आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भिडियो रिपोर्ट

कसरी बन्द भयो नेपालको एकमात्र टायर कम्पनी गोरखकाली टायर ?

उद्योग फेरि चलाउन गोरखावासीको प्रधानमन्त्रीसँग आश (भिडियो रिपोर्ट)
आइतबार, २९ माघ २०७९

उकालो ओरालो मोटर हरर
गोरखकाली टायर बलियो गुड्छ सरर
आयो गोरखकाली
ड्राइभर दाइलाई मन पर्ने टायर.....

gorakhkali tyre (1)

विगतमा रेडियो तथा टेलिभिजनमा बज्ने गरेको यो लोकप्रिय विज्ञापन अचेलन मिडियामा बज्ने गरेको छ न त गोरखकाली टायर नै उत्पादन हुने गरेको छ । 

गोरखकाली टायर उद्योग बन्द भएको नै ७ वर्ष पुगेको छ । २०७२ सालदेखि पूर्णरुपमा उत्पादन बन्द भए पनि केही सवारी साधन अझै पनि गोरखकाली टायरमै गुडिरहेका छन् । गुणस्तरको सवालमा विदेशी उद्योगका टायरसँग बलियो रूपमा प्रतिस्पर्धा गर्न सक्ने गोरखकाली टायर अब बजारमा किन्न भने नपाइएको धेरै भइसकेको छ । 

यो टायर उत्पादन हुने गरेको गोरखा नगरपालिका वडा नम्बर १३ स्थित मझुवा देउरालीमा रहेको उद्योग परिसर हाल झाडीमा रूपान्तरण भएको छ । उद्योग परिसरभित्र रहेका करोडौँ रुपैयाँ मूल्यका टायर उत्पादन गर्ने मेसिनहरू अलपत्र परेका छन् । प्रयोग नभएका कच्चा सामग्रीहरू असरल्ल छाडिएका छन् । उद्योगका कार्यालय, शौचालय, काम गर्ने स्थल, विभिन्न शाखा उपशाखा सबै खण्डहर अवस्थामा रहेको छ । 

gorakhkali tyre (4)

उद्योग भित्र तत्कालीन राजा वीरेन्द्रका भनाइहरू रातो रङले ठुलो अक्षरमा लेखिएको छ भने धुलाम्मे भुईँमा पुराना मेसिनहरू अलपत्र अवस्थामा देख्न सकिन्छ । झाडीमा रूपान्तर भएको यो उद्योग परिसमा कालिज, बँदेल लगायतका जङ्गली जनावरले वासस्थान बनाउन थालेको स्थानीय बताउँछन् ।  

यस्तो छ गोरखकाली उद्योगको सुरुवात र अन्त्यको कहानी 

गोरखकाली रबर उद्योगको शिलान्यास पञ्चायती शासनकालमै भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा यो उद्योगको शिलान्यास गरेका थिए भने २०४९ सालदेखि यो उद्योगले व्यावसायिक रूपमा उत्पादन थालेको थियो । सञ्चालनको सुरुमै यो उद्योगमा ४ सय कर्मचारीले रोजगारी पाएका थिए । बन्द हुने समयमा पनि २८२ कर्मचारीले काम गरिरहेका थिए । बन्द हुने बेलामा पनि सीमित रहेका कर्मचारीले पनि पहिलेकै अवस्थामा उत्पादन दिने गरेको सो उद्योगका प्रशासन अधिकृत दिनेश कार्की बताउँछन् । 

gorakhkali tyre (2)

टायर उत्पादन गर्न लाग्ने जनशक्तिको तुलनामा बढी नै कर्मचारी राख्नु तथा कमजोर व्यवस्थापनका कारण २०७५ सालसम्म आइपुग्दा उद्योग फेज आउट हुने अवस्थामा पुगेको कार्की बताउँछन् । उनी भन्छन्–‘यो उद्योग बन्द हुनुको कारण व्यवस्थापकीय कमजोरी नै मुख्य कारण भएको देखिन्छ । नेपाल सरकारले पनि आवश्यक परेको समयमा ६० देखि ७० करोड रुपैयाँ सहयोग गरेको थियो । सरकारले रकम दिए पनि र बजारमा प्रशस्त सम्भावना भए पनि उद्योग बन्द हुन पुग्यो । सञ्चालनको समयमा केही कमजोरी आए पनि मुख्य कमजोरी चाहिँ व्यवस्थापनकै हो । सरकारले कच्चा पदार्थ आयात गर्न पनि सहयोग गरिरहेको थियो । यस्तो अवस्थामा पनि उद्योग बन्द हुनु व्यवस्थापनको कमजोरी हो ।’

उद्योगले टायर उत्पादन थालेसँगै राम्रो बजार पाएको थियो । उद्योगले व्यावसायिक उत्पादन गरेर त्यसको बिक्री वितरणको क्षेत्र अझै बढाउने सम्भावना पनि थियो । उद्योग सञ्चालनमा आउँदा ६० प्रतिशत आन्तरिक माग पुरा गर्ने लक्ष्यसहित खोलिएको थियो तर उद्योगले बजारको ३५–४० प्रतिशत मात्रै माग धान्न सकेको कार्की बताउँछन् । 

gorakhkali tyre (3)

२०७२ सालको भूकम्पपछि केही समय उद्योग बन्द भएपछि उद्योगका कर्मचारी बिना काम बसेका थिए । भूकम्पले उद्योगमा क्षति नपुर्‍याए पनि व्यवस्थापनको कमजोरीका कारण उद्योगको काम अघि बढेन । उद्योग नचलेपछि कर्मचारीले नै बिना काम उद्योगमा बस्नुभन्दा केही व्यवस्था गरेर आफूहरूलाई बिदाइ गरिदिन सरकारलाई भनेपछि २०७५ साल माघ ३ गते मन्त्रिपरिषद्को बैठकबाट उद्योगको विनियममा भएको व्यवस्थाअनुसार कर्मचारीलाई थप १ महिनाको सेवा सुविधाको रकम सहित बिदा गर्ने निर्णय गरेको थियो । साथै उद्योग बन्द गर्ने निर्णय पनि गरेको थियो । 

यसअनुसार २०७७ साल फागुनमा उद्योग मन्त्रालयमार्फत कर्मचारीले पाउने सम्पूर्ण रकम फरक–फारक गरिएको थियो । त्यस समय उद्योगका कर्मचारीलाई सरकारले ९५ करोड रुपैयाँ भुक्तानी गरेको कार्कीले बताए । 

gorakhkali tyre (5)

के फेरि यो उद्योग चलाउन सम्भव छ ? 

यो उद्योग २०७५ सालदेखि चलेको छैन । धेरै मेसिनहरू बिग्रेको अवस्थामा छ । तर पनि तत्काल मर्मत खर्चका लागि सरकारले २० करोड जति छुट्याउने हो भने उद्योग सञ्चालनमा आउन सक्ने कार्की बताउँछन् । 

उनले भने–‘अहिले यो उद्योग बायस प्रविधिमा सञ्चालित उद्योग हो । यसले टायर, ट्यूब लगायतका वस्तु उत्पादन गर्दै आइरहेको छ । बायस प्रविधिमा चलाउनका लागि तत्कालै २० करोड भए उद्योग चल्न सक्छ । उद्योगको अन्डरग्राउन्ड स्टिम पाइपलाइनहरु ड्यामेज भइसकेका छन् । यसबाहेक, अन्य केही मेसिन सामान्य अवस्थामा छन् भने केही मेसिन फेर्न पर्ने हुन सक्छ । तर, रेडिएल प्रविधिमा लग्ने हो भने उद्योग पुनः सञ्चालन गर्न १ अर्ब भन्दा धेरै लाग्न सक्छ ।’

gorakhkali tyre (6)

हाल रहेको मेसिन र सोही प्रविधिबाट टायर उत्पादन थाल्ने हो भने २५० हाराहारी कर्मचारी चाहिने र यति जनशक्तिबाट उद्योगले सानाठूला गरी दैनिक ३०० टायर उत्पादन गर्न सक्ने उनले बताए ।  यति कर्मचारी दिनमा दुई सिफ्टमा टायर उत्पादनका लागि काम गर्न पुग्ने अझ दैनिक तीन सिफ्ट टायर उत्पादन गर्ने हो भने केही सङ्ख्यामा कर्मचारी थप्नुपर्ने उनले बताए । 

हाल यो उद्योगको सम्पत्ति मेसिन र बिल्डिङ गरी कूल २० करोड रुपैयाँ आसपासको छ । साथै उद्योगको नाममा ५६० भन्दा बढी रोपनी जग्गा पनि छ । अहिलेको अवस्थामा यो जग्गाको मूल्य ५ अर्बभन्दा माथि मूल्याङ्कन हुने कार्कीले बताए । सो क्षेत्र वरिपरि १ रोपनी जग्गाको  मूल्य ४० लाख रुपैयाँ हाराहारी रहेकोले त्यस आधारमा उद्योगसँग ६ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको छ ।

gorakhkali tyre (7)

उद्योगले पुनर्जीवन पाउनेमा प्रचण्डप्रति गोरखावासीको आशा 

गत प्रतिनिधि सभाको निर्वाचनका बेला गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्न गएका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखावासीलाई दिएको आश्वासन मध्ये गोरखकाली रबर उद्योग पुन सञ्चालन गर्ने पनि हो । उनले आफूलाई जिताएर पठाएमा पुन सो उद्योगलाई पहिलेकै अवस्थामा सञ्चालन गर्ने र गोरखावासीलाई रोजगारीको अवसर पनि दिने प्रतिबद्धता जनाएका थिए । 

gorakhkali tyre (8)

गोरखकाली उद्योग गोरखाको प्रतिष्ठासँग पनि गाँसिएको उद्योग हो । सोही जिल्लाबाट निर्वाचित उम्मेदवार नै प्रधानमन्त्री भएपछि फेरी उद्योग चल्दा धेरै जिल्लावासीले रोजगारीको अवसर पाउने भएकोले फेरी यो उद्योगले पुनर्जीवन पाउला कि भन्ने गोरखावासीको आशा रहेको कार्कीले बताए । 

उद्योगको भवन तथा अन्य भौतिक संरचना पुन प्रयोग गर्न सकिने र केही प्रविधि र मेसिन थप गर्ने हो भने पुरानै अवस्थामा उद्योग सञ्चालन गर्न सकिने उनी बताउँछन् । तर त्यसका लागि प्रधानमन्त्री र मन्त्रीको इच्छाशक्ति नै मुख्य कुरा हो । 

 

gorakhkali tyre (9)gorakhkali tyre (10)gorakhkali tyre (11)gorakhkali tyre (12)gorakhkali tyre (13)gorakhkali tyre (14)gorakhkali tyre (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया