भूकम्प प्रभावितको उद्धारमा सघाउन श्रीलङ्काले सैनिक टोली टर्की पठाउँदै
शुक्रबार, २७ माघ २०७९, २१ : ३६
कोलम्बो । श्रीलङ्काले भूकम्प प्रभावित टर्कीमा उद्धारमा सघाउन सैनिक टोली पठाउने भएको छ ।
राष्ट्रसङ्घीय मानवीय कार्यमा सघाउन सैनिक चिकित्सक एवम् इन्जिनियर पठाइने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा प्रधानमन्त्री दिनेश गुणवर्द्धनेको अध्यक्षतामा बिहीबार राति भएको मानवीय सहायताको व्यवस्थासम्बन्धी छलफलमा उक्त निर्णय भएको हो ।
उक्त निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीका सचिव अनुरा दिसानायकेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार लेबनानमार्फत सिरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल भएको थियो ।-(रासस/सिन्ह्वा)