आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संरचनाबिनै उद्घाटन गरिएको मधेश विश्वविद्यालय कागजमा मात्रै सीमित

मङ्गलबार, ०२ फागुन २०७९, ०७ : २३
मङ्गलबार, ०२ फागुन २०७९

पर्सा । संरचना र पूर्वाधारबिनै राजनीतिक चर्चाको लागि तामझामका साथ उद्घाटन भएको मधेश विश्वविद्यालय कागजमा मात्रै सीमित हुन पुगेको छ ।

भदौ २२ गते जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, तत्कालीन वन तथा वातावरण मन्त्री प्रदीप यादवसहितको उपस्थितिमा तामझामका साथ उद्घाटन गरेको सो विश्वविद्यालयको कुनै पनि काम हालसम्म अगाडि बढ्न सकेको छैन् ।

उद्घाटन् भएको ६ महिना बितिसक्दा पनि विश्वविद्यालयसँग आफ्नो जग्गा, भवन, बजेटको सुनिश्चितता, ऐन कानुन छैन् भने शैक्षिक सत्र कहिलेदेखि शुरु हुने भन्ने समेत टुंगो लागेको छैन् । 

पर्सा निर्वाचन क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्य श्याम पटेलले विश्वविद्यालयको भवन उद्घाटन भएपनि आजसम्म कार्यलय सञ्चालन नभएको बताए । ‘चुनावी रणनीतिका आधारमा नेशनल टेडिङको भवन रंगरोगन गरेर हतारमा उहाँहरुले विश्वविद्यालय उद्घाटन त गर्नुभयो तर त्यो दिनदेखि आजसम्म कार्यलयको ताल्चा खुलेको र कार्यलयमा कर्मचरी बसेको मैले देखेका छैन्’ प्रदेशसभा सदस्य पटेलले भने ‘जग्गा खोजिरहनु भएको छ भन्ने सुनेको छु तर विश्वविद्यालका लागि आवश्यक ऐन,कानुन, बजेट, कर्मचारी भर्ना, शैक्षिक सत्र सञ्चालनको विषयमा कुनै टुंगो लागेको छैन् ।’

श्रीपुरस्थित नेशनल ट्रेडिङको भवनलाई भाडामा लिएर रंगरोगन गरेर  विश्वविद्यालयको नामाकरण गरेपनि हालसम्म सो भवनको भाडासम्म नपाएको नेशनल टेडिङले जनाएको छ ।

पर्साका अर्का प्रदेशसभा सदस्य तथा एमाले नेता प्रभु हजाराले सस्तो लोकप्रियताको लागि जसपाले मधेश विश्वविद्यालयको उद्घाटन गरेर अलपत्र अवस्थामा छोडेको आरोप लगाएका छन् ।


‘भएको बजेट मिलिजुली खान र सस्तो लोकप्रियताको लागि मात्रै उहाँहरुले मधेश विश्वविद्यालय उद्घाटन गर्नुभयो । तर त्यसपछि कुनै काम अगाडी बढेको छैन् विश्वविद्यालय कागजमा मात्रै सिमिति छ ’ प्रदेशसभा सदस्य हजराले भने  ।

उनका अनुसार राजतीतिक चर्चाकै लागि पूर्व तयारी बिनै विश्वविद्यालय उद्घाटन गर्नु नै गलत थियो । मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालय सँगै राजविराजमा कृषि विश्वविद्यालय र जनकपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरेर ३ वटा विश्वविद्यालय उद्घाटन गरेको छ । तर यी३ वटै विश्वविद्यालय हालसम्म सञ्चालनमा भने छैनन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप