कुनै ठाउँ देखाऊ जहाँ मृत्युको बास छैन
कसैको हृदयगति अनायासै रोकियो,
ऊ चिसो लास बन्यो
उडेको विमान पहाडमा ठोक्कियो,
उ मृत्युको सास बन्यो
दन्कियो कतै आगोको मुस्लो,
नियतिको उ दास बन्यो
रन्कियो कसैमा असाध्य रोग,
यमराजको उ गाँस बन्यो
बिहानसम्म हाँसेका मानिस,
साम्साँझै दाउरामाथि बल्दछन्
रातीसम्म बाँचेका मानिस,
सखारै मुर्दा बनी सजिन्छन्
एउटा प्रकाश देखाऊ मलाई,
जहाँ अन्धकारको आभास छैन
एउटा ठाउँ देखाऊ मलाई,
जहाँ मृत्युको बास छैन ।
बिहान उन्मत्त फुलेको फूल साँझ पर्दा झरिदिन्छ
उडिहिँड्ने पुतली पनि बगैँचामा कतै मरिदिन्छ
श्रावणको सुन्दर वृक्ष हिउँदमा जर्जर भइदिन्छ
कलकल बग्ने खहरे पनि बर्खामा बन्जर भइदिन्छ
जो मेटिन्छ, जो नासिन्छ - त्यो नै अस्तित्वको स्वभाव हो
मृत्यु कुनै आतङ्क हैन, जीवनको गहिरो समभाव हो
एउटा हाँसो देखाऊ मलाई, जहाँ आँसु लुकेको छैन
एउटा ठाउँ देखाऊ मलाई, जहाँ मृत्युको बास छैन १
तिमी भन्छौ- मृत्यु अझै टाढा छ, जीवनको माया गाढा छ
तर, माटो जहाँ उभिएका छौ- टालटुले चिहान मात्र हो
बाटो जहाँ हिँडिरहेका छौ- गन्तव्य आखिर मसान हो
कसलाई थाहा हुन्छ र आखिर- कहिले, कसको पालो हो ?
बुझे यो खेल- उत्सव, नबुझे भ्रमको जालो हो
मृत्युको बोधले बरु जीवन अझै जिउने उत्प्रेरणा थपोस्
लिन आउँदा कालले पनि सघन जीवनलाई सलाम गरोस्
एउटा वसन्त देखाऊ मलाई, जहाँ शिशिरको त्रास छैन
एउटा ठाउँ देखाऊ मलाई, जहाँ मृत्युको बास छैन १