आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरूले के भने ?

आइतबार, २९ माघ २०७९, १७ : ०५
आइतबार, २९ माघ २०७९

काठमाडौं । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थितिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् भने विभिन्न प्रकारका समस्याहरूको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गराउन माग गरे ।   कास्कीमा ३० हजार भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासी रहेको भन्दै उनीहरुको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल पाउन नसकेको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकार सँग माग गरे ।  

सांसद मुक्ताकुमारी यादवले राज्यका विशिष्ट व्यक्तिले सवारीका क्रममा शक्तिको चरम दुरुपयोग गरेको बताइन् । विशिष्ट व्यक्तिको तडकभडक शैलीका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नसकेका भन्दै उनले आगामी दिनमा यस्तो संस्कारको विकास नहोस् भनी ध्यानाकर्षण गराइन् ।  

सांसद मेनकाकुमारी पोखरेलले घोराही–तुलसीपुरको ४ लेन सडक समयमा नबन्दा जनताले सास्ती भोगेको भन्दै तुरुन्त निर्माण कार्य प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराइन् ।  

सांसद मैना कार्कीले जाँजरकोटको नलगाड हाइड्रोपावरको ८० महिना बित्दासमेत डिपिआर प्रतिवेदन आउन नसकेको भन्दै तत्काल सम्वद्ध कम्पनीलाई कारबाही गर्न माग गरिन् ।  

सांसद योगेशकुमार भट्टराईले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद रमा कोइराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभाव भएकाले मेलम्ची खानेपानी आयोजना भक्तपुरमा पु¥याउनुपर्ने बताइन् । त्यस्तै चिया बगानमा काम गर्ने मजदुरको पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइन् ।  

सांसद रामहरी खतिवडाले भूकम्प पीडितले पाउने भनिएको तीन लाख रुपैयाँ अझैसम्म नपाएको भन्दै कहिलेसम्ममा तीन लाख दिने हो भनी सरकारलाई प्रश्न गरे । उनले सबै पालिकासम्म कहिलेसम्ममा सडक पिच भइसक्छ सो को जवाफ मन्त्रीले सदनमा आएर दिनुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप