आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

थाहै नपाई बच्चालाई लाग्न सक्छ मुटु रोग

जन्मिने एक हजार शिशुमध्ये दश जनामा मुटुसम्बन्धी समस्या
बुधबार, ०३ फागुन २०७९, ११ : १३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । मुटु रोग मद्यपान, धूम्रपान गरिरहेका, अस्वस्थ जीवनशैली जिउने र त्यसमा पनि ४० वर्ष काटेपछि मात्र लाग्न सक्छ भन्ने भ्रम धेरैलाई छ । यद्यपि विशेषज्ञहरूका अनुसार मुटुरोग जन्मजातै पनि लाग्ने गर्छ । सहिद गंगालाल हृदयरोग केन्द्रले गरेको एक अध्ययनले पनि जन्मिने एक हजार शिशुमा दश जनामा मुटुुसम्बन्ध समस्या रहेको देखाएको छ ।

हृदयरोग केन्द्रले गत पुसदेखि माघ महिना अर्थात् १३ महिनामा १३ हजार बालबालिकाको अध्ययन गर्दा १ सय ४६ जना बालबालिकामा मुटुसम्बन्धी समस्या देखिएको केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । ती पाँचदेखि पन्ध्र वर्षसम्मका १३ हजार बालबालिकालाई मुटु परीक्षण गर्दा ९ जनामा भने मुटु वाथज्वरो देखिएको थियो ।

निर्देशक अधिकारीका अनुसार काठमाडौँ उपत्यकाभित्र गरिएको सो अध्ययनले मुटुसम्बन्धी समस्या देखिएका बालबालिकामा मुटुमा समस्या भएको अभिभावकलाई समेत थाहा थिएन । बच्चामा पनि बाथ ज्वरो तथा मुटुको रोग हुन सक्ने भएकाले परीक्षण गर्न आवश्यक रहेको डा.अधिकारी बताउँछन् । 

बच्चाहरूमा लक्षण नहुँदा पनि मुटुसम्बन्धी समस्या हुने भएकाले अब परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्छ भन्ने इङ्गित यस अध्ययनले गराएको उनले बताए । 

बाल मुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्यका अनुसार बच्चामा जन्मजात र जन्मिसकेपछि पनि मुटु रोग लाग्ने गर्छ ।  मुटुको भित्र वा बाहिर मुख्य मुख्य धमनीको बीचमा यसको भित्री बनावटमा विकृति आएमा बच्चालाई जन्मजात मुटु रोग लाग्ने डा. शाक्यको भनाइ छ । 

आमाको गर्भमा हुर्किदै गर्दा भ्रूणावस्थामौ मुटुमा समस्या देखिन्छ । तर, जन्मिसकेपछि लामो समयदेखि मात्रै मुटुमा समस्या भएको थाहा हुने गरेको उनले बताइन् । जन्मजात यो रोग लागेको बच्चामा मुटुमा विभिन्न किसिमका समस्या देखिन सक्छ । जस्तै, मुटुको कुनै पनि ठाउँमा प्वाल पर्ने, धमनीको भल्वहरु खुम्चिने, भेन्ट्रिकल नै अविकसित हुन सक्ने भएकाले धेरै खालका  जन्मजात समस्या देखिने उनले बताइन् । 

डा. शाक्य भन्छिन्, ‘जन्मजात मुटुसम्बन्धी समस्या देखिएमा बच्चामा एकै प्रकारको समस्या हुँदैन । कसैको मुटुमा सामान्य खालको, कसैमा गम्भीर खालको समस्या देखिन्छ । मुटुमा विभिन्न समस्याको मिश्रण भयो भने स्वास्थ्यमा जटिलता ल्याउन सक्छ ।’

झण्डै एक हजार जना बच्चा जन्मँदा दश जनामा जन्मजातै मुटु रोग लाग्छ । त्यसमध्ये तीन जनाको स्वास्थ्यमा एकदमै समस्या देखिन्छ । एक हप्ताभित्र उपचारको पहुँचमा नपुगेको खण्डमा शिशुको मृत्युसमेत हुन सक्ने डा. शाक्यले बताइन् । शिशुमा छाती, कलेजो, मिर्गौला लगायतका अंगहरुमा पनि जन्मजात समस्या देखिने समस्या देखिन सक्छ । तर त्यसमध्ये सबैभन्दा धेरै जन्मजात समस्या मुटुमा देखिने बाल मुटुरोग विशेषज्ञ डा. शाक्यले बताइन् । 

जन्मजात मुटु रोगको कारण

बालरोग विशेषज्ञ डा. अंशु शाक्यका अनुसार जन्मजात मुटु रोगको कारण यही हो भनेर भन्न सकिने अवस्था छैन । तर जन्मजात मुटु रोग वंशाणुगत, दूषित वातावरणीय प्रभावको कारणले पनि लाग्न सक्छ ।

गर्भावस्थामा सङ्क्रमण  

बच्चा गर्भमा बसेको पहिलो एक महिनामै बच्चाको मुटु बनिसकेको हुन्छ । पहिलो तीन महिनामा गर्भवती महिलालाई भाइरल सङ्क्रमणले आक्रमण गरेमा जन्मजात मुटु रोग लाग्न सक्ने सम्भावना हुने डा. शाक्य बताउँछिन् । जस्तै रुवेला, कक्ज्याकी भाइरस सङ्क्रमण भएमा जन्मिदा मुटु रोग लिएर आउने सम्भावना बढी हुने उनको भनाइ छ ।

यस्तै, गर्भवती महिला रिडिएसन् एक्सपोजोर अर्थात् विकिरण परेमा जन्मिने बच्चामा पनि जन्मजात मुटु रोग धेरै देखिने गरेको डा. शाक्यले बताइन् ।

दीर्घरोगी महिला जस्तै मधुमेह, उच्च रक्तचाप, हाइपोथारारिजम भएकाबाट जन्मिएका बच्चामा पनि जन्मजात मुटु रोग देखिन सक्ने उनले बताइन् । गर्भमा बच्चा हुँदा धूम्रपान, मद्यपान गरिएमा बच्चामा मुटु रोग हुने सम्भावना बढ्ने उनको भनाइ छ । 

त्यस्तै, गर्भावस्था अघि तौल धेरै वा तौल कम हुँदा, गर्भावस्थामा औषधीको सेवन गर्दा जन्मजात मुटु रोग लाग्ने सम्भावना बढ्छ र

वंशाणुगत कारण 

जुन बच्चाको आमा बुवा, दिदीबहिनी, दाजुभाइमा मुटु रोगको समस्या देखिएको छ, जन्मजात मुटु रोग देखिन सक्ने सम्भावना धेरै रहने उनले बताइन् । एक जना बच्चामा जन्मजात मुटुमा समस्या भएको पाइएमा दिदीबहिनी दाजुभाइलाई समेत मुटु परीक्षण गर्न उनको आग्रह छ ।

नजिकैको नातामा विवाह 

त्यस्तै, नजिकैको आफन्तमा विवाह गरेका दम्पत्तिबाट जन्मिएमा सन्तानमा जन्मजात मुटु रोग देखिने सम्भावना हुन्छ । 

जन्मजात मुटु रोगका लक्षण

बाल मुटुरोग विशेषज्ञ डा पुनम शर्माका अनुसार निम्न लक्षण देखिएमा बच्चामा जन्मजात मुटु रोग हो कि भनेर शंका गर्नुपर्छ ।

–मुटुको समस्या भएका बच्चाले आमाको दूध निरन्तर राम्रोसँग चुस्न सक्दैनन् । आमाको दूध चुस्दा श्वासप्रश्वासमा समस्या हुन्छ । त्यसपछि बीच बीचमा रोकिदै दूध चुस्छन् ।

–दूध राम्रोसँग तान्न नसकेर रोइरहने गर्छन् । राम्रोसँग दूध चुस्न सक्दैनन् ।

–दूध खुवाउने बेलामा टाउकोमा धेरै पसिना देखिने हुन सक्छ ।

–बच्चाको उमेरअनुसार तौल बढेन भने पनि शंका गर्नुपर्छ ।

–सामान्यता जाडो भयो भने बच्चाको हातखुट्टा नीलो हुन्छ । तर, जन्मजात मुुटु रोग लागेमा रुँदा ओठ, जिव्रो र नङ पनि नीलो भएमा शंका गर्नुपर्छ ।

–बच्चा हिँड्ने क्रममा गाह्रो भएर बच्चा थचक्क बसिरहने बानी छ भने पनि शंका गर्नुपर्छ । 

–मुटुमा समस्या भएका बच्चा राम्रोसँग खेल्न सक्दैनन् । त्यसैले, आफ्ना बच्चा उही उमेर समूहका साथी सरह खेल्छ कि खेल्दैन भनेर  चासो राख्नुपर्छ ।

–बच्चालाई चाँडो चाँडो निमोनिया भएर श्वासप्रश्वासमै  समस्या भएमा पनि शंका गर्नुपर्छ । जन्मेदेखि ६–८ महिनाको समायवधिमा निमोनिया हुँदा वाफ लगाउनु पर्ने, एन्टिवाइटिक औषधि खाइरहनुपर्ने भएमा पनि शंका गर्नुपर्छ ।

यस्ता खालको लक्षण देखिएमा इसीजी र एक्सरे को माध्यमबाट मुटुमा समस्या भए नभएको थाहा पाउन सकिने उनले बताइन् । इसीजी गरेको खण्डमा ९० प्रतिशत मुटुमा हुने समस्याका बारेमा थाहा पाउन सकिने डा शर्मा बताउँछिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप