आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसको उपलक्ष्यमा माओवादी प्रवास समन्वय समितिद्वारा सात बुँदे प्रतिबद्धता

सोमबार, ०१ फागुन २०७९, १५ : ०६
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिद्वारा जनयुद्ध दिवसको उपलक्ष्यमा सात बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा भर्चुअलमार्फत मनाउँदै प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले सात बुँदे प्रतिबद्धता जाहेर गरेका छन् । अहिलेको परिवर्तन माओवादी जनयुद्धले ल्याएकाले अब जनताको अवस्था परिवर्तन गर्न सबै एकजुट भई लाग्नुपर्ने सह इन्चार्ज पन्तले बताए । ‘अहिलेको व्यवस्था ल्याउन माओवादीले हजारौँ सहिद बेपत्ता परिवारले बलिदान गरे । अझै हजारौँको सङ्ख्यामा घाइते अपाङ्ग छन्’ पन्तले भने, ‘अहिलेको परिवर्तनलाई आत्मसात् गरेर जनताको अवस्था परिवर्तन गर्न आ–आफ्नो ठाउँबाट लागौँ ।’ सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सहिद, बेपत्ता, घाइते अपाङ्ग सबैको सम्मान भएको पन्तले दाबी गरे ।  

यस्तै पार्टी केन्द्रीय सदस्य नारायणी शर्माले जनयुद्धको साना दुःखले यो परिवर्तन नआएको जिकिर गरिन् । ‘अहिले जनयुद्धका विषयमा युवा पुस्तालाई थाहा छैन । उनीहरूलाई पढाउन जरुरी छ’ शर्माले भनिन्, ‘आफ्नै आँखा अगाडि साथी गुमाउनुपर्‍यो । अब मरिन्छ कि बाँचिन्छ भन्ने अवस्थाबाट जनयुद्धमा सहभागी भयौँ ।’ जनयुद्धको जगमा अहिलेको परिवर्तन भएको बताउँदै शर्माले जनताको जीवनस्तर माथि उठाउन अझै काम गर्नुपर्ने उनले बताइन् ।

यस्तै माओवादी पार्टी केन्द्रीय सदस्य एवम् प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जनयुद्धबाट अहिलेको परिवर्तन ल्याउन सम्भव भएको  जिकिर गरे । ‘महान् जनयुद्धकै जगमा अहिलेको परिवर्तन ल्याउन सम्भव भयो । अहिले हाम्रो पार्टीको नेतृत्वको सरकार भएपछि सार्वजनिक बिदा दिएर ठिक भयो’ शर्माले भने, ‘तर, कतिपय प्रतिक्रियावादीहरुले कालो दिन मनाउनुपर्छ भनेर प्रचार गरी राखेका छन् । विदेशी डलरको खेती गर्नेहरूले जनयुद्धलाई निरन्तर बदनाम गर्दै छन् । उनीहरूका विरुद्ध लड्न शंखघोष गर्नुपर्छ ।’

prabas

विदेशी डलरको खेती गर्नेहरूले अहिलेको परिवर्तन कसरी आयो भन्ने बारेमा बुझ्नै नसक्ने भन्दै शर्माले आक्रोश पोखे । जनयुद्धले ल्याएका उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिमा सबै लामबद्ध हुनुपर्ने शर्माले बताए । यस्तै प्रवास समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नेपाली जन प्रगतिशील मञ्च अमेरिकाज क्षेत्रीय समितिका अध्यक्ष केशव नेपाल, नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त, नेपाली जन प्रगतिशील मञ्च युरोप क्षेत्रका अध्यक्ष सुरेन्द्र भुसाल लगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले विदेशमा नेपालीहरूले विभिन्न खालका समस्या भोग्नु परेकाले पार्टीले हल गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

जनयुद्ध दिवसको उपलक्ष्यमा भर्चूअल मार्फत एसिया, मध्य एसिया, युरोप, अमेरिका लगायत क्षेत्रबाट सहभागी भएका थिए ।

यस्तो छ सात बुँदे प्रतिबद्धता 
प्रतिबद्धता पत्रको पहिलो बुँदामा न्याय, स्वतन्त्रता र समानतायुक्त वैज्ञानिक समाजवादी समाजको निर्माण गर्ने पार्टीको लक्ष्यमा निष्ठापूर्वक अविचलित भई अघि बढ्ने उल्लेख छ । यस्तै आफ्नै जीवनमा पार्टीको अनुशासन, उच्च आचरणलाई दृढतापूर्वक पालना गर्ने, समाजका विपन्न पछि पारिएका समुदाय, दलित, महिलाप्रतिको भेदभावको डटेर विरोध गर्ने  प्रतिबद्धता जनाएको छ । यस्तै चौथो बुँदामा पार्टीभित्र देखा परेका अवसरवाद, चरम व्यक्तिवाद, नातावादको डटेर विरोध गर्ने, सच्चा कम्युनिस्ट पार्टी निर्माणमा लडिरहने र महान् जनयुद्धका सहिदले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यस्तै अन्तिम बुँदामा  व्यवस्था बदल्यौँ अब जनताको अवस्था फेर्न अभियानमा निरन्तर लाग्ने बताएको छ ।

prawas

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप