आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुस्तक परिचय : यौनरोग र क्यान्सरबारे जनउपयोगी पुस्तक

मङ्गलबार, ०२ फागुन २०७९, १५ : ०२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । प्राडा. अर्जुनदेव भट्टको ‘मूत्र र जनेन्द्रिय प्रणालीः रोग, निदान तथा उपचार’ पुस्तक बजारमा आएको छ । पाल्पामा २००२ सालमा जन्मिएकामा जन्मिएका लेखक भट्ट मेडिकेयर नर्सिङ होम चवहिलका युरोलोजिस्ट तथा वरिष्ठ कन्सल्टेन्ट हुन् ।

 यस पुस्तकमा मूत्र र जननेन्द्रिय प्रणालीसम्बन्धी रोगको निदान तथा उपचारबारे सर्वसाधारणले समेत बुझ्ने गरी सरल भाषामा छर्लङ्ग पारेका छन् । नौ खण्डमा विभाजित यस कृतिमा आकस्मिक मूत्र तथा जननेन्द्रिय रोगहरु, बाल युरोलोजी, मूत्रप्रणालीको पत्थरी, गर्भवतीमा मिर्गौलाको पत्थरी, प्रोस्टेट संलग्न रोग, मूत्र जननेन्द्रिय प्रणालीको क्यान्सर, पुरुष यौनदुर्बलता, स्त्री यौनिक गतिविधि र समस्या र विविध शीर्षकमा लेखिएको छ । 

नेपाली समाजमा अझै पनि यौनरोगहरु लुकाउने गरिन्छ । यौन र मूत्रप्रणालीमा रोग लाग्यो भने त्यसलाई जँचाउने, आफन्तसँग छलफल गर्ने बानीको विकास अझै भइसकेको छैन । यौन, यौन इन्द्रिय र यौनरोगलाई लाजको विषय बनाएर लुकाइने आनीबानीका कारण धेरै महिला तथा पुरुष ग्रसित भएका देखिन्छ । यसरी रोग लुकाएकै कारण धेरैले ज्यानसमेत गुमाउनु परेको स्थिति छ । त्यस्ता रोगबाट ग्रसितहरूका लागि भट्टको यो कृति निकै उपयोगी छ । 

नेपालजस्तो भौगोलिक विकटता भएको ठाउँमा सबैतिर डाक्टरको उपस्थिति सम्भव देखिँदैन । ती ठाउँमा काम गर्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई यो विषयको ज्ञान पर्याप्त नहुन सक्छ । त्यस अवस्थामा यो कृति निकै उपयोगी हुन सक्छ । 

आकस्मिक मूत्र तथा जननेन्द्रिय रोगहरु शीर्षकमा मूत्ररोग संलग्न आकस्मिक अवस्था, मिर्गौलाको शूल, बटारिएको अण्डकोष, अड्किएको अग्र चर्म, जननेन्द्रिय चर्म मृत अवस्था, अविरल लिङ्ग उत्तेजनाको अवस्था, भाँचिएको लिङ्ग, उप–अण्डशोथ, सङ्टोन्मुख मूत्रनलीशोथ, मूत्रनलीमा चोट र थिचिएको मेरुदण्ड गरी ११ वटा उपशीर्षकमा रोगहरुबारे विस्तृत चर्चा गरिएको छ । 

यसैगरी बाल युरोलोजी शीर्षकमा जन्मजात मिर्गौला फुल्ने रोग, जल मिर्गौला, बच्चामा देखिने मूत्रनलीको जालो, नखुल्ने अग्रचर्म, पुरुष जननेन्द्रियप्रणालीमा देखापर्ने विकृति, निद्रालु अनैच्छिक मूत्रत्याग गरी छवटा उपशीर्षकमा रोगबारे चर्चा गरिएको छ । 
मूत्रप्रणालीको पत्थरी रोग र निदान शीर्षकमा आनुवंशिक कारकतत्त्व, मूत्रपत्थरी तथ्य कथन, कुन पत्थरी कस्ता हुन्छन्, कसरी थाहा पाउने ?, मूत्रपत्थरीको प्रस्तुति, पत्थरी व्यवस्थापन, चिकिस्तसक र बिरामीले भन्न नहुने यथार्थ जस्ता उपशीर्षक दिएर यो रोगबारे जानकारी दिइएको छ । 

गर्भवतीमा मिर्गौलाको पत्थरी रोग शीर्षका गर्भवतीमा किन पत्थरी बन्छ, यसका लक्षण, परीक्षण र निदानबारे विस्तृत चार्चा गरिएको छ । प्रोस्टेट संलग्न रोगका विविध पक्ष र निदान, मूत्रलक्षण, मूत्र समस्या र औषधोपचार, शिल्यक्रिया, होल्मियम लेजर र पुरुष मूत्र अवरोधको उपचार, लेजर शल्यक्रियालगायत उपशीर्षकमा चर्चा गरिएको छ । 

मूत्र जननेन्द्रिय प्रणालीको क्यान्सरअन्तरगत मूत्राशयको क्यान्सर, प्रोस्टेट क्यान्सरबारे विस्तृत जानकारी, लक्षण र उपचार, मिर्गौला, लिङ्ग र शुक्रगन्थिका क्यान्सरबारे जानकारी यसअन्तर्गत दिइएको छ । खाण्ड ७ मा पुरुष यौनदुर्बलताका बारेमा चर्चा गरिएको छ । यस रोगका विविध पक्ष, कारण र निवारणबारे विस्तृत जानकारी यसमा छ । 

स्त्री यौनिक गतिविधि र समस्या शीर्षकमा महिला र पिसाब सङ्क्रमण, पिसाब रोक्न नसक्ने स्थिति, चुहिने समस्या, सङ्क्रमण र निदानको उपायबारे जानकारी दिइएको छ ।  खण्ड नौ विविध शीर्षमा रात्रिकालीन मूत्र त्याग, वृद्ध अवस्था, शल्यक्रिया र परामर्श, पुरुष र रजोनिवृत्ति, शारीरिक अवस्था र पानी, मूत्ररोगमा पोषणको भूमिक, युरिक एसिड र स्वास्थ्य, बाथ रोग उपचार आदिबारे जानकारी दिइएको छ । 

अतः यस कृतिमा डा. भट्टको यस कृतिले यी विविध रोगका बारेमा नेपाली भाषामा रोगको परिचय, लक्षण, उपचारविधि, शल्यक्रिया प्रक्रिया तथा औषधि सेवनमा अपनाउनु पर्ने सजगताबारे राम्रोसँग प्रस्तुत गरेका छन् । विज्ञानका आधुनिक उपचार पद्धतिका बारेमा सरल, सुबोध्य ढङ्गले नेपाली भाषामा लेखिएको यो पुस्तक रोगबाट पीडितलाई मात्र नभई रोगबाट जोगिन आम जनमानसलाई उपयोगी हुने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप