आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वराजाको अगाडि दुर्गा प्रसाईंको आक्रामक भाषण !

मलाई अरू १२ जना पनि देश बिगार्नेमा रहेको थाहा छः दुर्गा प्रसाईँ
मङ्गलबार, ०२ फागुन २०७९, ०० : १७
मङ्गलबार, ०२ फागुन २०७९

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार नै सहभागी गराएर झापाकोे काँकडभिट्टास्थित मेचीपुलबाट नागरिक बचाउ महाअभियान सुरु गरेका एमालेका केन्द्रीय सद्सय तथा व्यवसायी दुर्गा प्रसाईँले सो क्रममा आक्रामक भाषण गरेका छन् । ‘मेरी आमा, राजा तथा गुरुहरूलाई साक्षी राखेर’ भन्दै उनले भाषणका क्रममा केही व्यक्तिहरुको नामै किटेर ‘पास्टर’को संज्ञा दिएका छन् । 

प्रसाईँले राजनीतिक दलका साथै बैंक तथा वित्तीय संस्थाहरूप्रति आक्रामक हुँदै भाषण गरे । उनले अबको केही दिनपछि बन्द हडतालमा उत्रने समेत चेतावनी दिए । ‘मैले असार मसान्तसम्म बैंकको ब्याज बुझाइसकेको छु । बैंकको ब्याज १८ प्रतिशत २० प्रतिशत पुर्‍याएको छ । अब कसरी सकिन्छ ? हामी मुक्त हुनका लागि अब साथ दिऔँ,’ उनले भने । सोमबार दियो बालेर अभियान सुरु गरेको जानकारी दिँदै उनले आगामी फागुन ७ गते भैरहवामा, फागुन १० गते धनगढीमा, फागुन १३ गते चितवनमा र फागुन २० गते काठमाडौँमा आन्दोलन गर्ने घोषणा गरे । 

बिना सन्दर्भमा आइरहेका हुटिङलाई देखाउँदै उनी भन्थे, ‘एक छिन है भाइ हो , यो भाइहरू लडाकु दस्ता हुन् । कालो मोसो दल्ने । यिनीहरूले बैंकका मेनेजरलाई कालो मोसो दल्छन् । यी ५५ जहाँ भेटिन्छ त्यहाँ । ल एक छिन है मेरा भाइ हो ।’

प्रसाईँले प्रहरीसँग नभिड्ने तर, नेपालभरका दोकान बन्द भने गर्ने दाबी गरे । ‘एक महिना, डेढ महिना नेपाल भरिका दोकान बन्द गर्ने । प्रहरीसँग भिड्न नजाने । प्राइभेट बैंकका पैसा झिकेर सरकारी बैंकमा राख्ने । कारोबार नै भएन नि त । त्यसो भएपछि के हुन्छ । भन्सारबाट सामान आएन । कर पनि उठेन,’ उनी भन्छन्, ‘हामीलाई यो अभियानमा कसैले एक रुपैयाँ पैसा दिनुपर्दैन । म देश बाहिर पनि जाँदै छु । जनताले रेमिटेन्स पनि नपठाउनु ।’

जनताको पैसा लघुवित्तले सकिदिएको पनि उनले बताए ।  ‘प्राइभेट बैंक सरकारीकरण नगरीकन म सुत्दिन । २० लाखभन्दा मुनिको ऋण मिनाहा भएपछि मात्रै साउदी, कतारमा भएका मानिसहरू आउनु पर्छ । यसले अशान्ति कायम गर्‍यो । किन भन्दा लघुवित्त र सहकारीको कारणले,’ प्रसाईँले भने । 

उनले रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ सम्पादकको मात्रै कुरा गरेको तर आफूले अरू १२ जना पनि देश बिगार्नेमा रहेको थाहा पाएको बताए । ‘म अर्को कुरा भन्छु । रवि लामिछानेले १२ भाइ भने नि, अरू १२ भाइको नाम छुटाएको छ । यो देशमा स्वास्थ्य, शिक्षा र रोजगार सिद्ध्याउने भनेको कनकमणि दीक्षित हो । केदारभक्त माथेमा, सुशीला कार्की, कल्याण श्रेष्ठ, सञ्जीव उप्रेती, अर्को खगेन्द्र संग्रौला, युग पाठक, नारायण वाग्ले अर्को रवीन्द्र मिश्र हो । यिनीहरू सबै युरोपियन युनियनका पास्टरहरु हुन् । यिनीहरू सबै मिलेर गोविन्द केसी जन्माए,’ उनले आरोप लगाए । उनले अब देश २०४६ साल अगाडि पुग्नुपर्ने बताए । ‘त्यहाँबाट मिस्टेक भएको छ । त्यहीँ जानुपर्छ,’ उनले भने । 

‘दुर्गा प्रसाईँसँग राजा कहाँ आउँछन् र भन्छे आउनु त भयो नि ? हिजो मैले हस्पिटल खोल्दा पनि बहुलायो भन्थे । अहिले पनि त्यसै भन्दै छन् । मेरो गीता मार्गदर्शन हो । मैले पाथीभरा मातालाई भनेको छु, यो देश परिवर्तन नगरी मुख देखाउन आउँदिन नि भनेको छु । २०४६ सालमा पुगेर नयाँ संरचना बनाउनु पर्छ । देश विखण्डन भएको छ,’ उनले जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप