आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकीकृत समाजवादी, भोट अन्तै ? अब कारबाही हुन्छ : अध्यक्ष नेपाल

शनिबार, ०७ माघ २०७९, १७ : ५८
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन् । 

‘एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने तर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही हुन्छ’, रौतहट काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘मैले केही सुनेको छु र तथ्यहरू पनि सङ्कलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् ।’ 

गत निर्वाचनमा एकीकृत समाजवादीका केही नेताले र कार्यकर्ताले फरक पार्टीका उम्मेद्वारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको छ । कतिपयले प्रत्यक्षमा कलम चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको नेता नेपालले बताए । 

कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरू पनि भोट हाल्न पुगेका थिएनन् । त्यस्ता नेता र कार्यकर्ताको लगत सङ्कलन एकीकृत समाजवादीले गरिरहेको छ । 

शनिवार पार्टी कार्यालय आलोकनगरमा सम्पर्क मञ्चका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी देशको मुख्य राजनीतिक शक्ति भएको बताए । अब पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रूपान्तरणमा लाग्ने उनको भनाई थियो । एकीकृत समाजवादीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरू लागेको जानकारी पनि दिए ।

अध्यक्ष नेपालले पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सपना र लक्ष्यका विषयमा एउटा परिभाषा पनि सुनाउनुभएको थियो । ‘सपनाको लागि प्रयासरहित निन्द्रा चाहिन्छ, तर लक्ष्यका लागि निन्द्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप