आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

बुधबार, १८ माघ २०७९

आज माघ १८ गते बुधबार । यहाँ हामीले आज दिनभर रातोपाटीमा प्रकाशित शीर्ष १० समाचार प्रस्तुत गरेका छौँ :

नर्समाथि श्रमशोषण

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूमाथि कारबाही गर्ने चेतावनी दिएसँगै यसक्षेत्रमा चासो बढेको छ। गत आइतबार मन्त्री गिरीले एक कार्यक्रमका बीच नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिई काममा लगाउने निजी क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामाथि प्रमाणका आधारमा कारबाही गर्ने बताएका थिए । 

सत्ता साझेदारको खटपट सामसुम पार्ने प्रयास

जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सर्वोच्च अदालतको फैसलाअनुरूप नेपाली नागरिकता पुनः कायम गराएका रवि लामिछानेले त्यसयता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बारम्बार भेटवार्ता गरिसकेका छन् । उनको भेटवार्ताको उद्देश्य आफूलाई गृहमन्त्रीमा शपथ दिलाइयोस् भन्ने रहेको छ । तर, त्यसमा ओली केही लचक देखिए पनि प्रचण्ड भने सकारात्मक छैनन् ।  आइतबार नागरिकता कायम भएसँगै पार्टीको सभापतिमा पुनः चयन भएका लामिछानेले केन्द्रीय समितिबाटै गृहमन्त्री पार्टीले पाउनुपर्ने निर्णय गराएका थिए । 

प्रदेश १ मा मन्त्रिपरिषद्‍ले पूर्णता पाउने

प्रदेश १ सरकार गठन भएको २४ दिनसम्ममा पनि सरकारले पूर्णता पाएको छैन । गत पुस २५ गते सरकार गठन हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्रीहरू नियुक्ति गरेका थिए । त्यसको ५ दिनपछि पुनः तीन मन्त्री थप भए । माघ ६ गतेसम्म उनीहरुले कुनै मन्त्रालय पाएनन् । मुख्यमन्त्री कार्यालयका सानातिना कोठामा मन्त्रीको नेमप्लेट राखेर बस्न उनीहरू बाध्य बने । 

कस्तो राष्ट्रपति ?

सत्तारुढ दल एमालेले राष्ट्रपतिको दाबी गरिरहँदा माओवादी सशंकित अवस्थामा छ भने सरकारलाई विश्वासको मत दिएको कांग्रेसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने भएको छ । यसै सन्दर्भमा हामीले आइतबार (माघ १५ मा) विज्ञलाई सोधेका थियौँ– कस्तो राष्ट्रपति ? किन सबैको ध्यान राष्ट्रपतिमा ? प्रस्तुत छ, उनीहरूको जवाफको सम्पादित अंश :

क्यानको बोर्ड बैठक

नेपाल क्रिकेट संघ (क्यान)को पोखरामा भएको बोर्ड बैठकले विभिन्न १७ निर्णयहरु गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको संघको बोर्ड बैठकबाट सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको वर्गीकरणसम्मको निर्णय भएको हो ।

गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी

 नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।

सन्दीपबारे क्यानको अपरिपक्व निर्णय

त भदौ २३ गते बसेको नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारी बैठकले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने निर्णय गर्‍यो । जबकि बलात्कार आरोप लागेका उनी असोज २० गतेमात्रै पक्राउ परेका थिए । क्यानले सन्दीपबारेको सोही निर्णयमा पुनरावलोकन गर्दै पोखरामा बसेको बोर्ड बैठकबाट निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । तर, बहुमतको आधारमा भएको क्यानको यही निर्णय यतिबेला विवादमा परेको छ । 

चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्प

नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ ।  निगमले बुधबार जारी गरेको विज्ञप्तिमा सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको उल्लेख छ । 

जसपाको एकता कार्ड !

 जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी एकीकरणका लागि रेशम चौधरीले स्थापना गरेका नागरिक उन्मुक्ति पार्टीसँग प्रस्ताव गरेको छ । जसपा पार्टीले गठन गरेको वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठले सो प्रस्ताव गरेका हुन् । पार्टीका वरिष्ठ नेता समेत रहेका संयोजक श्रेष्ठले हिजो जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीलाई भेटेर सो प्रस्ताव गरेका थिए ।

परराष्ट्रमन्त्री पौड्यालको श्रीलंका भ्रमण

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल बिहीबार कोलम्बो जाँदै छिन् । विदेशमन्त्री एमयूएम अली सब्रिलेको निम्तोमा परराष्ट्र मन्त्री पौड्याल श्रीलंका भ्रमणमा जान लागेकी हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया