विश्वासको मतको सकसबीच मुख्यमन्त्री रावलद्वारा प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई नेताबीच बधाई तथा शुभकामना अदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा मुख्यमन्त्रीमा बनेका रावलले पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि यति बेला काठमाडौँमा शीर्ष नेताहरूसँग भेटघाट तीव्र पारेका छन् । शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री र नागरिक उन्मुक्तिसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेको थियो ।
मुख्यतः टीकापुर घटना मुद्दाको निकास र नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको मत दिने वा नदिने सवालमा सो भेटघाट र संवाद केन्द्रित रहेको एक नेताले बताए । यस्तै टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटघाट गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत जेलबन्दीको रिहाइ नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान राख्दै आएको छ ।