आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

चिकित्सकको आन्दोलनले दिउँसोसम्म बिरामीलाई सास्ती

आइतबार, २९ माघ २०७९, १४ : ५३
आइतबार, २९ माघ २०७९

काठमाडौँ । आइतबार बिहान वीर अस्पताल पुग्दा कालिकोट रोसकोटकी तुला कुमाल अलमल्ल भएर बसेकी थिइन् । उनको आज पित्तथैलीको अप्रेसनको पालो थियो । महिनौँ ‘क्यू’मा बसेपछि बल्ल उनको पालो आएको थियो । अप्रेसनपछि अस्पतालमा कुरुवाका लागि ज्वाइँ र देवर पनि उनले सँगै ल्याएकी थिइन् ।  चिकित्सकको आन्दोलनका कारण आज अस्पतालका अन्य सेवा बन्द रहेको विषयमा उनी अनविज्ञ थिइन् । उनले सँगै बसेकी अर्की महिलालाई ‘अस्पताल किन बन्द भएको ?’ भनेर जिज्ञासा राखिरहेकी रहेकी थिइन् । अप्रेसन गर्न ६ दिन अगाडि काठमाडौँ आएकी कुमालले रातोपाटीसँग भनिन्, ‘अस्पताल कहिले खुलाउँछन् । अप्रेसन गरी कति दिन अस्पतालमा राख्यान्या हुन्, मन आत्तियो ।’ घरमा बुढा मात्रै भएको बताएकी उनलाई घरको बाख्रा र कुखुराको चल्ला पनि चिन्ता थियो  ।  ‘काठमाडौँ आएको ६ दिन भइसक्यो, बाख्रा चल्ला खान पाएर मर्ने भए । कहिले उपचार गरेर जाम भइसक्यो । मलाई दशा नै लागेको रैछ । टाढाबाट बल्लबल्ल उपचार गर्न आएँ, उपचार गर्न पाउँदिन क्या हो ।’


कुमालको जस्तै छटपटी पर्साकी मिना मण्डलको पनि थियो । उनी न्यूरोसम्बन्धी स्वास्थ्य समस्या लिएर उपचार गर्न अस्पतालमा ८ दिन अगाडि आएकी हुन् । उनको आज स्वास्थ्य रिपोर्ट चिकित्सकले हेर्ने पालो छ । चाँडो रिपोर्ट देखिएर आजै पर्सा फिर्कने उनले योजना बुनेकी थिइन् । ‘घरबाट हिँडेको धेरै दिनभयो । गाउँमा केटाकेटी मात्रै छन्, मन धेरै आत्तिएको छ । कहिले अस्पताल खुल्ला र घर फर्कियौँला जस्तो भएको छ,’ उनले सुनाइन् ।

यस्तै, सुसेली काढ्दै घरी यता घरी उता गरिरहेकी रहेकी थिइन् गोकणेश्वरकी सुनिता तामाङ पनि । गोकर्णेश्वरबाट बिहान टिकट काटी ओपिडीमा उपचार गर्न उनी हतारहतारमा अस्पताल निस्किएकी थिइन् । अस्तपाल आएपछि मात्रै उनलाई थाहा भयो कि ओपिडी सेवा बन्द रहेछ । ८–९ दिनदेखि उनलाई खोकी लाग्ने, श्वास फुल्ने र हिँड्न गाह्रो भएको उनले सुनाइन् ।

bir-hospital-(12)_ONB9kMMsGB

उनी भन्छिन्, ‘मेडिकलबाट औषधी ल्याएर खाए निको भएन । गाह्रो भएर यहाँ आउँदा अस्पताल बन्द रहेछ । जान आउनमा दुःख भयो ।’ आइतबार बिहान उपचार गर्न अस्पताल पुगेर बिरामीले सास्ती यही केही उदाहरण पात्र मात्रै हुन् । यसरी वीर अस्पतालमा मात्रै सयौँ बिरामी अलपत्र परेका थिए ।  आज बिहानैदेखि दिउँसो करिब एक बजेसम्म देश भरका अस्पतालबाट लाखौँ बिरामीले उपचार सेवाबाट वञ्चित भए । अस्पतालमा उपचार गराउन पुगेका सयौँ बिरामी ओपिडी सेवा बन्द हुँदा गेटबाटै फर्किन बाध्य भए ।

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सर्जन डा.जनिथलाल सिंह अस्पतालबाट घर फर्किने क्रममा प्रहरीले लाठी चार्ज गरेका थियो । डा सिंहमाथि लाठी भएपछि नेपाल चिकित्सक संघले २४ घण्टाभित्र कारबाही गर्न माग गरेको थियो ।  अस्पताल, सुरक्षाकर्मी र संघका पदाधिकारीबिच  छलफल भइसकेपछि काठमाडौँ प्रहरी परिसरले कारबाही गर्ने सहमति गर्ने निर्णय गरे पनि नेपाल चिकित्सक संघले शनिबार थप आन्दोलनको घोषणा गरेको थियो । 

यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार राति विज्ञप्ति जारी गदै घटनाको लगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाएको छ ।  उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरूलाई संवादमार्फत समाधान गर्ने सह–प्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख  थियो । यसका बावजुद संघले देशका भरका अस्पतालहरूमा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको थियो । 

bir-hospital-(16)_UhuS9pWloc

कामबाट फर्किएका चिकित्सक तथा बाटोमा हिँडेका सर्वसाधारणमाथि राज्यले लाठी चार्ज गर्नु निन्दनीय कार्य भएको ट्रमा सेन्टरका पूर्व निर्देशक डाक्टर सन्तोष पौडेल बताउँछन् । वार्ताको कुर्सीमा बसेर चिकित्सकमाथि लाठी चार्ज गर्नेलाई छानबिन र कारबाहीको दायरामा ल्याउनुका साथै बिरामीलाई सेवा पनि निरन्तर दिइरहनु पर्ने डा। पौडेलको भनाइ थियो ।

यस्तै वीर अस्पतालका एक चिकित्सकले संघका पदाधिकारीले अस्पतालको सेवा अडान लिँदा विकट जिल्लाका ग्रामीण भेगबाट आएका बिरामीले बिहानभरि दुःख पाएको बताए । ‘वार्तामार्फत समस्या समाधान गरेर बिरामीलाई सास्ती दिने काम गर्नुहुँदैनथ्यो,’ उनले भने । आजै चिकित्सकहरूले सरकारसँग ६ बुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको छ । आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेपछि प्रधानमन्त्री कार्यालयमा सरकार चिकित्सकहरुबीच घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र सरकारले घाइते चिकित्सकको उपचारको व्यवस्था गर्ने लगायतका ६ बुँदे सहमतिपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम चिकित्सकले संघले स्थगित गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप