व्यवसायीहरूलाई कस्ने नीति नलिन बैंकहरुसँग गभर्नर अधिकारीको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन् ।
बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपालले काठमाडौंमा गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरूलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरूलाई कस्ने नीति नलिन आग्रह गरेका हुन् ।
उनले व्यवसायिहरुका बैंकिङ समस्यालाई कन्जुमर प्रोटेक्शनका लागि विभिन्न सुनुवाइ गर्ने गरिएको बताए । उनले कुनैपनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गरे ।
गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए । उनले ग्राहकको सुरक्षाका लागि नै बैंकले गुनासो सुन्ने व्यवस्था गरिएको बताए । उनले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भएपनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताए ।
गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताए । तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न आग्रह गरे । उनले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताए ।
गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएको भएकाले बजारमा माग घटेको पनि उल्लेख गरे ।
गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औंल्याए । उनले उपयोग तथा राजश्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागत रुपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताए । उनले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर जानुपर्ने देखिएको बताए ।
गभर्नर अधिकारीले मौद्रिक नीतिका सीमाहरू आफ्नै भएको तर सीमाभन्दा बढी आशा गर्ने गरिएको बताए । उनले अर्थतन्त्रको माग बमोजिम औजारहरू चलाइएको र अहिले केही-केही अस्थायी औजार हटाइसकिएको पनि बताए ।