आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेम आचार्यको देहत्याग, राज्य र समाज

शुक्रबार, १३ माघ २०७९, १६ : ४१
शुक्रबार, १३ माघ २०७९

देशमै केही गर्छु भन्नेहरुलाई राज्यको संयन्त्रले अपहेलनाको दृष्टिकोणले हेर्दा प्रेम आचार्यले हालै आफ्नो ज्यान आहुति दिए । नेपाली उत्पादनले विश्व बजारसम्म पहँुच विस्तार गर्न सक्छ भनेर देशको माटोमै समृद्धिको सपना देखेर कृषि कर्म गरिरहेका आचार्यले देशको सिस्टम र यहाँको समाजको हेर्ने दृष्टिकोणमा परिर्वतन नदेखेपछि आफ्नो जीवन एक काँटी सलाई र एक लिटर पेट्रोलमा सकाइदिए ।

मृत्युपछि सहयोगको ओइरो लाग्यो तर उनले नेपाली उत्पादनको बजारीकरण गरिरहँँदा कुनै समाजिक अभियन्ताको पदवी भिरेकाहरुले उनको उत्पादनको बजारीकरणमा सहयोग गरेनन् । न त यो राज्यको संयन्त्रले नै उनलाई सहयोग गर्न सक्यो ।

नेताहरुले भाषणमा कृषि क्रान्तिका ठूला ठूला योजनाको गफ छाँटे पनि प्रेमहरुलाई यो राज्य र यहाँको समाजले बचाउन सकेन । नेपाली उत्पादनलाई विश्व बजारमा बिक्री गरेको रकम प्राप्त हुन नसक्दा यहाँका नयाँ पुराना कुनै राजनीतिक दलले संसदको रोस्टममा यसको सम्बोधनको जरुरी ठानेनन् ।

मृत्यु पछि शोक मन्तब्यको दुई चार शब्दको शब्द जालो फाल्न तिनै अगाडि देखिए । देशमै केही गर्छु भन्नेहरुलाई यो समाजको दृष्टिकोण कति हीनलाग्दो छ भन्ने कुरा प्रेमले सामाजिक सञ्जालमा लेखेका सामग्रीले पनि धेरै कुरालाई पुष्टि गरेको छ ।

नेपाली उत्पादन प्रयोगमा उत्साहजनक उपभोग भएको भए सायद यस्ता घटनाले प्रश्रय पाउने थिएन होला । सिंहदरवारदेखि मन्त्रीका क्वाटरसम्म विदेशी उत्पादनले हालिमुहाली गरिरहँदा शान भएको देशमा नेपाली उत्पादनलाई प्रचारप्रसार गर्न खाज्नु प्रेम आचार्यको गल्ती हो ? विदेशीले पठाएको उत्पादनलाई विना दोष उपभोग गरेर अरबको खाडीमा जवानी फालेको भए यो राज्य र सरकारलाई राजस्व वृद्धिको तथ्याङ्कमा एउटा भए पनि अंक थपिने थियो । यस्तो संकीर्ण सोचबाट ग्रसित देशको राज्य संयन्त्रबाट अनि कसरी पुरा होस् प्रेमहरुको सुन्दर देशको सपना ।

प्रेमले देशको हविगत देखेर आत्मदेह गरेकै दिन केन्द्रीय बैंकले जारी गरेको तथ्याङ्कमा निर्यात र आयातको कहालीलाग्दो तथ्याङ्क प्रस्तुत भएको थियो । देशलाई कृषिमार्फत् समृद्धि बनाउँछु भनेर लागेको कृषकले आत्मदेह गर्नुपर्ने अनि कृषि प्रदान देशले अरबौको कृषिजन्य सामग्री आयात गरेर राज्यको पौसा विदेश गएको यस्तो कहालीलाग्दो अवस्था देखेर यो देशमा बसिरहन नसक्ने नाम चलेकै कलाकार, पत्रकारहरुसमेत देश छाडेर विदेशमा रोजीरोटी गरिहेका छन् ।

केही समय पहिलेको कुरा हो, गाउँको बारी बाँझै भयो २–४ सय कागती लगाउन प¥यो भनेर हाम्रो पुरानो बारीतिर मेरो आमा र म गएका थियौ । हजुर बाको पसिनाले सिर्जित भूमिमा नातिले पनि केही गरौँ भन्ने मनसायले हामी बारी हेर्दै थियौ ।

त्यतिकैमा एक जना छिमेकी आमा आइपुग्नु भयो र सन्चो विसन्चोसमेत नसोधी यो छोरोलाई सधैँ गाउँघरतिरै देख्छु, विदेश गएर राम्रो कमाई गर्नु नि, भन्दै मेरो आमाको अनुहारतिर हेर्दै भन्नुभयो,‘केही विमार छ र बहिनी बाबुलाई विदेश नगइ गाउँतिरै देख्छु त ।’

मेरीे आमाले होइनको भावमा जवाफ दिए पनि उहाँलाई चित्त बुझेन र थप भन्नु भयो, ‘ज्यानमा विमार भए पनि अलि अलि पैसो दिए मिलाईदिन्छ रे । त्यो अर्यालको छोरो त्यसरी नै गएको त हो ।’

दुई चार सय कागतीका विरुवा लगाउँछु भनेर गएको मान्छे दुई चार अर्वको ढुङ्गो बोकेर फर्किएजस्तो गरी भारी मन लिएर फर्किएँ ।

तर कागतीको भूतले अझै मन सन्तोष नभएपछि छिमेकीको जग्गा भाडामा लिएर कृषि गर्ने भन्दै २० रोपनी जग्गा भाडामा लिएँ । तर त्यहाँ मान्छेले कागतीको लागि उपयुक्त ठाउँको गफ गर्न भन्दा पनि कति आउँछ अनुदान भनेर हैरानै पारे ।

राज्यले खटाएको प्राविधिकले उपयुक्त ठाउँ भनेर थालनी गरेको ब्यवसाय अन्तत अति चिसो उत्तर फर्किएको जग्गामा कागतीको उत्पादन लिन नसकिने भनेर ब्यवसायीहरुले भनेपछि कागती ब्यवसाय त्यतिमै सीमित भयो ।

२० रोपनी जग्गा अहिले पनि बाँझो चौरको रुपमा रहेको छ । यो राज्यले खटाएको सर्वज्ञानी प्राविधि, उत्पादन भन्दा अनुदानमा आँखा गाड्ने समाजका नाइकेहरु देख्दा यस्तो लाग्छ, मेरो ब्यवसाय उनीहरुको लागि बाघले मारेर छाडेको बाख्रो र स्यालहरु दाउ हेरिरहेका छन् । कति बेला बाघ जाला र मासु खाउँला भने जस्ता भौतिक नैतिक कसरी सकिन्छ असफल गराउने ठेक्का पाएका ठेकेदार जस्ता ।

यसरी ब्यावसायी बन्ने हुटहुटीले गाउँ पसेको सुरुमै हतोसाही भएर अहिले सानो जागिरे भएको छु ।

यो समाजको सोच दुई चारवटा ठूला घर भएकाहरु मात्रै मान्छे हुन्, किसान पनि मान्छे हुन र ? भने जस्तो ब्यवहारका बीच प्रेम आचार्यको संघर्ष निकै नै अतुलनीय छ ।

प्रेमको देहत्यागले यो सरकारलाई अलिकति पनि छोएको छैन । सत्ता समीकरण ठिक भइन्जेल हजारौ प्रेमहरुले देहत्याग गरे पनि सरकार तैं चुप मैं चुपको रणनीतिमै अगाडि बढ्नेमा आशंका छैन ।

गाउँमै कसैले गोलभेडा लगाएको छ भने उसको छिमेकीलाई हतार हुन्छ, कति बेला भारतीय गोलभेडा ल्याएर चटनी बनाएर खाने भन्नेमा । यसरी गाउँको उत्पादनलाई सम्मान गर्ने नसक्ने अनि राष्ट्रियताको खोक्रो भाषणमा रमाउने युवापंक्ति र यो समाज पनि दोषी छ, जिउँदो प्रेमहरु र आत्मदेह गरेका प्रेमको यो स्थिति निर्माण गर्ने ।

जबकि नेपाली युवाको पसिनाले सिर्जित नेपाली उत्पादन प्रयोग गर्दा राष्ट्रिय आम्दानीमा वृद्धि हुन्छ । र, कृषकहरुलाई पनि ब्यवसायप्रति उत्साह बढ्छ ।

नयाँ भनिएका राजनीतिक दलहरुप्रति युवाहरुको निकै अपेक्षा रहेको भए पनि उनीहरु पनि सत्तामोहमा लिप्त भएको देख्दा देश छाड्ने युवाको जमात झन बढ्दो क्रममा छ ।

प्रेमले संघर्षको बीचमै देहत्याग गरे पनि यस घटनालाई झिल्कोको रुपमा स्वीकार गर्दै यो संयन्त्रका विरुद्ध लड्न र यसलाई सुधार गर्दै अगाडि बढ्न अन्य युवाहरु हतोसाही भन्दा पनि थप आत्मबलका साथ यो लडाई जसरी पनि जित्नुपर्ने छ । यो संयन्त्रको खबरदारी जरुरी छ । नेपाली उत्पादनले उचित मुल्य पाएर खाद्यन्नमा आत्मनिर्भर भएको दिन प्रेमको आत्माले शान्ति पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश यात्री
रमेश यात्री
लेखकबाट थप