आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार भएन : शेयर लगानीकर्ता

सोमबार, ०१ फागुन २०७९, १६ : ४६
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरूले बताएका छन् ।

शुक्रवार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहेपनि अपेक्षाअनुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् । 

गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो । तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भएपनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भएपनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरेको आरोप लगाए । 

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए ।   

उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरू अर्थतन्त्रमा कहीँ सहज हुँदा पुनरावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भएपनि अपेक्षा अनुसार नआएको गुनासो गरे । उनले नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बंैकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए । उनले अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने बताए ।  

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन् । उनले शेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाइन् । उनले आफूहरुले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।

उनले शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन् । उनले लगानीकर्ता संघहरुले  १२ करोड (१२ करोड) सम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताइन् ।   

अध्यक्ष पोखरेलले विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन् । उनले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको बताइन् । उनले शेयर लगानीकर्ता अहिले निराशा हुनुपर्ने अवस्था भने नरहेको बताइन् ।

उनले शेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गरिन् । उनले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताइन् । उनले पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताइन् । उनले अर्थमन्त्रीले पुँजीबजारलाई दीर्घकालीन रुपमा व्यवस्थित बनाउँदै बजारका नीतिगत समस्यालाई सुधार गरे मात्रै पुँजीबजारको दीर्घकालीन विकास हुने बताइन् ।

उनले पछिल्लो समय राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक रहेको भन्दै पुँजी बजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको आरोप लगाइन् । उनले पछिल्लो समय धेरै निराश साना लगानीकर्ता भएको बताइन् ।  

अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप