आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीमा रकम प्राप्त गर्न आवश्यक प्रक्रिया पुरा गरेर निवेदन दिन बोर्डको आग्रह

बुधबार, ०३ फागुन २०७९, १४ : ३१
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । आर्थिक सहायताका लागि निवेदन दिने सेवाग्राहरूलाई सजग रहन वैदेशिक रोजगार बोर्डले आग्रह गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु, अङ्ग/भङ्ग वा बिरामी भएमा कानुन बमोजिम वैदेशिक रोजगार बोर्ड सचिवालय र वैदेशिक रोजगार ९म्यादी० जीवन बीमाबाट आर्थिक सहायता प्राप्त गर्ने व्यवस्था रहेको छ । 

उक्त सहायता प्रदान गर्ने क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया पुरा गरेर मात्र निवेदन दिन बोर्डले सेवाग्राहीहरूलाई आग्रह गरेको हो । 

वैदेशिक रोजगार बोर्ड सचिवालयले तोकेको ढाँचामा आवश्यक कागजपत्रहरु संलग्न गरी स्थानीय तह मार्फत पनि निवेदन दिन आग्रह गरेको छ । 

त्यसका लागि भौतिक रूपमा बोर्ड सचिवालय आउनु नपर्ने बोर्डले जनाएको छ । यसरी बोर्ड सचिवालयबाट उपलब्ध गराइने कल्याणकारी सेवाका लागि कुनै समस्या एवं द्विविधा भएमा बोर्ड सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

कल्याणकारी तथा बीमा सुविधा प्राप्त गर्ने सेवा सहजीकरण गर्ने बहानामा मृतकको घरमा वा अङ्गभङ्ग भएका व्यक्तिका आफन्तसम्म बिचौलिया पुगी, प्रभावमा पारी विभिन्न रकमको माग गर्ने गरेको सुन्नमा आएको बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्ग/भङ्ग वा उपचारको लागि प्राप्त हुने आर्थिक सहायता तथा बीमा रकम प्राप्त गर्नको लागि कुनै असम्बन्धित व्यक्ति र बिचौलियाको भर/विश्वासमा नपर्न आग्रह गरेको छ ।

उनीहरूलाई कुनै रकम नदिन तथा आफ्नो बैंकसँग सम्बन्धित कागजात (चेक, एटीएम कार्ड) लगायतका आफ्ना महत्वपूर्ण कागजातहरु सुरक्षित राख्न समेत बोर्डले सबैमा अनुरोध गरेको छ । 

यदि कसैले कुनै पनि बहानामा दुःख दिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा गई उजुरी गर्न वा आफू नजिकको आप्रवासी स्रोत केन्द्रमा सहयोगको लागि सम्पर्क गर्न समेत सबैमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप