आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा धनराज गुरुङ : ‘हामी अहिलेसम्म पनि सुध्रिएनौँ, उस्तै–उस्तै छौँ’

आइतबार, २२ माघ २०७९, १४ : १६
आइतबार, २२ माघ २०७९

काठमाडौँ  । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले राजनीतिक दलहरू अझै पनि नसुध्रिएको र पहिलेकै अवस्थामा रहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गुरुङले नयाँ आएका राजनीतिक दलहरूको व्यवहार पनि पुरानाको जस्तै भएको टिप्पणी गरे । 

उनले भने– ‘नेपालीमा एउटा उखान छ, जुन जोगी आए पनि कानै चिरेको । हामीले त कान चिरेकै थियौँ नयाँहरू पनि कान चिरेर नै आएछन् कि क्या हो जस्तो भइरहेको छ । त्यसैले अहिले पनि हामी उस्तै गरिरहेका छौँ, सुध्रिएका छैनौँ उस्तै उस्तै भइरहेका छौँ । 

नेपालीमा अर्को पनि उखान छ, तिमी पनि उही ड्याङका मुला हौ नि । मलाई लागेको थियो फरक भयो यहाँ । यो संसद् धेरै फरक भयो भन्ने लागेको थियो । तर त्यो भ्रम धेरै दिन टिकेन । पुरानो मुलाको ड्याङ र नयाँ मुलाको ड्याङ मिलाएर राखिदिँदा त उही मुलाको ड्याङ बन्दो रहेछ । पटक पटक व्यवस्था बदल्यौ तर देशको अवस्था बदल्न सकेनौँ । मूल कारण हामीले भ्रष्ट पद्धतिलाई बदल्न सकेनौँ ।’

भ्रष्ट पद्धतिलाई बदल्न सबैभन्दा पहिला नेताहरू आफैँ बदलिन आवश्यक रहेको उल्लेख गरे । गरिबभन्दा गरिब नेपालीले सिटामोल पाउने अवस्था नरहेको बताउँदै गरिबले कतै उपचार खर्च खोज्दा पालिकाको पत्र माग्ने तर नेताहरूले उपचार खर्च माग्दा पालिकाको सिफारिस नचाहिने बताए । उनले पालिकाको सिफारिस बिना नेताले उपचार खर्च पाउनु नै भ्रष्ट प्रवृत्ति रहेको उल्लेख गरे । उनले नेताले देशको समस्या समाधान गर्नुपर्नेमा समस्या मात्रै देखाउने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप