आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षा क्षेत्र

‘विद्यार्थीको ज्यान नेपालको कलेजतिर : ध्यान भने अमेरिका, अष्ट्रेलियातिर’

बुधबार, ०३ फागुन २०७९, ०६ : ५१
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । चाबहिल, मित्रपार्कस्थित कैलाशकुट बहुमुखी क्याम्पसले एक वर्षको अवधिमा आफ्ना १२२ जना विद्यार्थीलाई विदेश अध्ययनका लागि अनुमतिपत्र दिएको छ । 
उक्त क्याम्पसमा अध्ययनरत ५ सय जना विद्यार्थीमध्ये १२२ जनाले विदेश अध्ययनका लागि अनुमति लिएका हुन् । विदेश अध्ययन गर्न जाने विद्यार्थीले सम्बन्धित कलेजका ३ जना शिक्षकबाट सिफारिस बनाउनुपर्छ । आफ्नो कलेजमा पढेको विद्यार्थी भन्ने आशयको उक्त सिफारिस पत्रको आधारमा विद्यार्थीलाई भिसा पाउन सहज हुन्छ । 


कलेजका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार अधिकांश विद्यार्थीको ध्यान विदेश हुने गरेको छ । ‘प्रायः विद्यार्थीको सोच नेपालमै पढ्नुपर्छ र यही केही गर्नुपर्छ भन्ने हुँदैन । सबैको विदेश गएर पढ्ने र उतै सेटल हुने भन्ने खालको हुन्छ,’ उनले भने । 

साहिल खत्री (नाम परिवर्तन) ले भर्खरै यूकेको लागि भिसा पाए । यूकेको युनिभर्सिटी कलेज बर्मिङ्घममा उनले ब्याचलर अफ कुलिनरी विथ प्लेसमेन्ट पढ्न जान लागेका हुन् । 
काठमाडौंकै एक नाम चलेको कलेजबाट प्लस टु पास गरेका उनले त्यही बेलादेखि नै विदेश जाने सोच बनाएका थिए । ‘नेपालमा पढेर के गर्ने ?’ जिज्ञाशा राख्नुपूर्व नै उल्टै उनले प्रश्न गरे । 

‘मेरा दुई दाईले यही पढे । लाखौं पैसा खर्र्चेर स्नातकोत्तर तहसम्मको पढाई सकेर पनि अहिले बेरोजगार भएर बसेका छन् । अनि मैले प्लस टु पढेर थप पढ्न विदेश जान्छु भन्ने सोच बनाएको थिए । लक्कीली भिसा पनि लाग्यो ।’ उनले प्रफुल्लित मुद्रामा भने । 

विदेश गएर पढाईसँगै कमाउन पनि सकिने, आफ्नो भविश्य पनि सुरक्षित हुने उनको बुझाई छ । उनीसँगै पढेका अन्य साथीहरू पनि कोही अष्ट्रेलिया, कोही फ्रान्स पुगिसकेका छन् । 

प्रविन राई मास्टर अफ कम्प्युटर पढ्न अष्ट्रेलिया जान लागेका छन् । नयाँ बानेश्वरस्थित मेन्टर इन्स्ट्यिुटबाट आईएलटीएस पढेका उनी अबको केही महिनामै अष्ट्रेलिया पुग्नेछन् । 

पछिल्लो साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले एनओसी लिएका छन् । त्यसमा सबैभन्दा बढी अस्ट्रेलियाका लागि कुल १५ हजार १०३ जनाले एनओसी लिएका छन् । 

उनलाई नेपालको अस्थिर राजनीतिक अवस्था देख्दा दिक्क लाग्छ । यसले पनि उनलाई नेपालमा बस्न मन नलागेको हो । ‘देशमा भ्रष्टाचार व्याप्त छ । सबै लुट्न मात्रै उद्धत छन् । हामीले रातदिन नभनेर मिहेनत गरेर कमाई गर्दा पनि महिना भरलाई पुग्दैन । हामी जस्ता युवाका लागि केही गर्न सकिने अवस्था छैन ।’ उनले भने । 

शैक्षिक परामर्श गर्ने भनेर कन्सल्टेन्सीहरूमा आईएलटीएस, पीटीई, टोफेल जस्ता अंग्रेजी टेष्ट गर्नेहरूको भीड लाग्ने गरेको छ । पुतलीसडकस्थित ग्रेस इन्टरनेशलमा दैनिक डेढ देखि २ सय जनाले आईएलटीएस, पीटीई सिक्छन् । नयाँ भर्ना हुन आउनेको चाप उस्तै छ ।

ग्रेस इन्टरनेसनलका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले धेरै विद्यार्थीहरूको चाहना विदेश पढ्न जाने भन्ने नै रहेको बताए । उनका अनुसार नेपालबाट अध्ययनका लागि सबैभन्दा बढी अष्ट्रेलिया जाने गरेका छन् । 

कैलाशकुट क्याम्पसका प्रमुख नारायणप्रसाद पौडेलले नेपालमा रोजगारीको अवसर नहुनु, विद्यार्थीहरूले आफ्नो भविष्य सुरक्षित नदेख्नु जस्ता कारणले विदेश पलायन हुने दर बढिरहेको बताउँछन् । कतिपय विद्यार्थीहरू त आफूभन्दा सिनियरको देखासिकीमा लागेर पनि विदेश मोहमा लागेको उनको बुझाई छ । 

‘आफ्नो छिमेकी दाई अमेरिका, अष्ट्रेलियामा पढिरहेको छ । महिनाकै लाखौं कमाइरहेको छ । अनि उसको मनमा कसरी नेपाल बसेर पढौं भन्ने आउँछ ? उसलाई पनि नेपाल पढ्न त के बस्नै मन लाग्दैन ।’ उनले भने । 

कलेजमा सिफारिस लिन आउने विद्यार्थीहरू नेपाल राम्रो वातावरण नरहेको बताउने गरेको उनको भनाई छ । यस्तै अवस्था रहेमा निकट भविष्यमा प्लस टुपछि कलेजहरूले विद्यार्थी नै नपाउने समस्या हुन सक्ने उनको भनाई छ । 

‘विगतको तुलनामा अहिले क्याम्पसहरूमा विद्यार्थी आधा कम भइसकेका छन् । यसप्रति राज्य गम्भीर हुन सकेन भने अबको केही वर्षमा त विद्यार्थी नपाएर क्याम्पस बन्द गराउनुपर्ने अवस्था आउन सक्छ ।’ पौडेलले भने । 

वैदेशिक अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिनेको संख्या अत्यधिक बढ्न थालेपछि सरकारले यसलाई व्यवस्थित गर्न खोजेको हो । कुन देशमा, कुन विषयका लागि विद्यार्थीलाई एनओसी दिने, नदिने लगायतका विषयमा छलफल थालिएको हो । 

पछिल्लो साउनदेखि पुस मसान्तसम्ममा ४५ हजार ९१२ जनाले एनओसी लिएका छन् । त्यसमा सबैभन्दा बढी अस्ट्रेलियाका लागि कुल १५ हजार १०३ जनाले एनओसी लिएका छन् । 

त्यस्तै, क्यानाडाका लागि कुल ८ हजार १३५, जापानका लागि ६ हजार ६२५, बेलायतका लागि ५ हजार ५३३ र अमेरिकाका लागि एक हजार ८६० ले एनओसी लिएका छन् ।
 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप