आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर धितो कर्जालाई बैंकहरुले पुनरसंरचना गर्न नपाउने

बुधबार, ०३ फागुन २०७९, १४ : २४
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । सेयर धितो कर्जा सम्बन्धमा नेपाल राष्ट्र बैंक थप अनुदार भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, कर्जा प्रवाह तथा व्यवस्थापनका लागि एकीकृत निर्देशन, २०७९ जारी गर्दै मार्जिन लेन्डिङ प्रकृतिका कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न रोक लगाएको हो । 

कर्जा प्रवाह, वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था गर्दै केन्द्रीय बैंकले निर्देशनको अनुच्छेद ९ को छ मा ‘सेयरको धितोमा प्रदान गरेको कर्जालाई पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाइने छैन’ भनिएको छ । 

तर, अन्य व्यसायिक तथा औद्योगिक कर्जामा भने प्रकृति हेरी व्यवसाय तथा परियोजनाको प्रकृति अनुसार प्रोजेक्ट रिपोर्ट हेरी ग्रेस अवधि थप्न सकिने र त्यस्तो कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरणमा गणना गरिने जनाएको छ । 

अघिल्लो हप्ता मात्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको राष्ट्र बैंकले बैंक ब्याजदर करिडोरलाई यथावत राख्दै मार्जिन लेन्डिङको १२ करोडको सीमा समेत यथावत राखेको थियो । जसले गर्दा धितोपत्र लगानीकर्ताहरु सेयर बजारप्रति राष्ट्र बैंक अनुदार भएको भन्दै विरोध जनाइरहेका छन् । 

चालु आर्थिक वर्षको पहिलो समीक्षामार्फत मार्जिन लेन्डिङको ४–१२ को तल्लो सीमा खारेज गरेको राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामार्फत माथिल्लो सीमा १२ करोडको क्यापसमेत हटाउनेमा लगानीकर्ताहरु आशावादी थिए । तर, बैंकले मार्जिन लेन्डिङको १२ करोडको सीमा यथावत राख्दै थप यस्तो प्रकृतिको कर्जाको पुनरसंरचना वा पुनरतालिका समेत नहुने व्यवस्था गरिदिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप