपाका अध्यक्ष यादवले एमालेसँग गठबन्धन गरेर गल्ती गरिएछ भन्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारमा एमालेका अध्यक्ष ओली हावी भएको र गठबन्धनमा मनमौजी गरेको भन्दै जसपा अध्यक्ष यादवले टिप्पणी गर्दै आएका छन् ।

बुधबार मात्र जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग भेटेर नयाँ गठबन्धनको बारेमा छलफल गरेका छन् । सो छलफलपछि कांग्रेसले मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप