आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएनः शेयर लगानीकर्ता

सोमबार, ०१ फागुन २०७९, २३ : ५५
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजी बजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरूले बताएका छन् । 

शुक्रवार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजी बजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहेपनि अपेक्षाअनुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरूको रहेको थियो । 

तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भए पनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए ।

 नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए ।  उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरू अर्थतन्त्रमा कहीँ सहज हुँदा पुनरावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षा अनुसार नआएको गुनासो गरे । उनले नेपालका पुँजी बजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे । 

 पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए । उनले अहिले पुँजी बजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताए । 

उनले भने,‘शेयर लगानीकर्ताहरूको माग राष्ट्र बैंकले सम्बोधन गरेन । अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरू आज केही सहज हुँदा पुनरावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा,चासो र हुन्छ नै भन्ने विश्वास पनि थियो । मौद्रिक नीतिको सम्बोधन आउँदा राष्ट्र बैंकले सम्बोधन नगरेको जस्तो देखिएको छ । अझै पनि मलाई के विश्वास छ भन्दा नेपालका पुँजी बजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले यसलाई पछि कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्छ भन्ने विश्वास लिएको छु । नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको छ । हामीले चाहेको शेयर बजारमा संस्थागत लगानीकर्ताको बढी उपस्थिति होस् । व्यक्तिगत लगानीकर्ताको तुलनामा पनि धेरै न्यून छ । ६ देखि ७ प्रतिशत पनि छैन । ४÷१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर गरेको अवस्था छैन । ठुलो हिंसा व्यक्तिगत लगानीकर्ता रहेको सन्दर्भमा यसले एक दुई दिनलाई लगानीकर्ताको मानसिकतामा प्रभाव पर्ला तर मलाई विश्वास छ त्यो पनि पर्दैन । अहिले पुँजी बजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले यसको असरपर्छ भन्ने लाग्दैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी बजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरियोस् भन्ने थियो । यसले दिगो पुँजीबजारको विकासको लागि आरोह अवरोह नहोस् भन्ने हाम्रो चाहना थियो । त्यो भइदिएन ।’

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन् । 

उनले शेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप बताइन् । उनले आफूहरूले राखेको ४÷१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।  शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन् । 

 अध्यक्ष पोखरेलले विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अङ्कमा ल्याउनुपर्ने बताइन् । 

अध्यक्ष पोखरेलले नेपालको पुँजी बजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप