एसएमई क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल
ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्न सके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताएका छन् ।
सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै ढकालले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमई क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे ।
उनले भने, ‘निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन । वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसाबमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घट्ने कुराहरू भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रूपमा काम भइरहेको छ । मन्त्रीज्यूले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरूलाई ध्यान दिनुहुनेछ ।’
ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरू विश्वस्त रहेको बताए ।